रेडियसन गर्नुपर्ने क्यान्सर बिरामीको चाप बढ्यो
भक्तपुर: भक्तपुर नगरपालिका १ दूधपाटीस्थित भक्तपुर क्यान्सर अस्पतालमा रेडियो थेरापी गर्ने क्यान्सर बिरामीहरुको चाप ह्वात्तै बढेको छ। राजधानीको वीर अस्पतालमा रहेको रेडियो थेरापी गर्ने कोबाल्ट ६० मेसिन बिग्रँदा त्यहाँका बिरामीको चापसमेत भक्तपुरले थेग्नुपरेको हो।
भक्तपुर क्यान्सर अस्पताल रेडियसन अन्कोलोजी विभागका सुपरभाइजर थेरापी रेडियोग्राफर शिवराम धुख्वाले रेडियो थेरापी गर्नुपर्ने बिरामी बढेर मंसिर महिनासम्मको सूची तयार गरिसकिएको जानकारी दिए । उनका अनुसार रेडियो थेरापी गर्न अझै एकसय ६५ भन्दा बढी बिरामी प्रतिक्षासूचीमा रहेका छन्।
वीर अस्पतालमा रहेको रेडियोथेरापी मेसिन सञ्चालनमा नआएपछि त्यहाँ पुग्ने क्यान्सर बिरामी भक्तपुर पुगेको उनको भनाइ थियो।
‘वीरमा कोबाल्ट ६० मेसिन बिग्रँदा त्यहाँका क्यान्सर बिरामीसमेत भक्तपुरमा थपिएका छन्', रेडियोग्राफर धुख्वाले भने, ‘बिरामीको संख्या ह्वात्तै बढ्दा रेडियो थेरापी गर्नुपर्ने बिरामीले ६ हप्ता कुर्नुपर्ने भएको छ।'
भक्तपुर क्यान्सर अस्पतालले सातामा पाँच दिन रेडियो थेरापी सेवा दिँदै आएको छ। प्रत्येक आइतबार रेडियोथेरापी गर्नुपर्ने बिरामीहरुको योजना (प्लानिङ) गरिन्छ। उक्त योजनाअनुसार सोमबारदेखि शुक्रबारसम्म दैनिक एकसयभन्दा बढीको रेडियोथेरापी गर्दै आएको विभागका अर्का सुपरभाइजर थेरापी रेडियोग्राफर राजीव कर्णले बताए।
उनले आकस्मिक रेडियोथेरापी गर्नुपर्ने तथा बालबालिका र ज्येष्ठ नागरिकहरुलाई भने प्रतीक्षा सूचीमा नराखी र आइतबार योजना बनाउने दिन पनि सेवा दिँदै आएको जानकारी दिए।
रेडियोथेरापी गर्न आउने बिरामीहरुको चाप बढेकै बखत रेडियोथेरापी प्लानिङ गर्ने अस्पतालको सिमुलेटर मेसिन बिग्रिएको छ। उक्त मेसिन बिग्रिँदा कोबाल्ट ६० मेसिनबाटै बिरामीहरुको रेडियोथेरापी योजना गर्ने गरिएको छ। यसले गर्दा पनि रेडियोथेरापी प्रभावित भएको छ। पहिले सिमुलेटरले रेडियोथेरापीको योजना गरिन्थ्यो र कोबाल्ट ६० मेसिनबाट सेकिन्थ्यो तर अहिले कोबाल्ट ६० बाटै दुवै गर्नुपर्ने बाध्यता रहेको सुपरभाइजर धुख्वा बताउँछन् ।