अझै नियन्त्रणमा आएन ‘डेंगुको संक्रमण'
बर्दिबास: महोत्तरीको बर्दिबासमा देखिएको डेंगुको संक्रमण अझै नियन्त्रणमा आएको छैन। डेंगु रोगबाट प्रभावितको संख्या शनिबार सम्म एक सय १८ जना पुगेका छन्। असोजको पहिलो साता फेला परेको डेंगुको संक्रमण तीन साता बितिसक्दा समेत नियन्त्रणमा आउन नसकेको हो।
डेंगु नियन्त्रणका लागि सरोकारवालहरुले निरन्तर प्रयास गरेपनि रोग प्रभावितहरुको संख्या भने बढ्दै गएपछि स्थानीयबासीहरु चिन्तित बनेका छन्। ‘डेंगु रोगबाट प्रभावित चार जनालाई काठमाडौं रिफर गरिएको छ, जनस्वास्थय निरीक्षक सन्तोष ठाकुरले भने ‘अरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। कतिपय उपचारपश्चात् घर फर्किसकेका छन्।'
डेंगुबाट प्रभावित हुनेमा महिलाभन्दा पुरुषको संख्या धेरै रहेको उनले जनाए। घर बाहिर काम गर्न पुरुष नै बढि निस्कन्छन्, गर्मीका बेला पुरुषहरुले छोटा कपडाहरुको प्रयोग गर्छन्। त्यसैले महिला भन्दा बढि पुरुष नै डेंगुबाट संक्रमित भयो।'
डेंगु रोगको संक्रमण बिस्तारै नियन्त्रणमा आइरहेको स्वास्थ्य कार्यालय महोत्तरीका प्रमुख राजीव झाले बताए। उनले अन्नपूर्णसंग भने, ‘शनिबारदेखि डेंगुको संक्रमण भएर अस्पताल आउने विरामीको संख्यामा कमी आयो। डेंगु नियन्त्रणमा आएको कुरा ठयाक्कै भन्न तीनदेखि चारदिन सम्म पर्खिनुपर्छ ।' उनले महोत्तरीमा डेंगु परीक्षण गर्ने किटको अभाव नरहेको जनाए।
बर्दिबास सरकारी अस्पतालमा ५० वटा किट प्राप्त भएको छ। अन्नपूर्ण पोष्टको शनिबारको अंकमा ‘डेंगु परिक्षण गर्न किटको अभाव' भन्ने शीर्षकको समाचार प्रकाशितपछि अस्पतालले किट पाएको हो। बर्दिबास स्वास्थ्यमन्त्रीको गिरिराजमणी पोखरेललको गृह नगर हो।
स्वास्थ्यमन्त्री पोखरेलले मध्यमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशक डा. बासुदेव पाण्डे, स्वास्थ्य कार्यालय महोत्तरीका प्रमुख राजीव झा, बर्दिबास नगरपालिकाका मेयर विदुरकुमार कार्कीलाई बोलाएर बर्दिबासमा फैलिएको डेंगु नियन्त्रणबारे जानकारी लिएका छन्।
‘चौकचौराहाका ग्यारेजमा थन्किएको थोत्रा टायरहरुमा जमेको पानीमा डेंगु सार्ने लामखुट्टेको लार्भा हुरकेको थियों,' बर्दिबास नगरपालिका मेयर कार्कीले स्वास्थ्यमन्त्री पोखरेललाई भने, ‘डेंगु सार्न जन्म लिने लामखुट्टेको लार्भाको बास उठाइसक्यौं । अब क्रमसः डेंगु नियन्त्रणमा कमी आउने हामीले विश्वास लिएका छौं।'
क्षेत्रीय स्वास्थ्य निर्देशक डा. पाण्डेले बर्दिबासमा डेंगुबारे जनचेतना अभियान घर घरमा अझै पुर्याउन आवश्यक रहेको औंल्याए। ‘डेंगु रोंगको संक्रमण रोगथामको लागि कुनै औषधि छैन । जनचेतनामूलकक अभियानबाटै डेंगु संक्रमण नियन्त्रणमा लिन सकिन्छ।