मुस्लिमसँग प्रेम गरेकी युवतीलार्इ सामूहिक बहिष्कार
सिरहा : चारैतिर दशैंको खुसियाली छाएको बेला सिरहा धनगढीमाई नपा २ की एक युवती मुस्लिम युवकसँग प्रेम गरेकै कारण सामाजिक बहिष्कारमा परेकी छिन् । धनगढीमाई नपा २ भवानीपुरकी २० बर्षीया युवती रमिता सदाय सामूहिक बहिष्कारको शिकार बनेकी हुन् ।
रमितालाई एक हप्तादेखि सार्वजनिक ट्यूवेलको पानी समेत खान दिइएको छैन । । घरबाट बाहिर निस्कन समेत प्रतिबन्ध लगाएइको छ । सडकमा निस्कदा पनि स्थानीयले गाली गलौज गर्ने गरेको रमिता बताउँछिन् । उनी एक हप्तादेखि घरबाट बाहिर निस्कन सकेकी छैनन् । घरबाट आफूलाई बाहिर निस्कन समेत नदिएपछि दाइले एक किलोमिटरको दूरीमा पर्ने थारु टोलबाट ल्याइदिएको पानी पिउने गरेको उनले बताइन् ।
रमिताको घरमा गाउँका कोही पनि जाँदैनन् । उनको घरमा कोही पुग्यो भने त्यसलाई पनि सामूहिक बहिष्कार गरिने भन्दै स्थानीय अगुवाले उर्दी नै जारी गरेका छन् । स्थानीय जानकी सदाय भन्छिन्, ‘मुस्लिम केटासँग प्रेम गरेकाले यहाँका अगुवाले सामूहिक बहिष्कार गरेका छन् । हामी पनि आफ्नो ट्यूवेलको पानी खान दिदैनौं । खान दिए मलाई पनि कारवाही गर्छन् ।’
भवानीपुरमा ४० सदाय मुसहर परिवार छन् । तर रमिताको पक्षमा बोल्ने कोही छैन् । हरुवा चरुवाहरुको जिल्ला सचिव बताउने श्यामसुन्दर सदाय र स्थानीय महिला पलास सदायको अगुवाइमा स्थानीयले रमितालाई सामूहिक बहिष्कार गरेका छन् । श्यामसुन्दरले प्रधानमन्त्री आएपनि रमितालाई दिएको सामूहिक बहिष्कार सजायँको निर्णय फिर्ता नहुने बताउँछन् ।
बुधबार सिरहा जिल्ला भरका अधिकारर्मीहरु भवानीपुर गएर स्थानीयसँग छलफल गरे । तर रमितालाई समाजले स्वीकार नगर्नुका साथैसार्वजनिक ट्यूवेल समेत पानी खान नदिने र सडकमा हिड्न नदिने अडानबाट पछि हटेनन् । गाउँलेले रमितालाई कारबाही नगरिए यहाँका समाज विग्रिने गाउँलेहरु बताउँछन् ।
रमिताको विवाह डेढ बर्ष अगाडी मिर्चैया बजारमा भएको थियो । तर उनका प्रेमी स्थानीय मुस्लिम युवकले उनलाई भगाएर एक महिनासँगै राखे । पछि ती केटा पनि बिहे नगरी फरार भएपछि रमिता अहिले न उता न यताकी भएकी छन् ।
मुस्लिम केटासँग एक महिना बस्दा उनी गर्भवती भएकी थिइन् । अहिले रमिताको पेटमा ८ महिनाको बच्चा छ । तर यस्तो अवस्थामा रमितालाई सामूहिक बहिष्कार गरेपछि उनी तनाबमा छिन् ।
रमितामाथि लगाएको प्रतिवन्धबाट समाजपछि नहटेपछि अधिकारकर्मीले प्रशासनलाई गुहारेका छन् । बुधबार साँझ इलाका प्रहरी कार्यालय लहानका डिएसपी नरेश सुवेदीलाई भेटेर रमितामाथि प्रतिबन्ध लगाउनेलाई कानून बमोजिम कारवाही गर्न माग गरे । अधिकारकर्मी रेणु यादव भन्छिन्– रमितालाई सामूहिक बहिष्कारको निर्णय गर्ने त्यहाँका पसलास सदाय र श्यामसुन्दर सदायलाई कारवाही गर्न प्रशासनसँग माग गरेको छु ।’
यता, सिरहाका प्रहरी प्रमुख तथा एसपी शेखर कोइरालाले रमितालाई सामूहिक बहिष्कार गरेर कानूनलाई हातमा लिनेहरुलाई पक्राउ गर्न प्रहरी परिचालन गरिसकेको बताए । पक्राउ परेलगत्तै उनीहरुलाई कानून बमोजिम कारवाही प्रक्रिया अगाडी बढाउने एसपी कोइरालाले बताए ।