किताबहरू तिम्रा साथी हुन्

किताबहरू तिम्रा साथी हुन्

प्यारा भाइबहिनी,
नमस्कार !

तिमीहरू के राम्रो, के नराम्रो छुट्याउन सक्ने भएका छैनौ । त्यसैले ठुलाको अर्ति र उपदेश ध्यानपूर्वक सुन्ने र अनुशरण गर्ने गर्नुपर्छ । कहिलेकाहीँ त्यस्ता सल्लाहहरू दिक्कलाग्दा पनि हुन सक्छन् । तर, त्यस्ता उपदेशमा जीवन बदल्न सक्ने शक्ति र सामथ्र्य लुकेका हुन्छन् ।

हामी सबैको पहिलो गुरु आमा हुन् । उनको अर्ति सधैं शिरोपर गर्नुपर्छ । म पनि मेरी आमाको पे्ररणाले यहाँसम्म आइपुगेको हुँ । त्यहि प्रभावले आज पनि झण्डै ४६ वर्षदेखि मैले विश्वविद्यालयमा पढाएका संसारभर छरिएका मेरा विद्यार्थी र इष्टमित्रको मायामा रमाइरहेको छु । समाजमा अनेक खाले मान्छे बस्छन् । कोहि गलत बाटोमा हिँडिरहेका हुन्छन् । ति गलत मानिसको संगत गर्नुहुँदैन । असल मित्र बिस्तारै थपिँदै जान्छन् ।

म पूर्वी नेपालको तेह्रथुम जिल्लाको साब्लाखुमा २००२ सालमा जन्मिएँ । मेरो बाल्यकाल र अहिले तिमीहरू हुर्कँदै गरेको समयमा धेरै फरक छ । हाम्रो पालामा पढ्ने किताबसम्म हुँदैनथे । खरीले कालो पाटीमा लेख्नुपथ्र्यो । अहिले तिमीहरूले पाउनेजस्ता थरिथरिका शैक्षिक सामाग्री कहाँ थिए र ? त्यतिबेला आजको जस्तो कम्प्युटर, मोवाइल, टेलिभिजनको कल्पनासम्म पनि गर्न सकिँदैनथ्यो । उतिबेला पढ्ने सामान नपाएर हैरान हुन्थ्यो भने अहिले छान्न नजानेर समस्या थपिएको छ ।

मेरो समयमा पढ्ने सामान नपाएर हैरान हुन्थ्यो, अहिले छान्न नजानेर समस्या थपिएको छ

लगातार टेलिभिजन हेरेर बस्नु राम्रो होइन । टेलिभिजन हेर्न निश्चत समय छुट्याउनुपर्छ । टिभीमा के हेर्ने भन्नेबारे आफुभन्दा ठुलासँग सल्लाह गर्नुपर्छ । बहादुरीका कथा, दया र कल्याणका कथा हेर्नुपर्छ । संयोगान्त कथाहरू हेर्नुपर्छ । धर्मका विषयमा चाख लाग्छ भने अभिभावकसँग बसेर महाभारत हेर्ने ग¥यौ भने तिमिहरूको ज्ञानको दायरा बढ्छ । कोठाभित्र एक्लै कम्प्युटर र मोबाइलमा गेम खेलेर बस्नु स्वास्थ्यका दृष्टिले पनि भयानक हुन्छ । खेल्दा समुह बनाएर खेल्नुपर्छ । प्रकृृति पनि एउटा पाठशाला हो । त्यसकारण घर र विद्यालय हाताबाहिरको वातावरण बारेपनि ज्ञान हुन उत्तिकै जरुरी छ । कुनै पनि काम जानेर बेफाइदा हुँदैन । तिमीहरूले सिकेको कुरा संस्कार भयो भने मात्रै उपयोगी हुन्छ ।

किताबमा भएका कविता भाका हालेर पढ्न सिक्नुपर्छ । कविता कण्ठस्थ पार्ने बानीको विकास सानैदेखि भयो भने ठुला कक्षामा जस्तोसुकै सुत्र पनि हाउगुजी लाग्दैनन् । तिमीहरूसँग भेट भएकाबखत मैले सानैमा पढेका कविताहरू सुनाउँला । अक्षरहरू सफा र चट्ट पारेर लेख्ने गर्नुपर्छ, यो जीवनभर काम लाग्ने हुन्छ । भाषामा दख्खल राख्नुपर्छ ।

पैसा फुरमास गर्ने बानी पटक्कै राम्रो होइन नि ! दक्षिणा, उपहार आदीबाट प्राप्त रुपैयाँ खेलौना लुगा–कपडाजस्ता सामानमा भरसक खर्च गर्नु हुँदैन । त्यसलाई जोगाएर किताब किन्ने बानीको विकास गर्नुपर्छ । भविष्यमा एउटा ठुलो लाइब्रेरी आफ्नै घरमा बनाउँछु भन्ने अठोट लिएर अघि बढे सम्भव हुन्छ । किताबहरू जहिले पनि काम लाग्छन् । मेरो लाईब्रेरीमा म आफैँले लेखेका, विश्वविद्यालयमा पढाएका र अन्य हजारौं देशी–विदेशी किताब छन् । मैले घरैमा पढ्न शुरु गर्दा मेरी आमाले भेला गरिदिनुभएका किताब पनि मेरो घरको लाइब्रेरिमा छन् । आजकल मेरो कोठा कक्षाकोठा जस्तै भएको छ । रिटायर्ड लाइफमा किताबहरू मेरा गुरु र साथी भएका छन् ।

तिमीहरूको उमेर जीवनको शुरुवाती अवस्था हो । यस्तो उर्जाशील समयमा कुनै पनि कुराले दुखी र विचलित हुनुहुँदैन । हामीले आफ्नो समयमा केहि नयाँ र असल काम गर्न सक्यौं भने मात्र यो क्षणभङ्गुर जीवनले सार्थकता पाउँछ । तिमीहरूले नराम्रो र असजिलो लागेका कुराहरू नजिकका दौँतरी, अभिभावक र नातेदारलाई सुनाएर समाधान गर्नुपर्छ । आफ्नो रुची खुलस्त भन्नुपर्छ । कहिलेकाहीँ अभिभावकको मात्र चाहना र करकापले गरेको कामले सही परिणाम नदिन पनि सक्छ ।

तिमीहरूलाई माया गर्ने,
अभि सुवेदी

(प्रा.डा. सुवेदीसँग समीरबाबु कट्टेलले गरेको कुराकानीमा आधारित)


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.