प्रजनन स्वास्थ्यको पाठ पढाउन शिक्षकलाई नै लाज

प्रजनन स्वास्थ्यको पाठ पढाउन शिक्षकलाई नै लाज

जनकपुरधाम: धनुषा जिल्लाको अधिकांश सामुदायिक विद्यालयहरुमा प्रजनन स्वास्थ्यका विषयमा बालबालिकाहरुलाई खुलेर पढाईदैंन। प्रजनन स्वास्थ्यको पाठ आएपछि शिक्षक वा शिक्षिकाले विद्यार्थीहरुलाई घरमै गएर पढ्नु भनेर त्यो पाठ नै नपढाई छाड्छन्। किशोर किशोरीहरुलाई लक्षित गरि पाठ्यक्रममा समावेश गरिएको प्रजनन स्वास्थ्यका विषयलाई सामान्य पाठ्क्रमको विषयका रुपमा नलिई अतिरञ्जीत गरेर लाज र धाकको विषय बनाउने काम शिक्षकहरुबाट नै हुने गरेको छ।

यस विषयवस्तु अन्तर्गतको अतिनै महत्वपूर्ण पाठहरुका विषयमा कक्षाकोठामा चर्चा गर्न निकै लाज र असजिलो मान्ने गरेका शिक्षकहरुले यस विषयमा विशेष कक्षा सञ्चालन गर्न खोज्नेहरुलाई समेत बाधा अवरोध उत्पन्न गर्ने गर्दछन्।

विशेषगरी मधेसका जिल्लाहरुमा त प्रजनन स्वास्थ्यका विषयमा अझ पनि निकै संकुचित मानसिकताका कारण किशोरकिशोरीहरुले विद्यालय वा घरमा यस विषयमा ज्ञान आर्जन गर्न नपाएको अवस्था रहेको छ। प्रजनन स्वास्थ्यका विषयमा जानकारी नहुँदा बालविवाह लगायत सानै उमेरमा गर्भधारण, आंङ्ग खस्ने समस्या लगायत विभिन्न प्रकारका सामाजिक समस्याहरु समेत सृजना भईरहेको छ।

तीन वर्षदेखि नेपाल रेड्क्रस सोसाईटीले युनिसेफको सहयोगमा धनुषाका १५ वटा साबिकका गाविसहरुमा सञ्चालन गरेको 'हाम्रो सवाल हाम्रो सहभागिता' कार्यक्रम अन्तर्गत विद्यालयस्तरमा सञ्‍चालित साथी शिक्षा कार्यक्रमा विद्यार्थीहरुलाई प्रजनन शिक्षाको विषयमा बुझाउन सबैभन्दा बढी बाधा शिक्षकहरुबाट नै उत्पन्न हुने गरेको देखिएको छ।

जिल्लाको अति दुर्गम साबिकका गाविसहरु मुखियापट्टी, तुल्सीयाही जब्दी, तुल्सीयाही निकास, नगराईन, झोझिकटैया, बफैं, पटेर्वा, सबैला, गोदार, लवटोली, पुष्पवलपुर, नकटाझिज, ढल्केवर, बेंगाडावर र भूईचक्करपुरमा सञ्चालित यस कार्यक्रममा प्रजनन स्वास्थ्यका विषयमा कक्षा लिन जाँदा शिक्षकहरुले विद्यार्थीमा नकारात्मक सन्देश जाने भन्दै अवरोध गर्ने गरेको नेपाल रेड्क्रस सोसाईटी धनुषाका सभापति नरेश सिंहले बताए।

कक्षा ८,९ र १० का विद्यार्थीहरुलाई प्रजनन स्वास्थ्य, एचआईभी एड्स, सर्ने रोगहरु र आयआर्जनका विषयमा सचेत गराउने अभिप्रायले उनीहरुकै उमेर समूहका प्रशिक्षकहरुबाट अभिमुखिकरण गराउन खोज्दा कतिपय ठाउँमा अभिभावकहरुले त कतिपय ठाउँमा गाउँका अगुवा भनाउनेहरुले बाधा उत्पन्न गर्ने गरेको सिंहले बताए।

किशोरहरुलाई कक्षा दिन अनुमति दिएपनि किशोरीहरुलाई भने अभिभावकले पढ्न समेत नपठाउने गरेको कारण प्रजनन स्वास्थ्यका विषयमा जानकारी गराउन निकै गाहे हुने गरेको सिंहले सुनाए। उनले भने , ' समुदायमा विद्यालय छाडेर बसेका किशोरकिशोरीको अभिमुखिकरण र अभिभावक अभिमुखिकरणको समेत योजना भएपनि प्रजनन स्वास्थ्यको नाम आउन बित्तिकै अभिभावकहरुले नै मुख छोप्छन्। यसपछि समुदायमा जनचेतना अभिवृद्धि गर्न निकै गाह्रो हुन्छ।'

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.