विपश्यना- एक अद्‍भूत ध्यानयोग

विपश्यना- एक अद्‍भूत ध्यानयोग

‘गौतम् बुद्ध नेपालमा जन्मिएका थिए’ भनेर धेरैले राष्ट्रवादी भएको वा गौरव महशूस गरेको देखिन्छ। केहि गाडीहरुमा पनि यस्ता कोटेशन लेखेका देखिन्छन्। एउटा प्रश्न उब्जिन थालेको छ कि यसमा मेरो के योगदान छ त ? मैले केहि प्रयास नगरीकनै बुद्ध जन्मे त जन्मे। मोहम्मद रफि, लता , नारायण गोपाल कहाँ जन्मिएका थिए भन्ने जान्ने चासो बिना नै उनीहरुको स्वर मीठै लाग्छ नि। माइकल ज्याक्सन अमेरिकामा जन्मिएका थिए कि ! चीनमा नजानेरै पनि संसारभरीका युवाहरुबीच संगीतको क्षेत्रमा चर्चितै छन्। लियोनार्दो दा जहाँ जन्मिएका भएपनि उनकै चित्रमा जादु पाइन्छ, वेदब्याँस जंगलमा जन्मिएका भए पनि वा महलमा, उनले लेखेका ग्रन्थ संसारमै कामलाग्ने देखिन्छन्। त्यसैले को कहाँ जन्मिएका थिए भन्नु भन्दा पनि कोसंग के अद्भूत क्षमता वा कला छ, त्यो सर्वहीतकारी छ भन्ने जानेर बाँडिचुंडी सबैले उपभोग गर्नुमा वा निस्वार्थ प्रचार प्रसार गर्नुमा हीत छ भन्ने बुभ्नु उपयुक्त होला।

प्रसंग हो विपश्यना ध्यानको। आजभन्दा २५०० बर्ष पहिले सिद्धार्थ गौतम्ले धेरै ग्रन्थहरुको अध्ययन गरेपछि सुनेरनै मनोविनोद गरिएका वाक्यहरुमा प्राक्टिकल्ली के कति दम छ भनेर जाँच्ने निश्चय गरेर ज्ञानको वास्तविकताको अनुसन्धानको खोजिमा निस्के। सत्यलाई महशूस नगरीक नै जसले जे भन्छ त्यसैलाई मान्नै पर्ने भन्ने हुँदैन भन्ने स्वाभिमानी भावनाले ओतप्रोत भएका सिद्धार्थलाई नावालक शिशु, प्रियसी, राजपाट र वैभवको त्याग गर्नुमा कुनै कष्ट महशूस भएन। अनेक ठाउँमा गई चिन्तन गर्दै जाने क्रममा अन्तमा भारतको बोधगयामा एउटा पीपलको बृक्षमुनि बसेर भीष्म प्रतिज्ञा गरे कि मैले अन्तिम् सत्य बोध नगरे सम्म आँखा खोल्ने छैन, हलचल गर्ने छैन, खानपीन केहि गर्नेछैन भनेर तपस्यामा लीन भए पछि दृढ निश्चयको ताकतको अगाडी प्रारब्ध झुक्दो रहेछ भन्ने देखियो। सातै दिनमा त्यो अद्भूत ज्ञानको रहस्य थाहा पाए। हामीमा हर्ष, विस्मात किन र कसरी आउँछ? किन मानिस दुःखी रहन्छ? दुःखबाट मुक्त हुन के गर्नु पर्ला जस्ता जिज्ञासाको लागि अनुसन्धान, प्रयोग र चिन्तन गर्दा गर्दा धेरै बर्ष वितेपछि आफ्नै बलबूताले त्यो बिद्या जानेरै छाडे त। यसमा न त भारत सरकारको कुनै योगदान रह्यो न त नेपाल सरकारको। अहिले आएर केहि भारतीय चंठहरुले सिद्धार्थलाई भारतीय नागरीकता दिएको पाइन्छ। हामीलाई त युगाण्डाले देओस् कि लाओस्ले कुनै मतलब छैन , मतलव छ त उनले पत्ता लगाएको अद्भूत ज्ञान विपश्यना ध्यानको।

विपश्यनाको बारेमा गितामा र वेदमा पनि केहि शब्द रहेछन्। तर विद्वानहरुले यसको वास्तविक अर्थ बङ्ग्याएर ब्याख्या गर्ने कर्मकाण्ड गर्दा रहेछन्। दश दिने विपश्यना शिविरमा प्राक्टिकल्ली भाग लिएपछि भगवद्गीता पढ्ने हो भने संस्कृत नबुझ्नेले पनि यसको गहिराई महशूश गर्न सक्दा रहेछन्। बुद्धले प्रयोगात्मक रुपमा विपश्यना ध्यानकै मद्दतले शरीर र जीवनको रहस्यको पर्दाफास गर्न सफल भए जस्को फाइदा संसारभरका बुजकीहरुले लिने गरेका छन्।

