सिरोहियालाई जनकपुरमा जघन्य अपराधीभन्दा निकृष्ट व्यवहार

सिरोहियालाई जनकपुरमा जघन्य अपराधीभन्दा निकृष्ट व्यवहार
सुन्नुहोस्

जनकपुरधाम : धनुषा जिल्ला अदालतमा जस्तै जघन्य अपराधका मुद्दाका इजलासमा पनि पत्रकारलाई मिलाएर अनुमति दिइन्थ्यो। तर, बुधबार १ नम्बर इजलासमा जति आग्रह गर्दा पनि कसैलाई पस्न दिइएन। किनभने, त्यहाँ कान्तिपुर मिडिया ग्रुप अध्यक्ष कैलाश सिरोहियाको नागरिकता मुद्दाको बहस थियो। 

उनलाई अदालतमा उपस्थित गराउँदा र बहस चलिरहेको बेला सञ्चारकर्मीहरूलाई अदालत परिसरमा समेत प्रवेश गर्न प्रहरीले रोक लगाएको थियो। त्यसअघि अदालत जान प्रयोग गरिने चौतर्फी बाटोमा प्रहरीले कडा सुरक्षा घेरा लगाएर सर्वसाधारणको आवतजावत नै निषेध गरेको थियो। उनलाई अदालतमा उपस्थित गराउने र बहस चलिरहेको बेलासम्म सञ्चारकर्मीहरूलाई अदालत परिसरमा समेत प्रवेश गर्न प्रहरीले रोक लगाएको थियो। त्यसअघि अदालत जान प्रयोग गरिने चौतर्फी बाटोमा समेत प्रहरीले कडा सुरक्षा घेरा लगाएर सर्वसाधारणको आवतजावतसमेत निषेध गरेको थियो। 

जिल्ला अदालत धनुषाको १ नम्बर बेन्चमा सिरोहियाको बहस चलिरहेको बेला सञ्चारकर्मीहरूलाई इजलास कक्षमा बस्ने अनुमति दिइएको थिएन। उनका परिवारका सदस्यहरू र कान्तिपुरका सम्पादकबाहेक स्थानीय पत्रकारहरूलाई अदालत परिसरमा प्रवेश गर्न रोक लगाइएको थियो। 

‘यसअघि थुप्रै ठूलठूला अपराधका घटनाहरू हुँदा इजलास कक्षमा सञ्चारकर्मीहरूलाई सीमित मात्रामै भए पनि बस्ने अनुमति दिइन्थ्यो। तर, सिरोहियाको बहस चलिरहँदा पत्रकारहरूलाई प्रवेश निषेध गर्नुले राज्यको शक्ति प्रदर्शन देखाएको छ,’ नेपाल पत्रकार महासंघ धनुषाका पूर्वअध्यक्ष अनिल मिश्र भन्छन्, ‘मिडिया त हो नि, के गरी हाल्छ हामीले जे गरे पनि हुन्छ भन्ने खालको व्यवहार प्रहरीले देखायो। हामी सञ्चारकर्मीहरू सयौंको संख्यामा पनि थिएनौं। ५–१० जनालाई समेत अदालत परिसरमा प्रवेशमा पनि रोक लगाउनुले राज्यपक्षको सञ्चारजगतलाई निषेध गर्ने मनसाय प्रष्ट्याएको छ।’

सिरोहियाको रिहाइको माग गर्दै जनकपुर लगायत मधेसका जिल्लाहरूमा नागरिकसमाज, स्थानीय पत्रकार, उद्योगी, व्यवसायी, राजनीतिक दलका नेता कार्यकर्ता र विभिन्न पेसागत संगठनलगायतले प्रदर्शन गरेका थिए। 

३ दिन म्याद

अदालतले सिरोहियालाई ३ दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन प्रहरीलाई अनुमति दिएको छ। नागरिकता कसुरसम्बन्धी मुद्दामा मंगलबार काठमाडौंमा पक्राउ गरेर धनुषा ल्याइएका सिरोहियालाई बुधबार जिल्ला अदालतका न्यायाधीश चुरामन खड्काको इजलासले हिरासतमा राख्न अनुमति दिएको हो। 

उनलाई जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्षमा अन्य थुनुवाहरूसँगै राखिएको जिप्रका धनुषाका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी गराएका छन्। मंगलबार थापाथलीस्थित कान्तिपुरको कार्यालयमा सिरोहियाको कार्यकक्षमै पुगेर प्रहरीले उनलाई पक्राउ गरेको थियो। त्यसपछि जिल्ला अदालत ल्याउन स्थलमार्गको प्रयोग गर्नुदेखि लिएर अन्य गतिविधिहरूले समेत यस प्रकरणलाई सत्तामा पुगेका व्यक्तिको प्रतिशोधका रूपमा चित्रित गरेको सर्वसाधारणको बुझाइ छ। 

