नवदुर्गा नाच हेर्ने राष्ट्र प्रमुखको धोको पुरा भएन

नवदुर्गा नाच हेर्ने राष्ट्र प्रमुखको धोको पुरा भएन

भक्तपुर: राष्ट्र प्रमुखसमक्ष नवदुर्गा गणनाच प्रदर्शन गर्ने देवगणहरुको धोको यसवर्ष पनि पूरा भएन। करिब आठ महिना भक्तपुरका २१ ठाउँ, मध्यपुर थिमि, काठमाडौंको पशुपति, साँखु, टोखालगायत सहर तथा काभ्रेको धुलिखेल, बनेपा, पनौती, खड्पु, नाला र साँगामा प्रदर्शन गरिने उक्त नाच एकपटक राष्ट्र प्रमुखसमक्ष पनि प्रदर्शन गर्न देवगणहरुले केही वर्षअघिदेखि प्रयास गर्दै आएका थिए। तर सुरक्षा प्रवन्धलाई लिएर राष्ट्रपतिको कार्यालयबाट समय व्यवस्थापन नगरेको देवगणहरुको गुनासो गरेका छन्।

 

विजया दशमीको अन्तिम दिन कोजाग्रत पूर्णिमामा राष्ट्र प्रमुखबाट प्रत्येक वर्ष नवदुर्गा भवानीको पूजाआजा तथा प्रसाद ग्रहण गर्दै आएको छ । सोही परम्परा धान्न राष्ट्रपति विद्यादेवी भण्डारी बिहीबार भक्तपुर नपा ९ स्थित नवदुर्गा मन्दिर पुगेकी हुन् ।

दोस्रोपटक नवदुर्गा मन्दिर पुगेकी राष्ट्रपति भण्डारीसमक्ष देवगणहरुले नाच प्रदर्शन गर्ने इच्छा व्यक्त गरेका थिए। तर समय व्यवस्थापन नहुँदा अर्को वर्ष नाच हेर्ने प्रवन्ध गरिने राष्ट्रपतिबाट आश्वासन पाएको उनीहरुले सुनाए ।

‘हामीले यस वर्ष पनि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष एकपटक नवदुर्गा गणनाच नजर गर्न आग्रह गरेका थियौं’, देवगण कृष्णप्रसाद वनमालाले भने, ‘तर व्यवस्था मिलेन । अर्को वर्ष त्यसको व्यवस्था गर्न आग्रह गर्दा उहाँले हुन्छ भन्नुभएको छ ।’
उनका अनुसार अहिलेसम्म कुनै पनि राष्ट्र प्रमुखबाट नगदुर्गाको गण नाच नजर गरेका छैनन् । त्यसैले कमसेकम राष्ट्र प्रमुखले एकपटक गण नाच हेर्नैपर्ने माहेश्वरी बनेका देवगण कृष्णप्रसाद जोड गर्छन् ।
राष्ट्रपति भण्डारीले यस वर्ष करिब बीस मिनेट लगाएर नवदुर्गा मन्दिरको पूजाआजा तथा प्रसाद ग्रहण गरेकी छन् । राष्ट्रपतिको तर्फबाट मन्दिरका पुजारी जुलाल कर्माचार्यले तान्त्रिक विधिअनुसार नवदुर्गा भवानीको पूजाआजा गरेका थिए ।
पूजाआजा गर्न भण्डारकोठा पुगेकी राष्ट्रपति भण्डारीलाई नवदुर्गा देवगणले नाच प्रस्तुत गर्दा लगाउने नयाँ टिलिक्क टल्केका मुकुन्डो देखेर मन्त्रमुग्घ भएको नवदुर्गा गण जात्रा व्यवस्थापन समितिका सचिव रत्नमान वनमालाले जानकारी दिए ।
‘नवदुर्गा देवगणको नयाँ चमकदार मुकुन्डो देखेर पूज ागर्न आउनुभएका राष्ट्रपति मन्त्रमुग्घ हुनुभयो’, सचिव वनमालाले भने, ‘उहाँले आहा कति राम्रा मुकुन्डो भन्नुभयो । मुकुन्डोसँगै रहेको मुकुट देखेर त्यसबारे जिज्ञासा राख्नुभयो।'

उनका अनुसार राष्ट्रपति भण्डारीले मुकुन्डोसहितको मुकुटको तौल र ती लगाएर नाच्दा देवगणलाई गाह्रो साह्रो पर्नेबारे अभिरुचिपूर्वक चासो व्यक्त गरेका थिए। उक्त अवसरमा सचिव वनमाला, यस वर्षका देवगण नाइके बिजेश वनमालाले नवदुर्गा नाच र त्यसको व्यवस्थापनबारे अवगत गराएका थिए।

उनीहरुले आर्थिक अभावले नाच प्रदर्शन गर्न समस्या भएकोबारे ध्यानाकर्षण गर्दा के कस्ता समस्या र गुनासा छन्, ती सबैबारे लिखित रुपमा शितल निवासमा अवगत गराउन राष्ट्रपति भण्डारीले आउन आग्रह गर्नुभएको सचिव वनमालाले जानकारी दिए।

उनका अनुसार यस वर्ष राष्ट्रपति भण्डारीले प्रत्येक देवगणसँग प्रत्यक्ष कुरा गरी नाचबारे जानकारी लिएकी थिइन्। सचिव वनमालाले राष्ट्रपति भण्डारीसमक्ष मुकुन्डोसहित नवदुर्गा देवगणको नाच प्रदर्शन गर्ने प्रयास यस वर्ष पनि सफल हुन नसकेको गुनासो पोखे।

नवदुर्गा भवानीको पूजाआजापछि राष्ट्रपति भण्डारीलाई देवगण नाइके बिजेश वनमालाले नवदुर्गा भवानीको दसैंको प्रसादको रुपमा एउटा बिमिरो, पञ्चरंगी धागोको डोरी बाटिएको गोका, पञ्चरंगी धागोको पासुका, फूलमाला र भवानीको दसैंघरको जमरा चढाएका थिए। त्यस्तै राष्ट्रपति भण्डारीले प्रत्येक देवगणलाई जनही पाँच सय पाँच रुपैयाँ दक्षिणा दिएकी थिइन्।

नवदुर्गा भवानीको पूजाआजापछि मन्दिरबाट बाहिरिने क्रममा राष्ट्रपति भण्डारीलाई भक्तपुर तलेजु आगम छेंका मूल नाइके नरेन्द्रप्रसाद जोशीले तलेजु भवानीको प्रसाद अर्पण गरेका थिए।नवदुर्गा भवानीको पूजा गर्न भक्तपुर पुगेकी राष्ट्रपति भण्डारीलाई प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेल, जिल्ला समन्वय समितिका संयोजक नवराज गेलाल, सहसंयोजक सरिता कुँवरलगायतका सरकारी तथा सुरक्षा निकायका प्रमुखहरुले फूलमाला तथा पुष्पगुच्छाले स्वागत गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.