क्रान्तिकारी र विद्यार्थी फेडरेशनबीच एकता
काठमाडौं : वाम घटकका दुई विद्यार्थी संगठनबीच एकता भएको छ। नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियु (क्रान्तिकारी) र नेकपा संयुक्त निकट नेपाल राष्ट्रिय विद्यार्थी फेडरेशनबीच बुधबार एकता भएको हो।
क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ र फेडरेशनका अध्यक्ष दीपक जोशीले दुई संगठन एकता भएको घोषणा गरे । फेडरेशन नेपालको सबभन्दा पुरानो विद्यार्थी संगठन हो ।
क्रान्तिकारीका पूर्व अध्यक्ष एवं माओवादी केन्द्रका काठमाडौं इन्चार्ज लेखनाथ न्यौपानेले वामपन्थी पार्टीबीच एकता भइरहेका बेला विद्यार्थी संगठनबीच एकता हुनु खुसीको कुरा भएको बताए । क्रान्तिकारीका पूर्व अध्यक्ष रमेश मल्लले एकताले विद्यार्थी संगठनलाई थप बल पुगने बताए ।
क्रान्तिकारीका अध्यक्ष तामाङ र फेडरेशनका अध्यक्ष जोशीले क्रान्तिकारी विद्यार्थीको एउटै शक्तिशाली संगठन बनाउन एकता गरिएको जानकारी दिए ।
एकता घोषणा कार्यक्रममा नेत्रविक्रम चन्द समूहको विद्यार्थी संगठन अखिल क्रान्तिकारीका सचिव रामबहादुर विक र नयाँ शक्ति नेपालको विद्यार्थी संगठन नयाँ शक्ति विद्यार्थी युनियनका संगठन विभाग प्रमुख लक्ष्मीप्रसाद जोशीसमेत क्रान्तिकारीमा प्रवेश गरेको क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिए । रासस