नक्कली नागरिकता बनाउने गिरोह पक्राउ
सप्तरी : जिल्ला प्रशासन कार्यालय परिसरमै बसेर नक्कली नागरिकता बनाउने कर्मचारीसहितको गिरोह प्रहरीेफन्दामा परेको छ। प्रहरीले जिल्ला प्रशासन कार्यालयका सहयोगी सर्लाही ब्रह्मपुरी ७ बस्ने अजयकुमार यादव र राजविराज नगरपालिका १० का सचिव महदेवा गाउँपालिका १ बस्ने मो. वकिल मियाँलाई प्रमाणसहित पक्राउ गरेको छ।
मिलेमितोमा लामो समयदेखि भारतीय नागरिकलाई नक्कली नागरिकता वितरण भइरहेको खुलासा भएको प्रहरीले जनाएको छ। प्रहरीले उनीहरुको साथबाट एक लाख १५ हजार नगदसहित प्रशासकीय अधिकृत, जिल्ला प्रशासन कार्यालय, वडा सचिव लेखेको नक्कली छाप, स्ट्याम्प प्याड, रजिस्टर तथा नागरिकता र फोटा बरामद गरेको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए।
नक्कली छाप तथा दस्तखत किर्ते गरी झुट्टा नागरिकता प्रमाणपत्र लिए–दिएको आरोपमा प्रहरीले छ जनामाथि मुद्दा चलाएको छ। यो धन्दामा संलग्न अन्य सहयोगीको समेत खोजी भइरहेको प्रहरी उपरीक्षक सिंहले बताए।