मौसमी बिरामीको चाप दोब्बर

मौसमी बिरामीको चाप दोब्बर

विराटनगर: मौसम परिवर्तनसँगै पूर्वका स्वास्थ्य संस्थामा मौसमी बिरामीको संख्या बढेको छ । सरकारी तथा निजी स्वास्थ्य संस्थामा बिरामीको चाप बढेपछि उपचारमा समस्या हुन थालेको छ । विगतको तुलनामा बिरामीको संख्या दोब्बर बढी देखिएको छ। केही दिनयता बिरामीको चाप धान्न कठिन भइरहेको स्वास्थ्य संस्थाले जनाएका छन् । कतिपयले अस्थायी शय्या थप गरी बिरामीको उपचार गर्न थालेका छन् । कतिपयले पुराना बिरामीलाई चिकित्सकको सम्पर्कमा रहने गरी डिस्चार्ज दिँदै नयाँ भर्ना गरिरहेका छन्।

विराटनगरका नोबेल मेडिकल कलेज, कोसी अञ्चल अस्पताल, धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, दमकको लाइफलाइन, आम्दा, मेची अञ्चल अस्पताल, राजविराजको सगरमाथा अञ्चल अस्पताललगायत स्वास्थ्य संस्थाले बिरामीको चाप थेग्न सक्ने अवस्थामा नरहेको जनाएका छन् । भाइरल ज्वरो, रुघाखोकी, झाडापखाला, ज्वरोलगायत समस्या भएका बिरामीको संख्या बढेको जनाइएको छ।

कोसी अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रोशन पोखरेलले महामारी फैलिने गरी रोग लागेकाभन्दा पनि नियमित उपचार र स्वास्थ्य परीक्षणमा आउने बिरामीको संख्या बढेको बताए । ‘चिसो सुरु भई मौसम परिवर्तन हुनुका साथै शुद्ध पिउने पानी अभावका कारण बिरामीको संख्या बढेको हो', उनले भने, ‘यसअघि आउनेभन्दा अहिले बिरामीको संख्या दोब्बर बढेको छ ।' पहाडी जिल्ला र साना स्वास्थ्य संस्थामा उपचार सम्भव नभएपछि रिफर भएका बिरामी थपिने गर्दा थेग्न मुस्किल परेको उनको भनाइ छ।

नोबेल मेडिकल कलेजका प्रबन्धक नारायण दाहालका अनुसार यसअघि दैनिक एक हजार संख्यामा बिरामी बहिरंग विभागमा आउने गरेकामा अहिले दुई हजारभन्दा बढी पुगेको छ । त्यसमध्ये सबैभन्दा बढी बालबालिका र वृद्धवृद्धा रहेको उनले जानकारी दिए।

पूर्वका नौ सय २६ सरकारी स्वास्थ्य संस्थामा बिरामीको चाप बढेको पूर्वाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालय धनकुटाले जनाएको छ । विभिन्न स्वास्थ्य संस्थामा स्वास्थ्य परीक्षण र उपचारका लागि दैनिक १२ हजारसम्म बिरामी आउने गरेकोमा त्यो संख्या बढेर २५ हजार हाराहारी पुगेको निर्देशनालयको प्रारम्भिक तथ्यांकले देखाएको छ।

निर्देशनालयका अनुसार सरकारी स्वास्थ्य संस्थामा रहेका सात सय र निजीका तीन हजारभन्दा बढी शय्या अपुग हुन थालेको छ । शय्या अभावमा कतिपय स्वास्थ्य संस्थामा बिरामीलाई भुइँ, बेन्च मात्र होइन, स्ट्रेचरमै राखेर उपचार गराउनुपर्ने अवस्था देखिएको छ।

क्षेत्रीय स्वास्थ्य निर्देशक महेश खनालले बढ्दो बिरामीको चापलाई मध्यनजर गरी सबै स्वास्थ्य संस्थामा औषधि र चिकित्सकको उचित व्यवस्था गरिसकेको जानकारी दिए । ‘कतिपय ठाउँमा झाडापखालालगायत रोगको महामारी नै फैलिएको छ', उनले भने, ‘महामारी फैलिएका तथा फैलन सक्ने सम्भावना भएका ठाउँमा विशेषज्ञ चिकित्सकको टोली र औषधि पठाएर उपचार सुरु गरिएको छ ।' उनका अनुसार आपत्कालीन अवस्था तथा महामारी नियन्त्रणका लागि पनि स्वास्थ्यकर्मी तयारी अवस्थामा छन्। बिरामीको बढ्दो चापलाई मध्यनजर गरी ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थामा दक्ष जनशक्ति र औषधि पठाउन थालेको उनको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.