आश्वासन
सरकारले निर्वाचनको मिति तोकेपछि त्यसको प्रभाव गाउँगाउँमा पनि विस्तारै पर्दै थियो । गाउँमा पार्टीका नेता आउन र कार्यक्रम गर्न थालेका थिए । केटाकेटीहरू तिनै राजनीति गर्ने मान्छेको कुरा र क्रियाकलापप्रति जिज्ञासा र अनुकरणमा तल्लीन हुन थालेका थिए ।
खै केको भूत सवार भएर हो कुन्नि पासाङ, नन्दे र आइतरानीहरूको मगजमा पनि स्कुल र किताबको साटो झन्डा र नाराले ठाउँ पाउन थाल्यो । एक त उनीहरू स्कुल जानै मन गर्न छाडे, अनि गइहाले भने पनि कहाँ कहाँका राजनीतिका कार्यक्रमका रमिते बन्न पुग्न थाले । यता स्कुलमा भने दोस्रो त्रैमासिक परीक्षा आउनै लागेको थियो तर त्यसमा वास्ता कसैको थिएन । उनीहरू बिहान उठेर पढ्ने लेख्ने कुरामा ध्यानै दिँदैनथे । समूह बनेर घरीघरी एउटा र अर्काका घरमा चहारिरहन्थे । नत्र टोलभरिका मिलेर खेलेरै मात्र पनि दिन बिताउँथे ।
हिजोआज उनीहरूको खेल पनि नयाँ प्रकारको हुन थालेको थियो । खेल्दा उनीहरूका टाउकामा रुमाल बाँधिएको हुन्थ्यो, कसैका हातमा सानासाना कपडाका झुत्ता झन्डाझैं बनेका हुन्थे, अनि कसैले चाहिँ बाँसका भाटा बोकेका हुन्थे । खेलखेलमै उनीहरूमध्ये कोही नेता पनि हुन्थ्यो । त्यसलाई उनीहरूले अबिर र माला लगाइदिएका हुन्थे । यसपछि उनीहरू जिन्दावाद र मुर्दावादका नारा घन्काउँदै र उफ्रँदै टोलटोलमा पुग्थे ।
खेल सकिएपछि साँझमा सबै घर फर्किन्थे । आइतरानी पनि घर फर्किन्थी । स्कुल गएको बेलामा साँझबिहान घरमा पनि ऊ सिकाइमाग्दथी । हजुरआमाले एउटा कथा नसुनाउँदासम्म त उसलाई निद्रै लाग्दैनथ्यो । ऊ कपाल कोर्न पनि लुसुक्क परेर हजुरआमासँगै आउँथी । तर हिजोआज ! ऊ हजुरआमाका छेउमा पनि पर्दिनथिई । नातिनीसहित गाउँभरिका केटाकेटी यसरी बरालिँदा हजुरआमालाई पनि खुब चिन्ता लागेको थियो तर उहाँ केही बोल्नु भएको थिएन ।
एकदिन नातिनी आइतरानी, पासाङ, नन्दे अनि गाउँभरिका केटाकेटीहरू एकाबिहानै आआफ्ना घरबाट फुत्त भागे । यस्तो जाडोेमा उनीहरूले के खाए ? यस्तो जाडो छ ! कस्तो कपडा लाए ? फेरि यिनीहरू किन र कहाँ गए ? मनमनै कुरा खेलाउँदै हजुरआमा बिहानको घाम तापेर बस्नुभएको थियो । बरन्डामा भर्खरै घामको झुल्केको थियो । अलि परबाट केटाकेटीको एउटा झुन्ड आयो । उहाँले के रहेछ भनेर त्यतै ध्यान दिनुभयो । उनीहरू जति वर आए उनीहरूको हल्लाखल्ला पनि उत्तिकै बढ्यो । उनीहरू सबैका टाउकामा रुमाल थिए । हात हातमा राता झन्डा थिए । सबै कहिले जिन्दावाद र कहिले मुर्दावाद भन्दै चिच्याउँदै थिए । सबै जोसिलो पाराले कराउँदै थिए ।
