रुपन्देहीमा डेंगुको संक्रमण, करिव चार सय जनामा संक्रमण
बुटवल: रुपन्देहीमा झण्डै चार सय जनामा डेंगु संक्रमण भएको भेटिएको छ। पछिल्लो २० दिनमा मात्रै ३ सय ५० बढीमा डेंगु संक्रमण भएको जनस्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ।
असोज २९ गतेसम्म १ जनामा डेंगु संक्रमण भएको थियो। जनस्वास्थ्य कार्यालयका प्रमुख केयरसिंह गोदारले भने–‘नियन्त्रणको प्रयास भइरहदा पनि संक्रमण फैलिराखेको छ, यो क्रम नरोकिए भयावहको स्थिति हुन सक्छ।’
रुपन्देहीमा ६ वर्षअघि पहिलो पटक डेंगु संक्रमणका विरामी भेटिएका थिए । सो वर्ष तीन सय जनालाई संक्रमण भएको थियो भने ४ जनाले ज्यान गुमाएका थिए। यो वर्ष दुई जनाको ज्यान गइसकेको छ।
बुटवलको तिनाउ नदी आसपासका क्षेत्रमा बढी संक्रमण देखिएको जनस्वास्थ्य कार्यालयले जनाएको छ । बुटवलका अस्पतालहरुमा मात्रै उपचार गराइरहेका बिरामीको संख्या ३ सय ८९ हो । यहाँ उपचार नगरी केही बिरामीहरु सिधै काठमाण्डौं पुग्ने गरेका छन्।
डेंगु नियन्त्रणका लागि बुटवल उपमहानगरपालिका र जनस्वास्थ्य कार्यालयले ‘खोज र नष्ट गर’ अभियान चलाइरहेका छन् । बुटवल उपमहानगरपालिकाकी उपप्रमुख गुमादेवी आचार्यले नगर भित्रका २१ हजार भाडा नष्ट गरिएको जनाइन्। ‘९८ हजार २ सय भाडा चेकचाज गरी २१ हजार नष्ट गरेका छौं, उनले भनिन्–‘नगरवासीलाई नियमित सचेत गराउने काम भइरहेको छ ।’
डेंगुको संक्रमण पुस महिनासम्म नै लामखुट्टे सक्रिय हुने भएकाले रुपन्देहीमा यसको जोखिम रहेको छ । जनस्वास्थ्य कार्यालय भेक्ट्रल कन्ट्रोल निरीक्षक केदार शाहले भने,–‘पछिल्ला दिनहरुमा संक्रमणको दर निकै बढेको छ । नागरिकहरु सचेत नभए नियन्त्रणमा कठिन छ ।’
डेंगुको संक्रमण बढेपछि रगतको अभाव समेत हुने गरेको छ । दैनिक ८० पोकासम्म रगत माग हुने गरेको रक्तसञ्चार केन्द्रले जनाएको छ ।
लुम्बिनी अञ्चल अस्पताल, युनिभर्सल मेडिकल कलेज, बुटवल हस्पिटल लगायतका स्वास्थ्स्य संस्थामा डेंगुका बिरामी उपचारमा रहेका छन् । कतिपयलाई काठमाण्डौं पठाइएको लुम्बिनी अञ्चल अस्पतालले जनाएको छ ।
महामारीका बेला कालोबजारी
डेंगुको संक्रमितको संख्या बढ्दै जाँदा मेडिकल ल्याबहरुले अचाक्ली रकम असुल्ने गरेको भेटिएको छ । मेडिकल ल्याब्रोटरी एसोसिएन रुपन्देहीले डेंगुको परीक्षणमा एक हजार ५० शुल्क लिने निर्णय गरेको छ । तर ल्याबहरुले तीन हजारसम्म असुल्ने गरेका छन् । सरकारी अस्पतालहरुमा निशुल्क पाइने परीक्षण सर्वसाधारणहरु चर्को शुल्क तिरेर निजीमा चेकजाच गराउन जाने गरेका छन।