कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध पक्राउ पुर्जी
काठमाडौं : कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। जिल्ला अदालत धनुषाले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो। सिरोहियाको नागरिकताको विषयलाई लिएर जिल्ला प्रहरीमा उजुरी परेपछि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो।
अध्यक्ष सिरोहियाले मंगलबार विज्ञप्ति जारी गर्दै कानुनअनुसार हुने हरेक अनुसन्धानमा सम्पूर्ण सहयोग गर्न एक जिम्मेवार नागरिकका रूपमा तयार रहेको बताएका छन्। तर, राज्य शक्तिको दुरुपयोग गरेर कुनै प्रतिशोध र हस्तक्षेपबाट आफू अध्यक्ष रहेको कान्तिपुर मिडिया ग्रुप किञ्चित् पनि विचलित नहुने उनको भनाइ छ।
सहकारीका ७१ लाख सदस्य तथा बचतकर्ताको पसिनाको कमाइ सुरक्षित गर्न यसमा ठगी गर्नेहरूमाथि अनुसन्धान र कारबाही हुनुपर्ने आवाज उठाउनु कुनै पनि सञ्चारमाध्यमको जिम्मेवारी भएको अध्यक्ष सिरोहियाले स्मरण गराएका छन्। सहकारी ठगीलगायत हरेक बेथितिका विषयमा समाचार लेख्ने कर्तव्यबाट कान्तिपुर एक इन्च पनि पछि नहट्ने उनले भनेका छन्।
त्यस्तै नेपाल मिडिया सोसाइटीले कान्तिपुरले प्रमुखताका साथ समाचार बनाएको झोंकमा गृहमन्त्री रवि लामिछानेले प्रतिशोध साधेको भन्दै भर्त्सना गरेको छ। सोसाइटीका अध्यक्ष शुभशंकर कँडेलले विज्ञप्ति जारी गर्दै भनेका छन्, 'व्यक्तिगत रिसइबी र इगो साध्ने हतियारका रूपमा आफ्नो मातहतको निकायलाई दुरुपयोग गरी कथित नागरिकताको कमीकमजोरीको प्रचारबाजी र जाहेरी दर्ता गर्न लगाएर पक्राउ पुर्जी जारी गरेको घटनाको हामी घोर निन्दा र भर्त्सना गर्दछौं।'