वाम एकीकरणको खबरले मोदी पनि खुसी भए होलान्..

वाम एकीकरणको खबरले मोदी पनि खुसी भए होलान्..

तीन दलबीचको एकता आफैंमा ऐतिहासिक हो। बृहत् वाम-लोकतान्त्रिक शक्तिबीच मोर्चा बनाउने यो निर्णय यसर्थ पनि ऐतिहासिक हो कि लामो समयदेखि जनताले प्रगतिशील शक्तिहरूको एउटा संयुक्त मोर्चा देख्न चाहेका थिए। यसले मुलुकलाई सही दिशामा अघि बढाउने विश्वास छ। ०६२-६३ को जनआन्दोलनको उपलब्धिको रक्षा गर्दै नेपाली समाजको आर्थिक-सामाजिक रूपान्तरणसहित समाजवादसम्म पुग्ने उद्देश्यमा सहमतिले सहयोग पुग्नेछ। त्यसैले त सबैलाई उत्साहित बनाएको छ। यो एकताले नेपालको स्वाधीनता र स्वतन्त्रता रक्षामा पनि बल पुर्‍याउनेछ, अनावश्यक वैदेशिक हस्तक्षेप रआन्तरिक राजनीतिक जीवनमा हुने बाहिरी चलखेल पनि रोक्नेछ।

एकता र सहकार्य प्रक्रिया सुरु भएसँगै जनता र पार्टी पंक्तिमा उत्साहको लहर ल्याएको छ। यसले धेरै सम्भावनाका ढोका पनि खोलेको छ। सहमति कार्यान्वयनमा चुनौती पनि उत्तिकै छ। एकताकै कारण तत्कालको लागि राजनीतिक अस्थिरताको अन्त्य हुनेछ। वामशक्तिले आगामी चुनावमा बहुमत प्राप्त गर्ने निश्चित भएकाले मुलुकले छिटै बलियो लोकतान्त्रिक सरकार पाउने पक्का भयो। कमजोर अवस्थामा रहेको राज्यलाई चुनाव परिणामले बलियो बनाउनेछ।

लामो समयदेखि बेग्लाबेग्लै दलमा क्रियाशील नेता-कार्यकर्ता एउटै पार्टीमा मिसिँदा केही समस्या अवश्य पनि देखिनेछन्। त्यसमाथि ठूला पदमा पुगेका यति धेरै नेताहरू छन्। विभाजित राजनीतिक मानसिकता भएको हाम्रोजस्तो समाजमा पाँच-पाँचवटा पूर्वप्रधानमन्त्री एउटै मोर्चामा बस्नु सामान्य होइन। त्यसैले सबैको व्यक्तित्वलाई व्यवस्थापन गरी सबैलाई सम्मानजनक स्थान दिने प्रयास अवश्य हुनेछ। समाजको तल्लो तहसम्म यति धेरै भ्रातृ र जनवर्गीय संगठन भएको पार्टी मर्ज गर्ने विषय आफैंमा उत्तिकै असहज हुनेछ।

यो त आन्तरिक चुनौती भयो। अब जित्न नसकिने एउटा बलियो शक्ति स्थापित भयो भनेर देशभित्र र बाहिरका शक्तिले यसलाई असफल बनाउने प्रयास गर्न सक्छन्। कसैका विरुद्ध पनि लक्षित छैन यो एकता प्रक्रिया। यो एकता कांग्रेस र हाम्रा कुनै पनि छिमेकी देशविरुद्ध लक्षित छैन। छिमेकीको चाहना पनि यही हो। नेपाल भ्रमणमा आएका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत ‘नेपाल असीमित सम्भावना भएको मुलुक हो र तपाईंहरू एकजुट भएर यो असीमित सम्भावनालाई अघि बढाउनुस्’ भनेका थिए। हामी अब तिनै असीमित सम्भावनालाई अघि बढाउने दिशामा अघि बढ्नेछौं। हाम्रो एकतातर्फको यात्राले मोदीजी पनि खुसी हुनुभयो होला। त्यस्तै उत्तरी छिमेकी चीनले पनि बारम्बार भन्दै आएको छ कि नेपालमा स्थिर सरकार बनोस्। बृहत् वाम एकीकरणको यो अभियानपछि चीन पनि खुसी भयो होला भन्ने आशा गर्न सकिन्छ। समग्रमा यो एकीकरण प्रक्रियाले दुवै देश खुसी भएको हुनुपर्छ किनकि नेपालको अस्थिरता दुवै देशको लागि हानिकारक छ।

माओवादी शान्ति प्रक्रियामार्फत संविधानसभामा आई संविधान निर्माण प्रक्रियामा सामेल भएपछि उसमा राजनीतिक र सैद्धान्तिक रूपान्तरण भयो। त्यसले पनि एमाले र माओवादीको दूरी घटाएको हो। ०६२-६३ को जनआन्दोलनपश्चात् दुवै दलको ठहर थियो- नेपालमा पुँजीवादी क्रान्ति सम्पन्न भएकाले अब समाजवादी दिशामा अघि बढ्नु छ। माओवादीको हेटौंडा अधिवेशन र एमालेको आठौं र नवौं महाधिवेशनले त्यो फैसला गर्‍यो। दुई पार्टीबीच अर्को समान धारणा थियो- एउटै कम्युनिस्ट पार्टीको निष्कर्ष। अब हामीले विगतका तीक्ततापूर्ण घटनाक्रमलाई बिर्संदै, तिनलाई शिक्षाका रूपमा ग्रहण गर्दै बृहत्तर एकताको लागि अघि बढ्नुपर्छ। विगतप्रति विलौना गरेर हुँदैन, अब हामी अघि बढ्यौं, इतिहासको माग हो यो। -योगेश भट्टराई, एमाले सचिव

वाम ध्रुवीकरणपछिका विमर्श : को के भन्छन् ?


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.