गिरोनासँग रियल मड्रिड पराजित, उपाधि दौडमा धक्का
काठमाडौं : स्पेनिस ला लिगा फुटबल अन्तर्गत गत सिजनको उपाधि विजेता रियल मड्रिडलाई धक्का लागेको छ । आइतबार राति भएको खेलमा गिरोनासँग २-१ को हार व्यहोर्दा रियलको उपाधि दौडमा धक्का लागेको हो । खेलमा सुरुवाती अग्रता भने रियल मड्रिडले बनाएको थियो । खेलको १२ औं मिनेटमा इस्कोले गोल गरी रियल मड्रिडलाई अग्रता दिलाएका थिए ।
पहिलो हाफसम्म १-० ले अघि रहेको रियल मड्रिड दोस्रो हाफमा ४ मिनेटको अन्तरमा लगातार २ गोल खान पुग्दा हारको भागीदार बन्यो । गिरोनाका लागि ५४ औं मिनेटमा स्टुनीले गोल गरे भने ५८ औं मिनेटमा पोर्चुले गोल गरे ।
हारपछि १० खेल खेलेको रियल मड्रिड २० अंकसहित तालिकाको तेस्रो स्थानमा रहेको छ । शीर्ष स्थानको बार्सिलोनाभन्दा ८ अंक र दोस्रो स्थानको भ्यालेन्सिया भन्दा ४ अंकले पछि परेको छ ।
आइतबार राति नै भएका ला लिगाका अन्य खेलमा गेटाफेले रियल सोसाइडडलाई २–१ ले पराजित ग¥यो भने मालागाले पनि सेल्टा भिगोमाथि २–१ कै जित निकाल्यो । एइबर र लेभान्टेले २–२ को बराबरी खेले ।