जुलुस आएर पिपलेचौतारामा रोकियो । आज उनीहरूको यो हल्ला सधैंको जस्तो खेलमात्र रहेनछ । त्यहाँ त माइकबाट साँच्चैको भाषण पो सुरु भयो । एकैछिनमा त्यहाँ गाउँभरिका सबै भेला हुँदै गए । एउटाले केके भन्दै भाषण गर्दै थियो । गाउँलेहरू पनि चौताराका वरपर टक््रयाकटुक्रुक बसेर रमिता हेरिररहेका थिए । त्यहाँ गीत र नृत्यका कार्यक्रम पनि गरिए । वरिपरि बस्नेहरू बीचबीचमा पटट ताली बजाउँदै थिए । चौतारामा वरिपरि झन्डैझन्डा थिए । खेतमा काम गर्ने पनि मेलो छोडेर त्यहीँ सामेल हुन आइपुगे ।
त्यहीबेला अर्को दिशाबाट झन् ठूलो स्वरमा जिन्दावादको नारा लगाउँदै अर्को समूह आइपुग्यो । उनीहरूका हातमा पनि झन्डा थिए । तर अर्कै रङ र चिह्न भएका । कसैकसैका हातमा त डन्डा पनि थिए । उनीहरू गाउँनै उचालिने गरी जिन्दावाद र मुर्दावाद गर्दै अगाडि बढे । चौतारा नजिकै आइपुगेपछि जुलुस रोकियो । दुवैतर्फका मानिसमा आक्रोश बढेको स्पष्टै देखियो । के भएछ भनेर हजुरआमा पनि परैबाट यो नियालिरहनुभएको थियो । खासमा उनीहरूको कार्यक्रमको स्थान र समय जुँधेको रहेछ । त्यहाँ भनाभन चल्न थाल्यो । एकाएक स्थिति बिगँ्रदै गयो । एउटा दल र अर्को दलका बीचमा झगडा पर्न थाल्यो । भुइँमा भएका ढुंगा टिप्दै एकले अर्कालाई हिर्काउन थाले ।
पछिल्लो समूह लड्नेसमेत तयारीमा आएको थियो । त्यो समूहले हातमा भएका डन्डाले हिर्काउन थाल्यो । पिपलेचौताराको वातावरण एकाएक कोलाहलमय भयो । दुवै समूहमा आइतरानी, नन्दे, पासाङ र उनीहरूजस्तै केटाकेटीको संख्या अधिक थियो । सबै चित्याउँदै, रुँदै गर्न थाले । भाषण गर्ने र अरू सक्नेहरू एकाएक अलप भए । कुटाइ खाने त तिनै अबोध बालबालिकामात्रै थिए ।
निकैबेर पछाडि झगडाको स्थिति सामान्य बन्दै गयो । घाइते त बालबालिका न थिए । तिनलाई अस्पताल पुर्याइयो । सामान्यहरूलाई अभिभावकको जिम्मा लगाइयो । गाउँटोलमा राजनीतिका नाममा भएको यस्तो घटनालाई कसैले पनि मन पराएनन् । कार्यक्रममा आन्दोलित भएर आउनेहरूले पनि नेता भनिनेहरूको उक्साहटमा लागेर हिँडेकोमा अपसोच प्रकट गरे । गाउँलेहरूले घटनाको छानबिन हुनुपर्ने माग उठाए ।
चुनाव जित्नकै लागि त्यतिखेर त जनताले जे भने पनि नेताहरू मान्नेवाला थिए । छानबिनको मागलाई उनीहरूले स्वीकार गरे । सरकारको माथिल्लो तहसम्म उक्त खबरले स्थान पायो । घटना घटेको गाउँमा माथिबाट अनुगमनको टोली पनि खटिएर आयो । तर आश्चर्य ! अस्ति कार्यक्रममा भिड्न र भिडाउन उकास्ने व्यक्ति जो थिए आज अनुगमन र सचेतना कार्यक्रममा आउने पनि उनीहरू नै पो थिए ।
उनीहरू आज गाउँलेलाई आश्वस्त पार्दै थिए, ‘बालबालिकालाई श्रम, राजनीति, आन्दोलनलगायतका काममा लगाउनु हुँदैन । यस्ता कार्यको सहभागिताले उनीहरूको मानसिकता भड्किन्छ । अस्तिको कार्यक्रममा बालबालिका प्रयोग गर्ने मान्छे वा पार्टी जो छ हामी त्यसको खोजी गर्छौं र कडाभन्दा कडा कारबाही गराएरै छोड्छौं । तपाईंहरू ढुक्क हुनुहोस् ।’