के कस्तो लाभ हुँदो रहेछ यो ध्यानले ?
यो ध्यान गर्नाले पैसा पाइने, जागीरमा प्रमोशन पाइने, राजनैतिक नियुक्ति पाइने, कसैलाई हिप्नोटाइज आदि केहि गर्न सकिंदैन। जीवनभर मान्छे केहि नभएर पनि, सबै थोक भएर पनि, रोगले, तुलना गर्ने बानीले, इष्र्याले, कामवासनाले, आसक्तिजस्ता द्वेष भावना बोकेर सधैं तनावमा रहन्छन्। तनावका कारण शरीरमा बायोकेमिकल रियाक्सन उत्पन्न हुनथाल्छ र शरीरले प्रतिक्रिया देखाउन थाल्छ। अनि हत्या गर्न तम्सिने, आत्महत्या गर्न खोज्ने, चिच्याउने आदि प्रतिक्रिया हुन थाल्छन्। यसका शारीरक , सामाजिक आदि नतिजाहरुको साइड इफेक्ट उत्पन्न हुनगई दुःख उत्पन्न हुँदो रहेछ। यो ध्यानले चित्त निर्मल हुन गई त्यस्तो दुःख महशूस नहुने पारीदिन्छ र सुखमय जीवन जीउनमा सहायक बनिदिन्छ। सुखदुःखमा समभाव उत्पन्न हुन गई क्षणभंगुरता (शरिर तथा संसारको कुनै पनि घटना सधै स्थायी नरहने भावना वा चाँडै बितिहाल्ने भाव) बोध भएर न त केहि पाउँदा गोडाले भुई छोड्ने र गुमाउँदा वा सोचेजस्तो उपलब्धि नभई दिंदा मरे बाबा भनेर लल्याकलुलकनै परिन्छ। न त मर्छु भन्ने डर, न त गिर्छु भन्ने डर, न त के खाउँला भन्ने डर न त कहाँ जाउँला भन्ने चिन्ता। सबै प्रकारका रीस, राग, द्वेष र क्लेशबाट मुक्त अवस्था प्राप्त हुन्छ विपश्यना ध्यानको कारणले।

कतै सन्यासी बन्ने योजना त होइन ?
सन्यासी नै बन्ने दृढ निश्चय बोकेका मान्छेहरुको बारेमा त भन्न सकिंदैन तर गृहस्थ जीवन यापन गर्नेहरुले पनि यथास्थितीमा पूरापुर लाभ लिन सक्छन् विपश्यनाको सहयोगले। अहिले संसारका खुंखार अपराधीहरु भएका जेलहरुमा यो ध्यान गराएर अपराधीहरुको मानसिकतामा अलौकिक परिवर्तन ल्याउन सकिएको छ। अहिले भ्रष्ट्राचार हुने अड्डाहरुमा, कलेज स्कुलहरुमा जताततै विपश्यना गराउन थालिएको छ , सन्यासी कोहि बन्नु परेको छैन। बरु बिपश्यना ध्यानले मनमा सुख, शान्ति, मान प्रतिष्ठा, स्वास्थमा सकारात्मक परिवर्तन र सुधार भने आउने देखिएको छ।

अनि कसरी गरिंदो रहेछ त यो ध्यान?
सतहमामात्रै हेर्ने हो भने त विपश्यना नगरेकै राम्रो। यथार्थमा विपश्यना गर्न चाहनेहरुका लागि भने दृढ शक्ति, आत्मविश्वास र संकल्प हुनु जरुरी हुन्छ। यसको लागि शुरुमै केहि प्रतिज्ञाहरु गर्नु पर्दछ। ति हुन।

१) आत्म समर्पणको प्रतिज्ञा
२) शीलपालना गर्ने प्रतिज्ञा
३) मन लगाएर ध्यान गर्ने र मंगलमैत्री भावना जगाई सबैलाई बाँड्ने प्रतिज्ञा।

