गस्तीमा गएका म्यादी प्रहरीको लडेर मृत्यु
दार्चुला : कार्यक्षेत्रमा खटिएका म्यादी प्रहरीको बुधबार राति लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा नौगाड–२ सुण्डमुण्डका १९ वर्षीय रविन्द्रसिंह ठगुन्ना रहेको प्रहरीले जनाएको छ ।
नौगाड–२ दल्लेख प्रहरी चौकीबाट हवल्दारको नेतृत्वमा पनख्यातिर गस्तीका लागि हिँडेको टोलीमा रहेका ठगुन्नाको लम्पानी भन्ने ठाउँमा लडेर मृत्यु भएको नौगाड गाउँपालिका–२ का अध्यक्ष नारायणसिंह ठगुन्नाले जानकारी दिए ।
घटनाबारे बुझ्न जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट सई भुवनविक्रम शाहको नेतृत्वमा टोली पठाइएको दार्चुलाका डिएसपी जनकबहादुर शाहीले बताए । घटनास्थल गएको टोलीसित सम्पर्क हुन नसके पनि मृतक ठगुन्नाको शव पोस्टपार्टमका लागि जिल्ला सदरमुकाम ल्याइने शाहीले जनाए ।