भोजपुरमा भाइरलले सतायो
भोजपुर: भाइरल ज्वरोले सताएपछि भोजपुर-५, बोखिम दाम्सिङका २२ वर्षीय विशाल राई दसैंको पर्सिपल्ट जिल्ला अस्पतालमा भर्ना भए । चार दिन अस्पतालमै बसी आफ्नो उपचार गराउनुपर्यो। उनी चार दिनपछि डिस्चार्ज भए पनि अस्पतालमा भाइरलको लक्षण देखिएका बिरामीको चाप बढेको छ। ओपीडीमा दैनिक ५० देखि ६० बिरामी स्वास्थ्य परीक्षणका लागि आउने गरेको अस्पतालले जनाएको छ।
गर्मी मौसमका साथै चाडबाडका बेला खानामा ध्यान नदिँदा बिरामीको चाप बढेको अस्पतालका डा. पुजन विकको भनाइ छ । उनका अनुसार इमर्जेन्सी र इन्डोर वार्डमा पनि १०-१५ बिरामी आउने गरेका छन्। भाइरलबाट जोगिन रुघाखोकी लाग्नासाथ पानी प्रशस्त मात्रामा पिउनुपर्ने, बाटोमा हिँड्दा वा रोगीको छेउछाउ जाँदा मास्क लगाउनुपर्ने उनको भनाइ छ।
बिरामीको चाप बढे पनि दरबन्दीअनुसारको चिकित्सक नहुँदा समस्या भएको छ। दसैं बिदामा घर गएका डा. शिवजी रिजाल र जनस्वास्थ्य प्रमुख त्रिभुवनचन्द्र झा चिकित्सक नआइपुग्दा सेवा प्रवाह प्रभावित भएको हो। दुईजना चिकित्सक बिदामा बसेपछि विकले मात्र सेवा दिइरहेका छन्। ‘एक्लै हुँदा धेरै बोझ बढेको छ', उनले भने, ‘दैनिकजसो इन्डोर, ओपीडी, इमर्जेन्सी, मेडिकल जाँच, पोस्टमार्टम रिपोर्ट हेर्न पनि आफैं नपुगी हुन्न।'
झा धनगढीमा तालिममा रहेकाले आउन नसकेको जिल्ला अस्पतालका सूचना अधिकारी राजुकुमार श्रेष्ठले बताए। ‘दसैं बिदामा घर जानुभएका सरहरू असोज १७ गते कार्यालयमा उपस्थित हुनुपर्ने हो तर नआइपुग्दा बिरामीलाई समयमा उपचार सेवा दिन नपाइरहेको अवस्था छ।'