पाँच सयले पाए दृष्टि

पाँच सयले  पाए दृष्टि

हेटौंडा : ज्याला मजदुरी गरी जीवन निर्वाह गर्दै आएकी मंगरी माझीको जीवन दुई वर्षदेखि अँध्यारो थियो । दुवै आँखामा मोतियाबिन्दु भएपछि कष्टकर जीवन बिताइरहेकी रौतहटस्थित चपुर-८ मोतिपुरकी ७५ वर्षीया माझीले फेरि संसार देख्न सक्ने भएकी छन्।

आइतबार बिहान फेरि दृष्टि पाएकी उनले दोस्रोपल्ट नयाँ जीवन पाएको अनुभूति गरिन् । हेटौंडा सामुदायीक आँखा अस्पताल प्रांगणमा घाम तापिरहेकी माझीले खुसी हुँदै भनिन्, ‘भगवानले हेरेछ, नयाँ जीवन पाएँ।'

आर्थिक अभावले उपचार गर्न नसकेपछि दृष्टिविहीन भएकोमा अब फेरि ज्याला मजदुरी गरेर जीवन गुजारा गर्नसक्ने विश्वास पलाएको छ । उनकी छिमेकी पल्टनीयादेवी माझीले पनि नयाँ जीवन पाएको अनुभूति गरेकी छन् । दाहिने आँखाको मोतियाबिन्दुको शल्यक्रियापछि गरेपछि ७० वर्षीया माझीसँग खुसी बयान गर्ने शब्द छैन । दुवै आँखामा समस्या रहे पनि तत्काल उनको एउटा आँखाको मात्र उपचार सम्भव भएको हो । ‘दुवै आँखा नदेख्ने भएपछि घरमा पनि अरुका लागि समस्या, बाँचेर पनि मरेजस्तो', उनले भनिन्, ‘अब भने संसार हेरेरै मर्न पाइने भयो ।' उनीहरूसँगै मोतिपुरका अन्य ४ जनाको पनि मोतियाबिन्दुको उपचार भएको छ।

शनिबार र आइतबार हेटौंडा सामुदायिक आँखा अस्पतालमा भएको निःशुल्क आँखा शिविरमा मध्यतराईका सर्लाही, रौतहट, बारा, पर्सा र मकवानपुरका ४ सय ७७ जनाको आँखाको मोतियाबिन्दुको शल्यक्रिया भएको छ । त्यो समूहमा परिशन चौधरीको दम्पति नयाँ दैनिकीबारे सल्लाह गरिरहेका थिए । सन्तपुर-७ रौतहटका ६६ बर्से चौधरीको दुवै आँखाको र उनकी पत्नी पतसियादेवीको देब्रे आँखाको मोतियाबिन्दु उपचार गरिएको हो । चौधरी दम्पतिका दुई छोरा छुट्टिएर बसेका छन् । छोरीको बिहे भइसकेको छ।

जग्गाजमिन नभएका चौधरी दम्पति ज्याला मजदुरी गरेर जीवन निर्वाह गर्छन् । ‘म राम्ररी काम गर्न नसक्ने भएपछि पत्नीको भरमा बाँच्नुपरेको थियो', चौधरीले भने, ‘अब दुवै जना मिलेर कमाउने, पहिलेभन्दा अलि सजिलो होला ।' मोतियाबिन्दुको उपचारपछि रौतहटका अली महमदलाई भने छोरीको घर जाने रहर छ । ‘छोरीको बिहे गरेर दिइयो, तर घर कस्तो छ हेरेको छैन', उनले भने, ‘अब आँखा ठीक भएपछि पहिला छोरीको घर जान्छु।'

आर्थिक अभावमा उपचार गर्न नसकेका उनीहरूको गाउँमा तिलगंगा आँखा अस्पतालले सञ्चालन गरेको शिविर परीक्षण गर्दा मोतियाबिन्दु भएकालाई हेटौंडा सामुदायिक आँखा अस्पतालमा जम्मा गरेर निःशुल्क शल्यक्रिया गरेको हो । उपचारमा अ न्यु भिजन, अपरेसन रिज्वोइस र रोटरी क्लब ३३०१ ले सहयोग गरेको हेटौंडा सामुदायिक आँखा अस्पतालका संरक्षक सिद्धिलाल श्रेष्ठले बताए । ‘आजसम्म मोतियाबिन्दुका एक हजार रोगीको उपचार गर्ने लक्ष्य छ', उनले भने । मोतियाबिन्दुको शल्यक्रियाका लागि तिलगंगा आँखा अस्पतालका चार जना डाक्टरसहित अन्य स्वास्थ्यकर्मीको टोली नै हेटौंडा आएको छ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.