कस्तो प्रकारले आत्म समर्पण गर्ने हो र किन जरुरी हुन्छ?
यदि कुनै रोगी दक्ष डाक्टरकहाँ जान्छ र डाक्टरले सही औषधि दिन्छ भने पनि बिरामीले “यस डाक्टरले जानेर औषधि दिएको हो की त्यत्तिकै दिएछ, औषधि पनि सक्कली हो की नक्कली” आदि कुरा मनमा खेलाई रहने हो भने रोग ठीक हुँदैन वा ठीक हुन बढी समय लिन सक्छ। आपूmलाई अपरेशन गर्ने डाक्टरमाथी पूरापूर भरोसा नगर्ने हो भने रोग कसरी ठीक होला त? त्यसैले ध्यानले सिद्धि पाउनको लागि त्यस बिद्यामाथी पूरापूर समर्पित हुनु जरुरी हुन्छ र यीं कुरा स्वीकार्नु पर्दछ :
१) बुद्धम् शरणम् गच्छामी (बुद्ध भन्नाले सिद्धार्थ गौतम् भन्ने नभई सम्यक ज्ञान (प्रज्ञा) भन्ने जनाउँदछ)।
२) धम्मं शरणम्ं गच्छामी (धम्म भनेको कुनै साम्प्रदायिक तत्व हिन्दु, मुस्लीम, क्रिश्चिन आदी नभई शुद्ध प्राकृतिक धर्मलाई जनाउँदछ)।
३) शङ्घम् शरणम् गच्छामी (शङ्घ भन्नाले तीं ज्ञानीजनहरु जसले हामीलाई सत्यको समीप लैजान सहयोग गर्नुहुन्छ भन्ने जनाउँदछ।

र निम्न पञ्चशीलहरुको कडाईका साथ पालना गर्नु अनिवार्य हुन्छ।
१) अहिंसा (लामखुट्टेले टोके पनि पाट्ट मार्न नहुने, भुईंमा टेक्दा पनि कमिला किच्चिएला भनेर सावधान हुने,
सबै प्राणीहरुलाई मलाईजस्तै दुख्छ होला भन्ने भावना जगाई राख्ने)
२) चोरी नगर्ने (यतिसम्मकि साथीहरुको सामाग्रीहरु पनि नसोधि नचलाईदिने)
३) यौन क्रिया वा कामनाबाट समेत टाढा रहने (महिला पुरुषले शिविर अवधिभर एक अर्काको शरीर वा
अनुहार समेत हेरीरहन नहुने।
४) झुटो नबोल्ने या असत्य ब्यवहार नदेखाउने।
५) कुनै पनि प्रकारको नशा (चुरोट, पान, खैनी, रक्सी आदि सेवन ) गर्न नहुने।

माथीका कुराहरु पालन गर्न सहज होस् भन्ने हेतुले आवासीय सुविधा सहितको भिक्षु जस्तै जीवन ११ दिनसम्म विताउन लगाइन्छ। यसमा भिक्षुको जस्तै पहिरन लगायतका क्रियाकलाप नगराइए पनि अरुले दिएको दानमा १० दिनसम्म बाच्नु पर्ने हुन्छ। शिविर अवधीभर वाणी, इशाराबाट समेत एक अर्कासंग कुरा गर्न पूर्ण वर्जित गरीन्छ। यतिसम्मकी साधकहरुले एक अर्कासंग हात मिलाउने वा अनुहार हेर्ने समेत नगर्नु उपयुक्त मानिन्छ। यसलाइ आर्यमौन भनिन्छ। शिविरमै सात्विक भोजन प्राप्त हुन्छ जुन ठीक ठीक समयमा घण्टि लगाएर दिइन्छ। दिउसो १२ बजे उप्रान्त खाना खानु हुँदैन भन्ने मान्यता रहेछ। तर पहिलो चोटि ध्यानमा जानेहरुकालागि यो नियम कडाइका साथ लागु हुदैन। ध्यान कतै पनि नजाओस भन्नको लागि मोबाइल, पत्रपत्रिका, रेडियो, पढ्ने लेख्ने, अन्य पूजापाठ, ध्यान, योग आदि सबै वर्जित हुन्छ (तर खाली समयमा निश्चित क्षेत्रमा हिंडडुल गर्न भने सकिन्छ)। चौथो दिन पछि ध्यानमा अँझै कडाई थपिन्छ अर्थात् दिनको तीन पटक १÷१ घण्टा बिल्कुल हलचल नगरी ध्यान गर्नु पर्ने हुन्छ जुन ध्यान सकिए पछि साधकहरुको आत्मबलमा सहयोग गर्छ।

