जात्राम भोट माग्दै उम्मेदवार

जात्राम भोट माग्दै उम्मेदवार

बैतडी :बैतडीका विभिन्न शक्तिपीठ तथा मन्दिरमा जात्राको रौनक जारी छ । प्रदेशसभा तथा प्रतिनिधिसभाका सदस्यका उम्मेदवारहरू भोट माग्न जात्रामै पुग्न थालेका छन् । जात्रामा एकैपटक धेरै व्यक्तिसँग भेट हुने भएकाले उम्मेदवारले भोट माग्ने शैली फेरेका हुन् । जात्रामा भोट माग्न उम्मेदवारहरू नेता/कार्यकर्तासहित पुग्ने गरेको स्थानीयवासीले बताएका छन् ।

 ‘नेताहरू जात्रामा आएर भोट दिन आग्रह गरिरहेका छन्', त्रिपुराका गणेशसिंह थापाले भने, ‘त्रिपुरासुन्दरी भगवती मन्दिरको मेलामा आएकाहरूसँग उम्मेदवारहरूले भोट मागेका छन् ।' जात्रामा एकैपटक धेरै मतदाता भेटिने भएकाले उनीहरूसँग भेट गरी भोट दिन आग्रह गरेको प्रतिनिधिसभा सदस्यका लागि लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नरबहादुर चन्दले बताए । ‘मन्दिरमा लाग्ने जात्रा हाम्रा सांस्कृतिक धरोहर पनि हुन् । गाउँका प्रत्येक मानिस जात्रामा भेटिन्छन्', उनले भने, ‘उनीहरूसँग मैले आफ्नो उम्मेदवारीका विषयमा कुरा राखें ।


‘निर्वाचनको बेलाजस्तै अरू बेला पनि नेताहरू गाउँ पसे विकास हुन बेर लाग्ने थिएन ।' द्रोपती चन्द, पाटन नगरपालिका

नागरिकसँग सामूहिक रूपमा भेट्न पाउँदा मलाई ज्यादै खुसी लाग्यो ।' अहिले लोकतान्त्रिक र वाम गठबन्धनका उम्मेदवार आआफ्ना पक्षमा मत तान्ने प्रयासमा छन् । ‘जिल्लाको प्रसिद्ध शिवनाथ मन्दिरको जात्रामा सहभागी भयौं । तल्लो सोराडका धेरै मतदाता एकै ठाउँमा भेटिए । भोट पनि मागें । सँगै ड्यौडा पनि खेल्यौं', वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार दामोदर भण्डारीले भने, ‘जात्राको समयमा अन्य ठाउँमा गएर पनि मत माग्ने तयारी गरिरहेका छौं ।'

कार्तिक शुक्ल पक्ष प्रतिपदादेखि पूर्णिमासम्म विभिन्न मन्दिरमा लाग्ने जात्रामा गएर भोट माग्ने कार्यलाई निरन्तरता दिने उम्मेदवारहरूले बताएका छन् । दुवै गठबन्धनका उम्मेदवारले पुरचौडी नगरपालिकाको राताशिला मन्दिरमा हरिबोधनी एकादशीमा लाग्ने जात्रामा गएर मत माग्ने तयारी गरिहेका छन् ।

राताशिला मन्दिरकै जात्राबाट निर्वाचन प्रचारको सुरुआत गर्ने योजना बनाएको विवेकशील साझा पार्टीबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार नारायणदत्त अवस्थीले बताए । ‘सबैका घर-घरमा जान सम्भव नभइरहेका बेला जात्राले सबैसँग भेटघाट गर्ने अवसर जुराउँछ', उनले भने, ‘आफ्नो उम्मेदारीका बारेमा जात्रामै भेटिएका नागरिकसँग कुरा राख्छु ।'

