नानीहरू के पढिरहेका छौ ?

नानीहरू के पढिरहेका छौ ?

 

कुरा २०१८ सालतिरको हो । त्यतिबेला म काठमाडौंकै बालसेवा विद्यालयमा हेडमास्टरको काम गर्थें । विद्यालयमा पहिलो पटक मैले बालसाहित्यको पत्रिका प्रकाशन गरेँ । त्यतिमात्रै होइन, मैले स्वास्थ्य र विज्ञानका विषयलाई कक्षा दुईदेखि नै अनिवार्य गरिदिएँ । त्यो ताका यति सानै कक्षामा यी विषयहरू कतै पनि पढाइन्नथियो । मेरो जन्म १९९१ सालमा काठमाडौंको झोंछेमा भयो । नजिकै रहेको न्युरोडमा थियो म पढ्ने विद्यालय जुद्धोदय पब्लिक स्कुल । हाल नेपाल बैंक रहेको ठाउँमा त्यतिबेला राणाहरूको तबेला थियो ।

shantaत्यही तबेला नै थियो हाम्रो विद्यालय । साहित्यमा लाग्ने व्यक्तिले सानैदेखि लेख्न थालेका हुन्छन् भन्नेमा मलाई विश्वास लाग्दैन । सानैमा सार्ने काम गर्छौं । तर सार्नु पनि लेख्नु नै हो । सानैमा लेख्नुपर्छ भन्ने जरुरी नभए पनि साहित्यिक भावना भने विकास हुनुपर्छ । यो भावना विकास गर्न आमाबाबु र शिक्षकहरूले बालबालिकालाई रेखदेख पनि गर्नुपर्छ । मानिस हुर्कंदै जाने क्रममा उसले भोग्ने दुःख, शोषणलगायतका विषयले उसलाई संसार चिनाउँछ र लेखनमा पनि रुचि जगाउँछ ।

हामीले खाना खाँदा स्वास्थ्यलाई हानि नहुने, मन र शरीर स्वस्थ हुने र बुद्धि बढ्ने खाना खानुपर्छ । यसैगरी पढाइका सन्दर्भमा पनि बालबालिकाले आफ्नो मन र शरीर स्वस्थ हुने खालको किताब पढ्नुपर्‍यो । हानि हुने किसिमले पढ्नु हुँदैन । हिजोआज हामी बालबालिका धेरै कम्प्युटरमा मात्रै झुन्डिन थाले भन्ने गुनासो गर्छौं । तर वैज्ञानिक रूपमा सोच्ने हो भने कम्प्युटरको ज्ञान आजको ठूलो आवश्यकता हो ।

कम्प्युटरले गर्दा नै अमेरिकामा बसेर चीनको बजारमा खुलेको सेयर र सामान किन्न सकिने भएको छ । संसारमा के भएको छ यहीँ बसेर हेर्न पाइन्छ । त्यसैले आफ्ना छोराछोरीलाई कम्प्युटरमा मात्रै बस्छ भनेर कहिले भन्नुहुँदैन । तर त्यहाँ बसेर उसले त्यसको सदुपयोग कत्तिको गरेको छ भनेर हेर्ने काम चाहिँ हामीले गर्नुपर्छ । आफ्नो मगज, मन र शरीर नबिग्रिने गरी कम्प्युटरको प्रयोग गर्न आमाबाबु र गुरुहरूले सिकाउनुपर्छ ।

लेनग्रिन नाम गरेकी एक स्विडेनी लेखिकाले आफ्नो कृति ‘पीपी लङ स्टकिङ’मा एक पात्रलाई उल्लेख गरेकी छिन् । ती पात्रको आमा सानैमा बितेकी हुन्छन् । बाबा कुनै देशका राजा हुन्छन् । तर कहाँका हुन् भन्ने उनलाई पत्तो हुँदैन । यति हुँदा पनि आफूलाई खटनपटन गर्ने कोही नभएकाले उनलाई धेरै मज्जा आउँछ । यसरी अरनखटन नगरिकन अरनखटन गर्न जान्नुपर्छ ।

यो बालसाहित्यको भाषाबाट मात्रै सम्भव हुन्छ । बालसाहित्य पढेपछि बालबालिकालाई कुनै पनि हिसाबमा अलिकति पनि चित्त नदुख्ने गरी उनीहरूलाई सम्झाउन सक्नुपर्छ । बालसाहित्य लेख्नु भनेको बालबालिकालाई हुर्काउन जान्नु हो । बालबालिकालाई गाली गर्ने व्यक्ति बालसाहित्यकार हुन सक्दैन । हाम्रा अभिभावक पनि कहिलेकाहीँ यसो भन्नुहुन्छ, ‘विद्यालयकै पढ्नुपर्ने पुस्तकहरू थुप्रो छ । अस्तिमात्रै त्यतिका किताब किनिदिएका छौं त्यही पढ्न भ्याएको छैन ।

