अरनिको राजमार्ग मर्मत सम्भारका लागि चार अर्ब ४६ करोड माग
सिन्धुपाल्चोक : अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको बन्देउदेखि चीन सीमाना लिपिङसम्मको सडक मर्मत एवं स्तरोन्नति गरिने भएको छ।
सडक डिभिजन कार्यालय चरीकोटले सडक मर्मत एवं स्तरोन्नतिका लागि सरकारसँग चार अर्ब ४६ करोड रुपियाँ बजेट मागको प्रस्ताव गरेको छ। उक्त सडकखण्ड मर्मत एवं स्तरोन्नतिका लागि सडक डिभिजन कार्यालयले राष्ट्रिय योजना आयोगमा आवश्यक रकम, जनशक्तिलगायतका प्रस्ताव पेस गरेको छ।
प्रस्तावित बजेटमा सहमति कायम भएर अर्थ मन्त्रालयबाट रकमसमेत निकासा हुने कुरामा आशावादी रहेको डिभिजन प्रमुख अमितकुमार श्रेष्ठले बताए।
भौगोलिक हिसाबले बाह्रबिसे–लिपिङसम्मको कोदारी राजमार्ग जटिल स्थान हो। सडक डिभिजनको प्रस्तावमा उक्तखण्डमा दायाँबायाँ ३० मिटर मात्रै सडक क्षेत्राधिकार कायम गर्ने उल्लेख गरिएको छ। विगतमा उक्त खण्डमा ५० मिटर क्षेत्राधिकार तोकिएको थियो। उक्त सडकखण्डको भौगोलिक अवस्था अत्यन्तै जोखिम भएकाले सडक सीमा घटाएको हो। सो खण्डको सडक चौडा गर्न भूगोलको अवस्था कमजोर भएकाले हालका लागि बढीमा ९ दशमलव ४५ मिटर सडक चौडा र कालोपत्रे निर्माण गरिने प्रस्ताव पेस गरिएको डिभिजन प्रमुख श्रेष्ठले बताए।
बन्देउदेखि लिपिङसम्मको सडकखण्ड मर्मत एवं स्तरोन्नति गर्न सडक डिभिजन लागेपछि लिपिङ, तातोपानी, खोकुण्डोल, चाकु, बसेरी, बाह्रबिसे, लामोसाँघु, खाडीचौर, अँधेरी, कोठे, बलेफी, भैंसे, सुकुटे, चेहेरलगायतका सडक किनाराका स्थानीयको निजी आवास भत्किने अवस्था आउँछ तर स्थानीयले भने सरकारले उचित मुआब्जा र बैङ्क फुकुवा गरेमा सडक मर्मत एवं स्तरोन्नतिका लागि आफूहरू बाधक नबन्ने बताउँदै आएका छन्। सडक डिभिजन कार्यालयले सडक किनाराका स्थानीयसँग सहमति गरेर मर्मत एवं स्तरोन्नतिका काम गर्ने जनाएको छ।
प्रतिक्रिया दिनुहोस !