कान्तिपुरको कार्यालयबाट सिरोहियालाई पक्राउ गर्ने बेला प्रहरीले उनको निजी गाडीमै बसाएर निकालेको थियो तर, सहरबाट बाहिरिनेबित्तिकै नेपाल पुलिसको बागमती प्रदेश ०१–००२ झ ६०७९ नम्बरको गाडीमा बसाएर जनकपुरसम्म ल्याएको हो। 

‘बाटोमा खाना खान र यसो फ्रेस हुन केहीबेर गाडी रोकेको थियो। त्यसपछि बिहान ५ बजे जनकपुर आएर सोझै गाडी रोकियो,’ सिरोहियासँगै अर्को गाडीमा बसेर जनकपुरसम्म आएका अधिवक्ता रमण कर्णले अन्नपूर्णसँग भने, ‘उहाँसँग प्रहरीले केही नराम्रो व्यवहार गर्ने कुनै कारण छैन। किनभने, उहाँले अनुसन्धान प्रक्रियामा पूर्ण सहयोग गर्नुभएको छ।’

सिरोहियासँग काठमाडौंबाट कान्तिपुरका सम्पादकसहित उनका परिवारका सदस्यहरू पनि जनकपुर आइपुगेका हुन्। काठमाडौंबाट जनकपुर आउन हवाईमार्ग प्रयोग गर्दा २५ मिनेटको समय मात्रै लाग्छ। हवाई यात्राका लागि यस मार्गमा दैनिक ९ वटा जहाज ओहोरदोहोर गर्छन्। तर, सिरोहियालाई मानसिक तनाव दिनकै लागि प्रहरीले स्थलमार्गको प्रयोग गरेको सञ्चारकर्मीहरूको बुझाइ छ। जनकपुर टुडेका सम्पादक तथा वरिष्ठ पत्रकार बृजकुमार यादव यसलाई मनोवैज्ञानिक यातनाका रूपमा लिन्छन्। 

‘हामीले शान्तिसुरक्षा कायम गर्न नियमित प्रक्रिया अपनाएका हौं,’ धनुषाका प्रहरी उपरिक्षक भुवनेश्वर तिवारीले भने, ‘कुनै अप्रिय घटना नहोस् भनेर सावधानी मात्रै अपनाइएको हो।’ 

तर, प्रहरीको यस्तो गतिविधिले अनावश्यक त्रास र भयको अवस्था सिर्जना गरेर तनावको माहौल बनाएको उद्योग वाणिज्य संघ जनकपुरका अध्यक्ष जितेन्द्र महासेठ बताउँछन्। ‘एकातर्फ देशमा उद्योग व्यापार धराशायी बनेको छ। अर्कोतर्फ जसले लगानी गरेको छ र लोकतन्त्रलाई संस्थागत गर्न पत्रकारितालाई मूल प्रवाहमा ल्याएको छ, त्यस्ता व्यक्तिलाई निशानामा पारेर पक्राउ गर्नु कदापी उचित होइन,’ महासेठले भने, ‘राज्यपक्षको यो दमनकारी व्यवहारले लोकतन्त्रको उपहास गरेको छ।’

कैलाश सिरोहियासँग दोहोरो नागरिकता रहेको भन्दै वैशाख १६ गते जिल्ला प्रहरी कार्यालय धनुषामा सर्लाहीका इन्द्रजित महतोले जाहेरी दिएका थिए। जाहेरी दिने महतो गृहमन्त्री रवि लामिछाने सभापति रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका मधेस प्रदेश कार्यसमितिका सदस्य हुन्। 

महतोकै उजुरीको आधारमा जिल्ला अदालत धनुषाले सिरोहियालाई पक्राउ गर्न प्रहरीलाई आदेश दिएको थियो। उनलाई पक्राउ गर्नुपर्ने आधार र कारणमा प्रहरीले सिरोहियाले जिल्ला प्रशासन कार्यालय धनुषाबाट ३९६९८८८६ नम्बरको नेपाली नागरिकता प्रमाणपत्र लिएको तर, निजले नागरिकता लिनुपूर्व नै उक्त नम्बरको नागरिकता शिवजी साहु तेलीको नाममा जारी भएको भनी उल्लेखित छ। तर, यसरी नागरिकता नम्बर दुई ठाउँमा प्रयोग हुनुमा नागरिकता बाहकभन्दा पनि नागरिकता दिने कर्मचारीको दोष रहेको स्थानीयवासीको ठम्याइँ छ। 
 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.