कांग्रेस, एमाले र माओवादीभित्रै पार्टी खोल्छु: बिजुक्छे
भक्तपुर: नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे रोहितले कांग्रेस, एमाले र माओवादीभित्रै अर्को पार्टी खोल्ने उद्घोष गरेका छन्।समसामयिक राजनीतिबारे मंगलबार भक्तपुरको टौमढीमा आयोजित जनसभालाई सम्बोधन गर्दै नेता रोहितले तीन प्रतिशतको मतसीमा (थ्रेस होल्ड) लगाएर नेमकिपाको संघर्ष रोक्न नसकिने बरु उल्टै कांग्रेस, एमाले र माओवादीभित्रै पार्टी खोल्ने उद्घोष गरेका हुन्।
उनले संसदमा नेमकिपाका सांसदहरुले भारतीय विस्तारवादविरुद्ध नाराबाजी गरेकै कारण भारतको निर्देशनमा ठूला दलहरुले थ्रेस होल्डको नीति पारित गरेको आरोप लगाए।
'हाम्रो सांसदहरुले भारतीय विस्तारवादविरुद्ध चर्को नारा लगाएकै कारण ठूला दलहरुले भारतको निर्देशनमा थ्रेस होल्डको व्यवस्था गरेका हुन्', उनले भने, ‘तर थ्रेस होल्डको व्यवस्था गरिँदैमा नेमकिपालाई देश र जनताको पक्षमा बोल्न कसैले रोक्न सक्दैन। हाम्रो आवाजलाई बन्द गर्न खोज्ने कांग्रेस, एमाले र माओवादीभित्रै पार्टी खोल्छौं।'
पार्टी प्रतिबन्ध लगाएको पञ्चायती शासनकै बेला नेमकिपाले गाउँ ठाउँमा संगठन गरेर देश र जनताको सेवा गरेको स्मरण गर्दै उनले अहिलेको प्रजातान्त्रिक समयमा थ्रेस होल्ड लगाउँदैमा नेमकिपालाई देश र जनताको सेवा गर्नबाट कसैले रोक्न नसक्ने दावी गरे।
नेता रोहितले नेपालको शासन भारतीय दूतावासमार्फत सञ्चालन भइरहेको र सरकारमा रहेका प्रधानमन्त्री, मन्त्री तथा ठूला दलका नेताहरु भारतीय विस्तारवादका दलालमात्रै भएको बताए।
आफ्नो मन्तव्यमा अधिक समय भारतीय विस्तारवादको विरोध गरेका उनले भारतको दूतावासबाट फोन गरेकै कारण निर्वाचन आयोगले सरकार विस्तारको विरोध गर्न नसकिएको पुष्टि भइसकेको सुनाए।
‘भारतीय दूतावासको एउटा फोनले हाम्रा प्रधानमन्त्री र मन्त्रीहरु थरथर हुन्छन्। त्यसैले उनीहरु भारतीय दलाल नभए के हुन्?', नेता रोहितको प्रश्न थियो, ‘हुँदा हुँदा निर्वाचन आयोगका प्रमुख आयुक्तसमेत भारतीय दूतावासको एउटा फोनमार्फत चल्छन् भने देश कसबाट सञ्चालित छ भन्ने प्रस्ट हुँदैन र?'
नेता रोहितले कांग्रेस, एमाले र माओवादीकै कारण देश र जनताले दुःख पाएको दावी गर्दै अबको निर्वाचनमा उनीहरुलाई हराउन आह्वान गरे।नेमकिपा भक्तपुर जिल्ला समितिद्वारा आयोजित उक्त जनसभामा नेमकिपा केन्द्रीय सचिव प्रेम सुवालले निर्वाचन केन्द्रित भएर गठन भएको वामपन्थी र लोकतान्त्रिक गठबन्धन नामले जेसुकै भए पनि काम र व्यवहारले अप्रजातान्त्रिक र पूँजीवादी भएको बताए।
कार्यक्रममा नेमकिपा केन्द्रीय सदस्यहरु सुनिल प्रजापति, डिल्लीप्रसाद काफ्ले, नारायण महर्जन, अनुराधा थापामगरलगायतले नेपाल र नेपाली जनताको मुख्य शत्रु भारतीय विस्तारवाद एवं भारतीय एकाधिकार पूँजी रहेको भन्दै यसविरुद्ध संघर्ष गर्नु आवश्यक भएको बताए। संघ तथा प्रदेशसभाको निर्वाचन नजिकिँदै गर्दा गरिएको नेमकिपाको उक्त कार्यक्रमलाई चुनावी शक्ति प्रदर्शनको रुपमा लिइएको छ।