स्विस टेनिस सुन्दरी हिंगिजको सन्न्यास

स्विस टेनिस सुन्दरी हिंगिजको सन्न्यास

बासेल : स्विस टेनिस सुन्दरी मार्टिना हिंगिजले यसै साता हुने डब्लूटीए टेनिसको फाइनलपछि सक्रिय खेलजीवनबाट सन्न्यास लिने घोषणा गरेकी छन् । स्लोभाकियामा जन्मिएकी ३७ वर्षीया हिंगिजले लामो समयदेखि डबल्स स्पर्धामात्र खेल्दै आएकी छन् । डबल्स स्पर्धामा उनी हाल पहिलो वरीयतामा आसीन छन् । एकल स्पर्धामा पनि आफ्नो समयकी प्रभावशाली खेलाडी हिंगिजले पाँचवटक ग्रान्डस्लाम एकल उपाधि पनि जितेकी छन् ।

हिंगिजले यसअघि दुईपटक सक्रिय खेलजीवनबाट सन्न्यास घोषणा गरेकी थिइन् । पहिलोपटक उनले सन् २००३ मा केवल २२ वर्षको उमेरमा सन्न्यास लिएकी थिइन् । केही समयपछि पुनः टेनिस कोर्टमा फर्किएकी हिंगिजले सन् २००७ मा पनि सन्न्यास घोषणा गरेकी थिइन् । पछिल्लो समय डबल्स स्पर्धामा बढी सक्रिय देखिएकी हिंगिजले यो वर्ष दुईवटा ग्रान्डस्लाम प्रतियोगिताको मिक्स डबल्सतर्फको उपाधि जितेकी छन् ।

 

विम्बल्डन र यूएस ओपनमा मिक्स डबल्सतर्फको उपाधि चुमेपछि उनी पुनः पहिलो वरीयतामा फर्किएकी हुन् । ‘यसपटक मैले सन्न्यास घोषणा गरेको पक्का हो, अब प्रतिस्पर्धात्मक टेनिस खेल्न म कोर्टमा फर्किने छैन’, आफ्नो सन्न्यास घोषणा गर्दै हिंगिजले भनेकी छन् । ‘यो वर्ष मैले महत्वपूर्ण प्रतियोगिताको उपाधि पनि जितेकी छु, मेरो विचारमा सन्न्यास लिने उपयुक्त अवसर पनि यही हो’, उनी भन्छिन् ।

सन् १९९६ मा विम्बल्डनमा महिला डबल्सतर्फको उपाधि जित्दा हिंगिज केवल १५ वर्षको थिइन् । तत्कालीन चेकोस्लोभाकियाकी हेलेना सुकोभासँग मिलेर महिला डबल्सतर्फको उपाधि जितेपछि हिंगिज ग्रान्डस्लाम प्रतियोगितामा उपाधि हात पार्ने सबैभन्दा कम उमेरकी खेलाडी पनि बनेकी थिइन् । सन् १९९७ मा उनी केवल १६ वर्षको उमेरमा डब्लूटीए वरीयताको पहिलो स्थानमा उक्लिएकी थिइन् । सोही वर्ष उनले अस्ट्रेलियन ओपनका रूपमा पहिलोपटक ग्रान्डस्लाम प्रतियोगिताको महिला एकलतर्फको उपाधि जितेकी थिइन् ।

हिंगिजले सन् १९९७ देखि सन् १९९९ सम्म लगातार तीनवटा अस्ट्रेलियन ओपनको एकल उपाधि जितेकी थिइन् भने सन् १९९७ मै उनले विम्बल्डन र यूएस ओपनको एकल उपाधि पनि चुमेकी थिइन् । सोही वर्ष अर्को ग्रान्डस्लाम प्रतियोगिता फ्रेन्च ओपनको फाइनलमा पुगेर पनि उनी उपाधिबाट बिमुख भएकी थिइन् । उनले हालसम्म फ्रेन्च ओपनमा भने एकल उपाधि जित्न सकेकी छैनन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.