ध्यानको रुटिन कस्तो हुन्छ ?
बेलुकी ९ बजे देखि बिहान चार बजेसम्म ७ घण्टा सुत्नेनै समय हो। बाँकी दैनिक १७ घण्टा घडिको सुई र घण्टिको चालमा चल्नु पर्ने हुन्छ। बिहान ४ बजे उठेर फ्रेस हुन घण्टि लाग्छ, ४ः३० मा ध्यान गर्ने हलमा आइ पुग्नु पर्दछ। समयमा नआउनेहरुको कोठा कोठमा गई स्वयंसेवकहरु ढोका ढक्ढक्याउन आइपुग्छन्। २ घण्टा ध्यान, अनि साढे एक घण्टा खाजा र आराम, अनि ३ घण्टा ध्यान, २ घण्टा खाना र आराम, ४ घण्टा ध्यान, १ घण्टा नास्ता र आराम, साढे एक घण्टा ध्यान साढे एक घण्टा प्रवचन सुन्दा ९ बजेको घण्टि बजे पछि बिहान ४ बजे उठ्नु छ भन्दै सुत्न गै हाल्ने हो।

यसरी बाँधिएर गर्ने चाँही कस्तो ध्यान हो त ?
सधैं निश्चित आसनमा बुद्धका झैं सीधा बसेर आँखा चिम्लेर शान्तसंग बस्नु पर्दछ। पहिलो तीन दिनसम्म नाकभित्र, नाकका प्वाल र श्वास बाहिरिने जुँगाको मध्य क्षेत्रमा श्वास आवतजावत गरेको थाहा पाइराख्न लगाइन्छ र तीं भागहरुमा उत्पन्न हुने संवेदनाहरुको जानकारी राख्न लगाइन्छ। श्वास गन्ने, कुनै देवी देवता सम्झिने, कुनै आकार सम्झिने गर्नु हुँदैन। केवल कुनै प्रतिक्रिया नजनाई केवल आफ्नो श्वासप्रश्वासलाई द्रष्टा भावले महशूस गरीराख्नेमात्र हो। बीचमा कतै चिलायो भने पनि कन्याउँन हुँदैन किनभने शरीरका कुनै पनि घटना अनित्य हुन्छन्। जुन उत्पन्न हुन्छन् तीं अवस्य आफै नष्ट हुन्छन्।

त्यस पछिका दुई दिनसम्म श्वास आवागमनको क्षेत्र साँघुर्‍याइन्छ अर्थात् नासिकाको प्वाल देखि जुंगाक्षेत्रसम्म मात्रै अवलोकन गर्न लगाइन्छ र उत्पन्न हुने संवेदनाहरुको जानकारी राख्न लगाइन्छ। १, २ मिनेट ध्यान गर्‍यो कि मन उफ्रेर कि बिगतका घट्ना सम्झिन कि भविष्यका कुरा खेलाउन फुत्किहाल्दो रहेछ। त्यो मनलाई समातेर फेरी श्वासमै केन्द्रित गर्न लगाउनु पर्ने हुन्छ।

त्यसपछिका ४ दिनसम्म ध्यानलाई शिर देखि पाउँसम्मका शरीरका प्रत्येक अंगहरुलाई शुक्ष्मरुपले अवलोकन गर्न लगाई त्यहाँ उत्पन्न हुने संवेदनाहरु महशूस गर्न लगाइन्छ। दर्शौ दिन यसै क्रियालाई दाहोर्‍याउंदै सबैको मंगल कामना गर्ने मंगलमैत्री कार्यक्रम पनि थपिन्छ र बाहिरको केहि निश्चित स्थानहरुमा मौनब्रत समाप्त हुन्छ।

एघारौं दिनको बिहान केहि समय ध्यान र अन्तिम् प्रवचन सुनेपछि शिविर समाप्त हुन्छ र घर फर्किन पाइन्छ। शिविर पस्ने बेलामा सबै साधकहरु चिन्तित र उदास देखिन्छन् भने घर फर्किने बेलामा सबै खुशी र तनावमुक्त देखिन्छन्। शिविरमा सिकेको कुरा सकेसम्म घरमा थोरै भए पनि अभ्यास गरिराख्ने हो भने वास्तवमा जीवन जीउन सिकिने रहेछ र कहिल्यै दुःखको अनुभूति नहुने रहेछ।

के यो शिविरमा भाग लिए पछि रोगहरुबाट पनि निजात पाइन्छ?
विपश्यनाको उद्देश्य रोगीहरुको उपचार गर्नु कतै होइन। यसले चित्तलाई शुद्धिकरण गरी राग र द्वेषमा समभावमा बस्न अभ्यास गराउने हो र क्लेशबाट मुक्त हुन कोशिश गर्ने हो। शील पालन गरी राख्ने हो र सात्विक भोजन गर्ने हो भने धेरै रोगहरु हराउन लागेको थाहा पनि हुँदैन , तर ग्यारेण्टी भने लिइदैन।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.