'कांग्रेसले दाउ नहेरे हुन्छ, वाम गठबन्धन फुट्नेवाला छैन'

'कांग्रेसले दाउ नहेरे हुन्छ, वाम गठबन्धन फुट्नेवाला छैन'

काठमाडौँ: नेकपा एमालेका वरिष्ठ नेता माधबकुमार नेपालले एमाले र माओवादीबीच एकता भएरै छाड्ने दाबी गरेका छन् । बुधबार रिपोर्टस क्लबले गरेको साक्षात्कार कार्यक्रममा बोल्दै नेता नेपालले सबै नेताको व्यवस्थापन गरेर पार्टी एकता गरिने बताए ।

साक्षात्कारमा बोल्दै नेपालले सानो प्रभावकारी र चुस्त सांगठनिक संरचना बनाएर पार्टी एकता गर्नुपर्ने विषयमा गृहकार्य भइरहेको जानकारी दिए ।

८ करोड सदस्य भएको चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्य २ सय जना, पोलिटव्युरो सदस्य २१ भएको उदाहरण दिँदै उनले नेपालमा पनि सानो कमिटी बनाएर ठूलो काम गर्न सक्ने गरी अघि बढ्नुपर्ने बताए ।

'पदका लागि मारामार गर्ने होइन । संगठनात्मक संरचना बनाएर नेता व्यवस्थापन गर्नुपर्छ', भियतनामको कम्युनिष्ट पार्टीको उदाहरण दिँदै नेपालले भने,'त्यसपछि महाधिवेशनको मिति तोकेर नयाँ नेतृत्व चयन गर्नुपर्छ ।'

नेकपा एमालेमा त्यागको भावना रहेको बताउँदै उनले पदीय भागबण्डाका आधारमा एकता प्रभावित नहुने दाबी गरे । 'हामी पद छोड्न र दिन तयार छौँ', उनले भने ।
जनताको जनादेश अनुसार जति सक्दो चाँडो एकता गरेर विकास र समृद्धिको यात्रामा लाग्नुपर्ने उनको तर्क थियो ।

सरकारको नेतृत्वको विषयमा पनि विवाद नहुने उनको दाबी थियो । 'प्रधानमन्त्रीका लागि मारामार तानातान होला भन्ने लागेको होला । त्यस्तो हुँदैन', नेपालले भने ।

एमाले र माओवादीबीच लडाइँ होला र फाइदा उठाउँला भनेर कांग्रेस दाउ हेरेर बसेको बताउँदै नेपालले आफूहरु परिपक्व भएकाले त्यस्तो दाउ नहेर्न सुझाब दिए ।

चुनावबाट एमाले ठूलो पार्टी बनेकाले माओवादीले त्यही अनुसार सोचेको उनको भनाई थियो । 'अनावश्यक प्रचार र दबाब सृजना गरेर केही हुँदैन । प्रधानमन्त्रीका लागि कुनै समस्या छैन', नेपालले भने, 'दाहाल, ओली, खनाल, बामदेव, नारायणकाजी र रामबहादुर सबैको उचित र न्यायसंगत व्यवस्थापन हुन्छ ।'

प्रधानमन्त्रीका लागि एमाले अध्यक्ष केपी ओली नै हुन सक्ने सम्भावना बढी रहेको नेपालको भनाई थियो । तर माओवादीसँग पनि छलफल हुने उनले बताए ।
नेपालले आफू संगठन विस्तारमा लाग्ने र पार्टीलाई बलियो बनाउन अभियानमा लाग्ने बताए । अर्को प्रश्नमा नेपालले माओवादी अध्यक्ष प्रचण्डको पनि उचित व्यवस्थापन गरिने बताए ।

संस्थागत निर्णय गर्न कम्युनिष्टहरु सिपालु हुने भन्दै नेता नेपालले संगठन परिचालन र जनचेतना विस्तारका लागि कसैले सिकाउनु नपर्ने बताए । संगठनको खाका बनाउने विषयमा छलफल भइरहेको उनले बताएका छन् ।

पार्टी एकता भए पनि जनताको बहुदलीय जनवाद नछोडिने उनले स्पष्ट पारेका छन् । 'जबजको सान्दर्भिकता अझै बढ्दै गएको छ । कतिपय कुरा समयअनुसार फेरेका छौँ', उनले थपे, 'माओवादीले पनि २१ शताब्दीको जनवाद भनिसकेको छ । संविधानमा उल्लेख गरेअनुसार समाजवादउन्मुख अर्थतन्त्र नै हाम्रो यात्रा हो ।'

सरकार निर्माण गरेर पार्टी एकता गर्ने तयारी भए पनि अब सरकार गठनको समय धकेलिने अवस्था देखेकाले पहिला पार्टी एकता गरेरै जाने उनले बताए । नेताहरुको व्यस्तताले पनि धकेलिन पुगेको उनका भनाई थियो ।

तर हतार नगर्न उनले माओवादीलाई आग्रह गरेका छन् । 'मिठो खानका लागि भात, तरकारी, दाल, माछा, मासु सबै पाक्नुपर्छ', उनले भने, 'हतार गरेर हुँदैन ।'

चुनाव हारिसकेपछि पनि नेपालले सरकार छोड्न नचाहेको भन्दै उनले आपत्ति जनाएका छन् । 'कांग्रेस जहिले पनि कुर्सी छोडन आलटाल गर्छ । नानीदेखि लागेको
बानी अझै हटेको छैन । यो अत्यन्तै गलत सोच हो', नेपालले भने, 'शेखर, रामचन्द्र र देउवा आत्तिनु पर्दैन, रोग लाग्ला । कम्तिमा अब पाँच वर्ष धैर्य गरेर बस्नुस् । रचनात्मक प्रतिपक्षमा बस्नुस् ।'

वाम गठबन्धन फुटाएर आफू सरकारमा जाने कुरा दिवा सपना भएको उनको भनाई थियो । नेता नेपालले वाम गठबन्धनको सरकारले भारत र चिन दुवै छिमेकी मुलुकसँग निकटताको सम्बन्ध स्थापित गर्ने बताएका छन् । 'आन्तरिक मामलामा हात नहालुन् भन्ने मात्रै हाम्रो चाहना हो । हाम्रो निर्णय गर्ने अधिकारमाथि हस्तक्षप गरे सैह्य हुँदैन', नेपालले थपे ।

चीनको पक्षमा गठबन्धनको सरकार जाला भनेर आशंका नगर्न उनले आग्रहसमेत गरे । सबै देशसँग आवश्यकता अनुसार आर्थिक, कुटनीतिक सम्बन्ध स्थापित गर्ने उनको भनाई थियो ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.