खेल्दा होस गर  शरीरमा सिसा पस्ला है

खेल्दा होस गर  शरीरमा सिसा पस्ला है

भाइबहिनी हो, तिमीहरू स्वास्थ्यप्रति कत्तिको सजग छौ ? ‘स्वास्थ्य नै धन हो' भनेर तिमीहरूले पढेकै छौ । त्यसैले सजग छैनौं भने आजैका दिनदेखि सजग होऊ । जब रोगले आक्रमण गर्न थाल्छन्, तबमात्र तिमीहरूले थाहा पाउनेछौ, स्वास्थ्य हुनु किन धन हो भनेर । पक्कै पनि तिमीहरू कहिलेकाहीँ बिरामी त परेकै होलाऊ । रोग लाग्दाको पीडा त पक्कै बुझेकै छौ होला । रोग लागेर औषधिमूलो गर्नुभन्दा रोग लाग्नै नदिनु जाति हो । यो वाक्यलाई गहिरिएर मनन् गर अनि आजैदेखि खाँदा होस् या खेल्दा, धेरै कुरामा ध्यान देऊ है ।

 लिडयुक्त पेन्ट उन्मूलनका निम्ति अन्तर्राष्ट्रिय सञ्जालद्वारा यही कात्तिक ५ देखि ११ गतेसम्म लिड (सिसा) को विषबाट बचाउन संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रम (यूएनईपी) तथा विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को संयुक्त तत‍्वावधानमा विश्वव्यापी रूपमा हरेक वर्ष अन्तर्राष्ट्रिय सचेतना सप्ताह मनाउने गरिन्छ । केही वर्षयता नेपालमा पनि यो सप्ताह मनाइने गरिएको छ ।

तिमीहरूलाई थाहा छ, यो वर्षको नारा के हो ? ‘लिडमुक्त बालबालिका, स्वस्थ्य भविष्यका लागि (लिड फ्रि किड्स फर अ हेल्दी फ्युचर) भन्ने मुख्य सन्देशसहित विश्वव्यापी रूपमा मनाइयो । नेपालमा पनि यो साता बालबालिकाको स्वास्थ्य एवं भविष्य जोगाउन लिडयुक्त पेन्ट उन्मूलन र प्रतिबन्धका लागि सरकारी मापदण्डको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिइयो ।

पछिल्ला वर्ष अझ राजधानी र सहरमा बस्ने हामीले स्वास्थ्य जोगाउन सक्नु अर्थात् निरोगी भएर बाँच्नु अत्यन्तै चुनौतीपूर्ण विषय बनेको छ । तिमीहरूले पनि पाठ्यक्रमका अलावा यस्ता गम्भीर विषयलाई ध्यान दिएर बुझ्नु र जीवनमा अपनाउनुपर्छ । विश्व स्वास्थ्य संगठनले लिड (सिसा) लाई विश्वव्यापी रूपमा जनस्वास्थ्यलाई असर पुर्‍याउने प्रमुख १० रसायनमध्ये एक प्रमुख घातक रसायन हो भनेको छ ।

चिकित्सकका अनुसार, मानव शरीरमा लिडको कुनै सुरक्षित मात्रा हुँदैन । लिडले मानिसको अझ खासगरी बालबालिकाको शारीरिक, मानसिक एवं बौद्धिक विकासमा असर पुर्‍याउँछ । विश्व परिवेशको यो तथ्यांक पढ त, ‘लिडको सम्पर्कबाट हुने दीर्घकालीन स्वास्थ्यसम्बन्धी समस्याहरूले बर्सेनि सरदर आठ लाख मानिसको मृत्यु हुने गरेको छ ।'

लिडले मानिसलाई बौद्धिक अशक्त बनाउँछ । मानसिक रूपमा विविध समस्या भोग्न बाध्य तुल्याउँछ अनि शारीरिक रूपमा काम फटाफट गर्न नसक्ने अवस्थामा पुर्‍याउँछ । विश्वमा जति पनि बौद्धिक अशक्त छन् तीमध्ये ९.३ प्रतिशत मानिस लिडका कारणबाट भएको तथ्य फेला परेको छ । यस्तै मुटुसम्बन्धी रोग ४.० प्रतिशत, पक्षघात ६.६ प्रतिशत मानिसलाई प्रभावित तुल्याएको छ ।

नेपालमा लिडको सम्पर्कबाट पाँच वर्षमुनिका बालबालिकामा हुने असरबाट बर्सेनि एक खर्ब ५३ अर्ब रुपैयाँ बराबरको आर्थिक क्षति भइरहेको अनुमान गरिएको छ । जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्र र लिडर्स नेपालले नेपालमा प्रयोग हुने १८ पेन्ट्स उद्योगका ३७ रङ अध्ययन गर्दा इन्डिगो, बर्गर, यति, रिलाइन्स, सालिमार, सालिमार इन्डिया, कन्साई नेपाल पेन्ट, इन्डियन पेन्टस र अमेरिकन पेन्टस् द एन्डर्सन आठवटा रङले मापदण्ड नाघेको फेला पारेको छ । यसैगरी एसियन र पशुपति पेन्टस् र नेपाल पेन्ट उद्योगका रङमा पनि लिड बढी भएको पाइएको छ ।

घर र विद्यालयको बस (पहेँलो)मा समेत यस्ता रङ लगाइने हुँदा छुने र खेलाउने गर्न हुँदैन । विद्यालयमा खेल्दा बिछ्याइने हरियो दूबोजस्तो कार्पेटमा लिड बढी हुने अध्ययनले देखाएको छ । यस्तै तिमीहरू बस्ने डेस्क, बेञ्च र कुर्सी आदिबाट पनि शरीरमा लिड प्रवेश गर्छ । केन्द्रको अध्ययनअनुसार, विद्यालयभित्रको धुलो, खेलौनाहरू आदिमा लिड पाइन्छ । आजैदेखि सचेत होऊ र स्वास्थ्य जोगाऊ है ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.