चाहिँदैन बालसाहित्य साहित्यका अरू पुस्तकसुस्तकहरू ।’ उहाँहरूका कुरा सहीजस्तो त लाग्ला तर सही भने पटक्कै होइन । हेर्नोस् त, हामी जहाँ बसे पनि सास फेर्छौं नि, हैन र ? तर पनि हामी बिहान किन सफा हावा खान भनी खुला चौर तथा बगैंचातिर नै पुग्छौं ? जसरी हामी सफा हावा तान्न खुला आकाशमुनिका चौरसम्म पुग्छौं, त्यसरी नै हामीले बनाएका बालपुस्तकहरूलाई खुला चौरसमान सम्झेर तीनलाई लिऊन् र पढिदिऊन् भन्ने हाम्रो चाहना हो । साना नानीहरूले हातमा लिएर पुतलीको खेल खेलिरहेको त देख्नुभएकै होला । एक्लै, पुतलीसित कुरा गर्दै उनी खेलिरहन्छिन्, हैन त ?
पुतलीले बोल्दैन, तर पनि साना नानी उसित कुरा गर्न थाक्दैनन् । बालसाहित्यका पुस्तकहरूलाई बालबालिका यसरी नै पढ्छन्, आफैं अघि सरेर पढ्छन्, कसैले पढ् पढ् भनिरहनुपर्ने नभइकन पढ्छन्, रमाउँदै पढ्छन्, नथाकिकन पढ्छन् । त्यसैले हामीले तिनलाई पुस्तकमात्रै नभनेर बालपुस्तक भनेका हौं । हामीहरू के कुरा पनि मान्छौं भने बालसाहित्यका पुस्तक पढेर बालबालिका थाक्छन् भने ती राम्रा बालपुस्तक कसरी हुन सक्लान् ?

बालसाहित्यका पुस्तकहरू पढ्न पाउँदा एकजना नानीले आफूभित्र आदर पाइरहेको महसुस गरून्, उनका आफ्नै राम्रा गुणहरूको बखान गरिएको पाऊन् र पढ्दापढ्दै गौरवान्वित हुन पाऊन् । जंगलमा रहेका सबै थरीका जडीबुटी उत्तिकै महत्वपूर्ण हुन्छन् । तर तिनलाई आफ्नो रोग हेरेर कुन खाने भन्ने निर्णय गरिन्छ । यसरी नै कुनै पनि बालसाहित्यका पुस्तक रोज्दा, बालबालिकाको रुचि नै पहिलो प्राथमिकतामा पर्छ । बालबालिकालाई पढ्ने बानी लगाउन पनि त्यति सजिलो छैन ।

जानेबित्तिकै कोही पनि सगरमाथामा पुगेको थिएन । हिँडे फर्के, हिँडे फर्के, कति हिँडेर मरे, कति फर्के र बल्ल गएर एकजना सगरमाथामा पुगे । अझै कति जान खोज्छन् भने कति फर्केर आइसके । त्यसैले बालबालिकालाई पढ्ने बानी बसाल्न पनि यसो गरेर होला कि उसो गरेर होला कि भनेर हामीले धेरै प्रयत्न गर्नुपर्छ । सानो नानीलाई आमाको कुरा बुझ्न कुनै भाषा चाहिँदैन ।

बालसाहित्यका भाषा पनि आमाका कुरा जस्तै हुनुपर्छ । जुनसुकै भाषाका किताब पनि बालबालिकाले पढ्नुपर्छ । संसारको कुरा जतिसक्दो चाडै थाहा पाउन अंग्रेजी पढ्नुपर्छ । मेरो टोलमै रहेको विद्योदय आधारभूत विद्यालयमा म अध्यक्ष छु । सातामा तीनचार पटक त्यहाँ गएर विद्यार्थीलाई कविता सुनाउने गर्छु । त्यहाँ पुग्नासाथ उनीहरूले गरुन् कि नगरून् म पहिले नमस्कार गरिहाल्छु ।
त्यसैले उनीहरूले पनि मलाई नमस्कार गरिहाल्छन् । त्यसैगरी कसैले मद्दत गर्‍यो भने धन्यवाद भन्न सिकाउँ । यस्ता राम्रा संस्कारहरू हामीले सिकाउनु पर्‍यो । आज काठमाडौं प्रदूषित भएको छ । प्रदूषण गर्ने व्यक्तिले जिम्मा लिएको भए यस्तो हुन्थ्यो त ? देश बिग्रियो नेताहरूले जिम्मेवारी नलिनाले । त्यसैले अब हामीले बनाएर देखाउनुपर्‍यो । कमसेकम एकजनाले एक ठाउँमा बनाएर देखाए पनि देशको अवस्था सुधार हुँदै जानेछ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.