निर्वाचन अधिकृतको कार्यालय स्थापना
महेन्द्रनगर : आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनको लागि कञ्चनपुर जिल्लामा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका कार्यालयहरु स्थापना भएका छन्। निर्वाचन आयोगको कार्यतालिका अनुसार बिहीबार कञ्चनपुरका तीनवटै निर्वाचन क्षेत्रका निर्वाचन अधिकृतको कार्यालय उद्घाटन गरिएका हुन्। मुख्य निर्वाचन अधिकृत डा. राजेन्द्रकुमार आचार्य र अन्य दुई निर्वाचन अधिकृतले संयुक्त रुपमा निर्वाचन अधिकृतको कार्यालय उद्घाटन गरेका हुन्। कञ्चनपुरमा तीनवटा निर्वाचन क्षेत्र रहेका छन्। तीनवटै निर्वाचन क्षेत्र जिल्ला सदरमुकाम महेन्द्रनगरमा स्थापना गरिएका हुन्।
जिल्ला प्रशासन कार्यालय रहेको पुरानो भवनमा तीनवटै निर्वाचन अधिकृतको कार्यालय स्थापना भएका हुन्। निर्वाचन क्षेत्र नम्बर १ मा निर्वाचन अधिकृत गुणराज श्रेष्ठ र निर्वाचन क्षेत्र नम्बर २ मा बिष्णुप्रसाद पौडेल नियुक्त भएका छन्। निर्वाचन क्षेत्र नम्बर ३ मा मुख्य निर्वाचन अधिकृत डा. राजेन्द्रकुमार आचार्य रहेका छन्। मंसिर २१ गते हुने निर्वाचनका लागि कञ्चनपुर सहितका ४५ वटा जिल्लामा निर्वाचन अधिकृतका कार्यालयहरु स्थापना भएका हुन्।
निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्दै मुख्य निर्वाचन अधिकृत डा. राजेन्द्रकुमार आचार्यले संविधान कार्यान्वयनमा निर्वाचन महत्वपूर्ण भएको बताए। उनले निर्वाचन सफल रुपमा सम्पन्न गर्न सबैको सहयोगका लागि आग्रह समेत गरेका छन्। उनले जिल्लामा निर्वाचनलाई स्वच्छ र भयरहित वातावरणमा सम्पन्न गर्न सबै लाग्नुपर्ने बताए। ‘निर्वाचनमा कुनैपनि बद्मासी हुन दिइने छैन्’ कार्यालय उद्घाटन गर्दै उनले भने,‘ कर्मचारीहरुले निर्वाचनमा आचार संहिता बाहिर गएर कसैले काम गरेको पाइए तीनलाई कारबाही गरिनेछ’। मंसिर २१ गते हुने निर्वाचनका लागि कात्तिक १६ गते मनोनयन दर्ताको समय तोकिएको छ।