हिमाली भेगबाट ल्याइएको प्रतिबन्धित पाँच औले बरामद
गोरखा: इलाका प्रहरी कार्यालय आरुघाटले गोरखाको हिमाली भेगबाट ल्याइएको प्रतिवन्धित जडिबुटी पाँचऔंले बरामद गरेको छ।सोतीबाट आरुघाटतर्फ लाँदै गरेको पाँच औंले बरामद गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।
ओसारपसारमा संलग्न भएका आरुघाट गाउँपालिका ९ चाँपपानीका कमल गुरुङ र प्रयोग भएको बसका चालक सपतबहादुर मगर पक्राउ परेका प्रहरीले जनाएको छ। कारबाहीका लागि उनीहरुलाई बुधबार दिउसो जिल्ला वन कार्यालयलाई बुझाइएको प्रहरीले जनाएको छ।
इप्रकाका निमित्त प्रमुख सई ऋषिराम तिमिल्सिना नेतृत्वको गस्ती टोलीले मंगलबार राती आठबजे सिमरा भन्ने ठाउँबाट पाँचऔले बरामद गरेको थियो। 'रातको समयमा बस रित्तै हुँइक्किएर आएको रहेछ' सई तिमिल्सिनाले भने ‘चेकजाँच गर्दा आठवटा बोरामा बाँधिएको पाँचऔले भेटियो।' सो पाँचऔंले बुधबार इलाका वन कार्यालयमा बुझाइएको पनि बताए।
पाँचऔंले २५०० देखि ३००० मिटर उचाइमा हुने लोपोन्मुख जडिबुटी अन्तर्गत पर्छ। लोपोन्मुख भएकाले यसलाई वन ऐन अनुसार संकलन तथा ओसारपसारमा प्रतिवन्ध लगाइएको जिल्ला वन अधिकृत जीवनाथ पौडेलले बताए।
लोपोन्मुख प्रजातिमा पर्ने भएकाले यसमा लोपोन्मुख प्रजातिहरुको अन्तर्राष्ट्रिय ऐन(साइटिस) आकर्षण हुने पौडेलको भनाइ छ। प्रतिवन्धित हुनुअघि प्रतिगोटा पाँचऔंलेको एकहजार रुपियाँ राजस्व असुल गरिन्थ्यो।