चरम गुटबन्दीले हार्‍यो एमाले

चरम गुटबन्दीले हार्‍यो एमाले

काठमाडौं : सांगठनिक र नेतृत्वको दृष्टिकोणले २ नम्बर प्रदेशमा स्थानीय तह निर्वाचनमा एमालेले सबैभन्दा आशा गरेको जिल्ला हो, रौतहट ।वरिष्ठ नेता माधवकुमार नेपालको गृहजिल्ला मात्र नभई ०७० को संविधानसभा निर्वाचनमा दुई क्षेत्रमा विजयी एमालेले पछिल्लोपटक सांगठनिक रूपमा समेत रौतहटलाई ‘मजबुत’ बनाउँदै आएको थियो । तर, त्यही रौतहटमा १७ स्थानीय तहको परिणाममा एमाले पत्तासाफ भएको छ ।

आन्तरिक गुटबन्दीले चुनावमा हार व्यहोर्नुपरेको भन्दै वरिष्ठ नेता नेपाल र पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षधर नेता आरोप-प्रत्यारोपमा उत्रेका छन् । ‘वरिष्ठ नेता नेपाललाई रौतहट जिल्लाको नेतृत्वबाट वञ्चित गर्ने षड्यन्त्र हो’, नेपाल पक्षधर रौतहट ६ बाट निर्वाचित सांसद रामकुमार भट्टराईले अन्नपूर्णसँग भने, ‘आन्तरिक गुटबन्दी हारको मुख्य कारण हो ।’

 

रौतहटमा वरिष्ठ नेता नेपालसहित जिल्लावासी केन्द्रीय सदस्य डा.वंशीधर मिश्र, सरला यादव, कल्याणी खड्का, लालबाबु यादव, रामकुमार भट्टराई र जिल्ला अध्यक्ष कमल राय यादवलगायत खटेका थिए । वरिष्ठ नेताको जिल्ला भए पनि अध्यक्ष ओलीले टिकट वितरणमा हस्तक्षेप गरेका कारण परिणाम बिग्रेको नेपाल पक्षधर नेताको दाबी छ । ‘माधव नेपालको गृह जिल्लामा तपार्इं आफैं मिलाउनुहोस् भनेर अध्यक्षले छाती फराकिलो बनाएको भए पनि परिणाम अर्कै आउँथ्यो’, नेपालनिकट एक केन्द्रीय सदस्यले भने । एमालेको गढ मानिने चन्द्रनिगाहपुरमै एमालेले ‘अप्रत्याशित’ हार व्यहोरेको छ ।

उम्मेदवारी मनोनयनको अघिल्लो दिन एमाले केन्द्रीय कार्यालयले गरेको पत्रकार सम्मेलनमा चन्द्रपुर नगरपालिकाको मेयरमा बाबुराम दाहाल उम्मेदवार भनेर सार्वजनिक गरियो । तर, दाहाल उम्मेदवारी दर्ता गराउन जाने बेला एमालेकै उद्धव रेग्मीले उम्मेदवारी दर्ता गराइसकेका थिए । दुवैको उम्मेदवारीमा एमालेका २ नम्बर प्रदेश संयोजक सत्यनारायण मण्डलकै हस्ताक्षर थियो ।

पार्टीले निर्णय गरेका उम्मेदवार दाहाललाई मण्डलले आधिकारिक होइन भनेपछि रेग्मी आधिकारिक उम्मेदवार बनेका थिए । दाहाल वरिष्ठ नेता नेपाल पक्षधर हुन् भने रेग्मीलाई अध्यक्ष ओलीको दबाबमा अन्तिम समयमा उम्मेदवार बनाइएको नेताहरूको दाबी छ ।

‘हामीले आन्तरिक व्यवस्थापन गर्न नसक्दा अन्तर्घात भयो,’ केन्द्रीय सदस्य डा. मि श्रले भने । एमाले २ नम्बर प्रदेश संयोजक मण्डलले भने चन्द्रनिगाहपुरमा उम्मेदवार विवाद भए पनि रौतहटका अन्य तहमा जिल्ला कमिटीले ल्याएको प्रस्तावअनुसार नै उम्मेदवारी दिएको दाबी गर्छन् । ‘वडाको उम्मेदवारी जिल्ला कमिटीले दिने भनेपछि साथीहरू आ-आफ्ना मान्छेलाई सेटिङ गर्न लागेपछि पनि परिणाम राम्रो नआउनुको कारण हो,’ संयोजक मण्डलले भने ।

एमाले अर्का नेता रघुवीर महासेठ भने चन्द्रनिगाहपुरको उम्मेदवार चयनमा संस्थापन पक्षले कुनै गल्ती नगरेको दाबी गर्छन् । ‘संस्थापन पक्षले आफूअनुकूल नभई चुनाव जित्न सक्ने आकलनका आधारमा उम्मेदवार छनोट गरेको हो’, महासेठले भने ।