जात्राको रौनकसँगै उम्मेदवारहरूका कुरा सुन्न पाउँदा रमाइलो लागेको त्रिपुरासुन्दरी जात्रामा भेटिएका दीपकराज ओझाले सुनाए । ‘यसपटकको जात्रा निर्वाचनका कारणले फरक भयो', उनले भने, ‘पूजापाठका साथै राजनीतिक कुराकानी पनि भयो । उम्मेदवारहरूसँग आफ्ना कुरा पनि राख्न पायौं ।' जात्राकै अवसरमा आयोजना हुने ड्यौडा खेलमा पनि निर्वाचनका कुरा हुने गरेका छन् । विगत वर्षका ड्यौडामा मायाप्रीति, सुख–दुःखका गीत भन्ने गरे पनि यो वर्ष राजनीतिक गीत सुनिएको मणिलेक मावि मेलौलीका प्राचार्य देवदत्त कलौनीले बताए । ‘ड्यौडाको विशेषता भनेकै समसामयिक विषयमा गीतमार्फत छलफल गर्नु हो', उनले भने, ‘निर्वाचन नजिक आएकाले स्वाभाविक रूपमा निर्वाचनको विषय ड्यौडा खेलमा उठेका छन् । यसले नागरिकमा राजनीतिक सचेतनाको विकाससमेत भएको पाइन्छ ।'

शिवनाथको मेलामा ड्यौडा खेलेरै भोट मागेको उम्मेदवार भण्डारीले सुनाए । भने, ‘सबै नागरिक भेला भएर ड्यौडा खेलिरहेका थिए । म पनि सहभागी भएँ । ड्यौडामार्फत नै भोट दिन आग्रह गरें ।' हरिबोधनी एकादशीको दिन त्रिवेणीधाम (राताशिला) मन्दिरमा लाग्ने जात्रामा हुने ड्यौडामा लोकतान्त्रिक गठबन्धनका उम्मेदवार सहभागी हुने नेपाल विद्यार्थी संघका जिल्ला सदस्य दीपक बमले बताए ।

खरबारीमै पनि उम्मेदवार

एकातिर जात्राको रौनक छ भने अर्कोतिर कामको चटारो छ । यहाँका महिला हिजोआज खर काट्न व्यस्त हुने भएकाले भोट माग्न उम्मेदवार खरबारीमै पुग्ने गरेका छन् । महिलाहरूले सामूहिक रूपमा खर काट्ने भएकाले ‘खर फागला'मै गएर भोट माग्ने गरेको कांग्रेस बैतडीका सचिव वीरबहादुर विष्टले बताए । ‘काम गरिरहेकै ठाउँमा आएर नेताहरूले भोट माग्दा निकै खुसी लाग्यो ।

यसबाट नेताहरूले हाम्रा समस्या समाधानका लागि केही गर्लान् कि जस्तो लागिरहेको छ', पाटन नगरपालिका-१, सकारकी द्रोपती चन्दले भनिन्, ‘निर्वाचनको बेलाजस्तै अरू बेला पनि नेताहरू गाउँ पसे विकास हुन बेर लाग्ने थिएन ।' नागरिकको घरदैलोदेखि लिएर उनीहरूले काम गरिरहेकै ठाउँबाट भोट मागिरहेको लोकतान्त्रिक गठबन्धनबाट प्रदेशसभा सदस्य उम्मेदवार हरिमोहन भण्डारीले बताए ।

भने, ‘जनताले काम गरेकै ठाउँमा जाँदा उनीहरूका समस्या बुझ्न झन् सजिलो हुन्छ । त्यसैले काम गरिरहेकै ठाउँबाट भोट माग्ने काम गरिरहेका छौं ।' गाउँघरमा कामको चटारो रहेकाले काम गरिरहेकै ठाउँमा गएर भोट मागिरहेको वाम गठबन्धनका तर्फबाट प्रदेशसभा सदस्य उम्मेदवार प्रेमप्रकाश भट्टले बताए।



प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.