कमल थापाले लिए हारको जिम्मेवारी
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले निर्वाचनमा भएको पराजयको जिम्मेवारी लिएका छन्। बानेश्वर स्थित अनमोल क्याटरिङ्गमा बुधबारदेखि बसेको केन्द्रीय कार्यसमितिको बैठकमा अध्यक्ष थापाले निर्वाचनमा भएको पराजयको नैतिक जिम्मेवारी लिएका हुन्।
बैठकमा अध्यक्ष थापाले भने, 'पार्टीको पराजयमा म नैतिक जिम्मेवारी लिन्छु।' अध्यक्ष थापाले राजनीतिक प्रतिवेदन पेश गर्दै पार्टीको कार्यनीतिमा भएको कमजोरीका कारण हार बेहोर्नु परेको बताए। बैठकमा थापाले समसामयिक राजनीतिक परिस्थितिको विश्लेषण र भावी कार्यदिशा सम्बन्धी राजनीतिक प्रतिवेदन पेश गरेका छन्।
अध्यक्षको प्रतिवेदनमा छलफल भइरहेको पार्टीका सह–प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको भएको पराजयको विषयमा बैठकमा गम्भिर समिक्षा हुने उनले बताए। राप्रपाले हिन्दु राज्य र राजतन्त्रको मुद्दाका कारण २०७० सालको दोस्रो संविधान सभाको निर्वाचनमा समानुपातिकबाट २५ सिट जितेर चौथो शक्तिको रुपमा स्थापित भएको थियो। तर गत मंसिर १० र २१ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा राप्रपा राष्ट्रिय पार्टी पनि बन्न सकेन।
राप्रपाले प्रतिनिधिसभा प्रत्यक्षतर्फ १ सिट मात्र जितेको छ भने समानुपातिकतर्फ प्रदेश सभामा ३ सिट जितेको छ। तीन दिनसम्म सञ्चालन हुने बैठकमा महामन्त्री जयन्त चन्दले सचिवालय सम्बन्धी र कोषाध्यक्ष उद्धव पौडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दैछन्। सहप्रवक्ता श्रेष्ठले बैठकमा पार्टीको भावी कार्यक्रमको रुपरेखा पनि प्रस्तुत हुने जानकारी दिए।