एमाले उम्मेदवार हराउन कांग्रेसमार्फत घुसपैठ भएको महासेठको आरोप छ । ‘जिल्ला कमिटीले पार्टीको आधिकारिक उम्मेदवारबारे जानकारीसम्म पाएन’, सांसद भट्टराईले भने, ‘विवादकै कारण पार्टीका सबै साथीलाई रोक्नै सकेनांै । त्यसको परिणाम नराम्रो आयो ।’

पार्टीले रेग्मीलाई आधिकारिक उम्मेदवार बनाए पनि गुटबन्दीको छाया चुनाव प्रचारक्रममा पनि प्रस्ट देखिएको थियो । चन्द्रनिगाहपुरमा घरदैलो र वडास्तरीय कार्यक्रममा सहभागी भएका वरिष्ठ नेता नेपाललाई अन्तिम चुनावी सभामा आमन्त्रणसमेत गरिएन ।

पार्टी अध्यक्ष ओली आफैं पुगेर चन्द्रनिगाहपुरको सभालाई सम्बोधन गरे । रौतहटको फतुवा विजयपुर नगरपालिकाको उम्मेदवार चयनमा पनि गुटबन्दीको विवादले प्रभाव परेको थियो । जित्ने उम्मेदवार भुवन रेग्मी भए पनि अध्यक्ष ओलीको दबाबमा बुधाई खाँलाई उम्मेदवार बनाइएको नेपाल पक्षधर नेताको आरोप छ ।

२ नम्बर प्रदेशका अन्य जिल्लामा पनि एमालेलाई हराउन अरू सबै दल एक भएका कारण परिणाम सोचेजस्तो नआएको नेता बताउँछन् । संविधान निर्माण र संविधान संशोधनबारे एमालेविरुद्ध फैलाइएको भ्रम चिर्न नसक्नु पनि हारको कारण भएको डा. मिश्रको तर्क छ ।
‘मेची-महाकाली अभियानका क्रममा हामीमाथि आक्रमण भयो । त्यसपछि पनि हामीले जनस्तरसम्म हाम्रो भनाइ राख्ने मौका पाएनौं,’ मि श्रले भने । मधेसमा एमालेलाई हराउन सत्ता र शक्तिको व्यापक दुरुपयोग भएको नेता बताउँछन् ।‘पैसाको खोलो बगाइयो, मतदाताभन्दा बढी बाकसमा मतपत्र भेटिए, कर्मचारी र प्रहरी हेरफेरदेखि सबैखाले शक्तिको दुरुपयोग भयो’, सांसद भट्टराईले भने।

यता, ओली पक्षधर एक केन्द्रीय सदस्यले भने सांसद भट्टराईलगायत नेता नै एमाले उम्मेदवारलाई हराउन सक्रिय बनेको आरोप लगाए । चन्द्रनिगाहपुरमा उपमेयर रामरती चौधरी कांग्रेस उम्मेदवारलाई भारी मतान्तरले पराजित गरेर विजयी भइन् भने मेयर उम्मेदवार रेग्मी पराजित भए ।
संविधानसभा निर्वाचनमा रौतहट १ र काठमाडौं २ बाट निर्वाचित वरिष्ठ नेता नेपाललाई रौतहट छाड्न दबाब दिइए पनि उनले काठमाडौं छाडेर रौतहट रोजेका थिए ।

प्रतिनिधिसभाको निर्वाचनमा पनि रौतहटबाट चुनाव लड्ने मनस्थिति बनाएका नेपाल चुनावी परिणामपछि भने झस्केको उनीनिकट नेता बताउँछन् । ‘प्रधानमन्त्री भइसकेको, देशको अभिभावक माधव नेपालका लागि रौतहट मात्र होइन, जुनसुकै जिल्लाको जुन क्षेत्रबाट उठ्न खोजे पनि कसले नाइँ भन्न सक्ला र !’ २ नम्बर संयोजक मण्डलले भने, ‘केही कार्यकर्ता नेतालाई विवादमा तान्ने र आफू नेतानिकट हुने षड्यन्त्रमा लागिरहन्छन् । पार्टीका लागि यो राम्रो होइन ।’

पहिलो र दोस्रो चरणको निर्वाचनबाट पहिलो पार्टी बनेको एमाले २ नम्बरको चुनावी परिणामबाट भने सन्तुष्ट छैन । २ नम्बर प्रदेशका बारा, महोत्तरी र सप्तरीमा ‘सन्तोषजनक’ परिणाम आए पनि बाँकी ५ जिल्लामा एमालेको नतिजा बिगे्रको छ ।

