चारदिनपछि अस्पतालको ताला खुल्यो
जुम्लाः तह मिलानको माग गर्दै आएका कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारीहरुले चारदिनपछि बिहीबार ताला खोलेका छन्। प्रतिष्ठानका पदाधिकारीहरुबाट १० दिनभित्र उच्चस्तरिय समिति गठन गरी कर्मचारीका समस्या समाधान गर्न प्रयास गर्ने पत्र पठाएपछि बिहीबार अस्पतालमा लगाइएका सबै तालाहरु खोलीएको हो ।
कर्णालीको एकमात्र विशेषज्ञसहितको उपचार सेवा प्रदान गर्दै आएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कर्मचारीहरुको आन्दोलनका कारण चारदिनदेखि आकस्मिक बाहेकका बिरामीहरुले चारदिनदेखि उपचार गर्न पाएका थिएनन् । तह तीन अन्तर्गत कार्यरत कर्मचारीहरुले लामो समयसम्म काम गर्दापनि प्रतिष्ठानको सिनेटबाट आफ्नो तह बढुवा नभएको भन्दै गत सोमबारदेखि आकस्मिक बाहेकका अन्य सबै सेवाहरु ठप्प पारी ताला बन्दी गरेका थिए।
प्रतिष्ठानका पदाधिकारीबाट तह तीनका कर्मचारीहरुलाई कर्मचारीहरुको सेवा सर्त र सुविधा सम्बन्धी नियमावली २०६९ संशोधन गर्नका लागि १० दिनभित्र उच्चस्तरीय कमिटी गठन गरी समितिको सुझावअनुसार चालु आर्थिक वर्षदेखि नै आन्दोलनरत कर्मचारीहरुको तह मिलान गरिने पत्रमा उल्लेख गरिएकोले बिहीबारदेखि नै सम्पूर्ण आन्दोलनका कार्यक्रमहरु फिर्ता लिएको कर्मचारीको आन्दोलन समितिले जनाएको छ । प्रतिष्ठानमा कार्यरत अहेब, अनमी र ल्याब अशिस्टेन्ड लगायतका कर्मचारीहरुले संयुक्त मोर्चा बनाएर प्रशासन, ओपीडी कक्षमा तालाबन्दी गरेका थिए ।
चारदिनसम्म तालाबन्दी हुँदा उपचारका लागि प्रतिष्ठानमा आउने सेवाग्राहीहरु निकै मर्कामा परेका थिए । बहिरंग सेवामा उपचारका लागि जाँदा बन्द हुँदा फर्किनुपरेको गोठीचौर गाउँपालिका गोठीगाउँकी चन्द्रिका बस्नेतले बताइन् । बुधबार आधा दिनको पैदल हिँडेर अस्पताल पुग्दा पनि चेकजाँच नगरीकनै फर्कनुपरेपछि निकै सास्ती खेपेको बस्नेतको भनाइ छ।
प्रतिष्ठानले सेवाग्राहीहरु उपचार नपाई फर्कन थालेपछि तत्काल सहमतिमा आएर ताला खोल्न अनुरोध गरेको थियो । रजिष्टारको कार्यालयबाट कर्मचारीहरुको हक हितका लागि उच्च स्तरिय समिति गठन गर्ने र सोही समितिको सुझावअनुसार कार्यकारी परिषदले टुंग्याउने पत्र पठाएपछि बिहीबारदेखि आन्दोलन स्थगित भएको थियो ।
बिहीबार रजिष्टार विश्वराज काफ्लेले पत्रअनुसार ताला खोलेर सहमतिमा नआए प्रहरी प्रशासन लगाउने चेतावनी दिएपछि कर्मचारीहरुले पत्रानुसार सहमतिमा आउने निर्णय गरेका हुन् । साझा मुद्दा उठाउनुका सट्टा व्यक्तिगत मुद्दा उठाएर प्रतिष्ठानलाई आन्दोलनको थलो बनाउने प्रयास गरेको भन्दै सहमतिमा आएर ताला नखोले प्रहरी लगाएर ताला खोल्ने र उनीहरुलाई कार्यकारी परिषदमा कारबाहीको लागि समेत सिफारिस गरिने प्रतिष्ठानले चेतावनी दिएपछि कर्मचारीहरुले उच्चस्तरिय समितिको सुझावलाई पर्खने सहमति जनाएका छन् ।