‘एमालेविरुद्ध स्थानीय तहमा विभिन्न दलले गरेको मोर्चाबन्दी, अफवाह फैलाउने भिडियो र प्रचार सामग्रीमार्फत गरिएको गलत प्रचार र पैसाको प्रयोगले चुनावमा हामीले सोचेजस्तो परिणाम ल्याउन सकेनौं’, नेता महासेठले भने, ‘पार्टीको आन्तरिक विवादलाई पनि समाधान गर्न नसक्नु अर्को कमजोरी भयो ।’

एमालेलाई हराउन २ नम्बर प्रदेशमा भारतीय रुपैयाँको खोलो नै बगेको महासेठको भनाइ छ । संयोजक मण्डल पनि २ नम्बर प्रदेशमा भारत सरकारले प्रतिबन्ध लगाइसकेका ५ सय र १ हजार रुपैयाँका भारतीय नोटको व्यापक प्रयोग भएको दाबी गर्छन् । ‘चुनावमा बाँडिएका भारतीय नोटलाई असोज २ गतेपछि मात्र बजारमा लैजानु भनिएको रहेछ,’ मण्डलले भने, ‘अहिले मधेसका ८ जिल्लामा भारतीय नोट छ्याप्छ्याप्ती छन् ।’

केन्द्र र प्रदेशमा सरकार गठन गर्ने रणनीति

यसैबीच, शुक्रबारदेखि सुरु भएको केन्द्रीय समितिको बैठकमा पार्टी अध्यक्ष केपी ओलीले २३ पेज लामो समसामयिक राजनीति र चुनावी रणनीति समेटिएको प्रतिवेदन पेस गरेका छन् ।
अध्यक्ष ओलीले पेस गरेको प्रतिवेदनमा आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको रणनीति, उम्मेदवार छनोटको मापदण्ड र प्रदेश नं. २ मा एमालेले प्राप्त गरेको अनपेक्षित परिणामको समीक्षा गरिएको छ । प्रतिवेदनमा ७ वटै प्रदेश सरकार एमालेले बहुमतका आधारमा निर्माण गर्नुपर्ने पार्टी र राष्ट्रिय हितका लागि पनि आवश्यक रहेको औंल्याइएको छ ।

पहिलो र दोस्रो तहको स्थानीय तहको निर्वाचनमा २७६ स्थानमा जितेर पहिलो पार्टी बनेको एमाले प्रदेश नं. २ मा पछिल्लो मतपरिणामअनुसार आठ स्थान जितेर पाँचौं स्थानमा खुम्चिएको छ । प्रदेश २ मा एमालेको अनपेक्षित परिणामबारे पनि ओलीले प्रस्तुत गरेको प्रतिवेदनमा गहन समीक्षा गरिएको छ । प्रतिवेदनमा भनिएको छ, ‘एमालेविरुद्ध सबै दलको घेराबन्दी र सरकारले स्रोत साधनको दुरुपयोग गरेको तथा आचारसंहिताको व्यापक उल्लंघन गरिए पनि प्राप्त मत प्रतिशत उत्साहजनक छ । मधेसका जनता एमालेको पक्षमै छन् । त्यो उत्साह र साथले एमाले सफल भएको छ ।’
आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पनि प्रदेश नं. २ मा एमालेले बहुमत ल्याउन सिंगो शक्ति लगाउने रणनीति अख्तियार गरिने प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनमा अहिले सत्ता समीकरण राष्ट्रिय स्वार्थभन्दा अन्तर्राष्ट्रिय स्वार्थका लागि बनेको निष्कर्ष निकाल्दै पुससम्म वर्तमान सरकार भंग गराई एमाले नेतृत्वको सरकार गठन गर्नका लागि लाग्न पार्टीको सिंगो कमिटीलाई आह्वान गरिएको छ । कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठका अनुसार ओलीको प्रतिवेदनमाथि सुझावसहित प्रतिवेदन पेस गर्न आठवटा समूह निर्माण गरी जिम्मेवारीसमेत तोकिएको छ ।

प्रदेश नं. १ मा भीम आचार्य, प्रदेश नं. २ मा सत्यनारायण मण्डल, प्रदेश नं. ३ मा अष्टलक्ष्मी शाक्य, प्रदेश नं. ४ मा किरण गुरुङ, प्रदेश नं. ५ मा विष्णु पौड्याल, प्रदेश ६ मा युवराज ज्ञवाली र प्रदेश नं. ७ मा भीम रावललाई जिम्मा दिइएको हो । त्यस्तै, पार्टीको मोर्चाको तर्फबाट गोकर्ण विष्टलाई प्रतिवेदनउपर सुझाव पेस गर्न जिम्मेवारी तोकिएको छ ।

आठ वटै समूहले सुझावसहित शनिबार बस्ने बैठकमा प्रतिवेदन पेस गर्ने र त्यसपछि अध्यक्ष ओलीले सो प्रतिवेदनमाथि जवाफ दिने कार्यक्रम छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.