राजधानी माग्दै आमहडताल

राजधानी माग्दै आमहडताल

दिपायल/ धनकुटा :  सरकारले प्रदेश राजधानीबारे औपचारिक निर्णय नगर्दै बुधबारदेखि मुख्य सहरमा आन्दोलन सुरु भएको छ। मन्त्रिपरिषद्को बिहीबार बस्ने बैठकले अस्थायी राजधानी तोक्ने तयारी गरिरहँदा सहरी विकास मन्त्रालयले तयार पारेको प्रस्ताव सार्वजनिक भएलगत्तै असन्तोषको ज्वाला दन्किन थालेको हो।

प्रदेश १ को अस्थायी राजधानी विराटनगर घोषणा गर्ने प्रस्ताव तयार भएको सूचना सार्वजनिक भएलगत्तै धनकुटामा बुधबार आमहडताल घोषणा गरिएको छ। धरानमा रिले अनशन जारी छ, इटहरीले पनि दाबी छाडिसकेको छैन।

सहरी विकास मन्त्रालयले प्रदेश ७ को अस्थायी राजधानी धनगढीलाई प्रस्ताव गरेलगत्तै यसअघिको सुदूरपश्चिम विकास क्षेत्रको मुख्यालय रहेको डोटीको दिपायल-सिलगढी पनि बन्द छ। त्यहाँका आक्रोशित आन्दोलनकारीले बन्दमा चलाएको भन्दै एउटा मोटरसाइकल जलाइदिएका छन्।

प्रदेश ५ को अस्थायी राजधानी दाङ बनाउने प्रस्तावको विरोधमा रुपन्देहीको बुटवलमा बुधबार साँझ मसाल जुलुस प्रदर्शन भएको छ। सरकारले प्रदेश २ को राजधानी जनकपुर तोक्ने तयारी गरे पनि उक्त प्रदेशको एक मात्र महानगर र देशकै आर्थिक केन्द्र भनी छवि बनाएको वीरगन्जले सहजै स्विकार्ने देखिँदैन।

प्रदेश ४ को राजधानी पोखरा र ६ को सुर्खेतमा खासै विरोधको स्वर सुनिएको छैन। यी दुवै निर्विकल्प प्रदेश राजधानी हुनेछन्। त्यस्तै, प्रदेश ३ को अस्थायी राजधानी भक्तपुर बनाउने सरकारको तयारी छ।

प्रदेश राजधानीलाई लिएर धनकुटामा आमहडताल आह्वान गरिएको छ। त्यसक्रममा धनकुटामा बुधबार तीन वटा सवारी साधनमा तोडफोड गरिएको छ। कोसी पहाडी जिल्लालाई असर गर्ने गरी गरिएको आम हडताल धनकुटालाई राजधानी तोकिए मात्रै रोकिने अडान आन्दोलनकारीको छ।

धनकुटाको जिरोप्वाइन्ट, आत्मारा, सल्लेरी र हिले बजारमा आन्दोलनकारीले सडकमै बसेर यातायात बन्द गराए। आन्दोलनकारीले काठमाडौंबाट भोजपुरतर्फ हिँडेको ना.१ ज ६४११ नम्बरको टाटासुमो, जल उत्पन्न प्रकोप कार्यालयको को.१ झ १६९ नम्बरको र मोरङ कारागारको को.१ झ ४८३ नम्बरको गाडी तोडफोड गरेका छन्।

त्यस्तै, आन्दोलनकारीले सयौं मोटरसाइकल र ३ दर्जनभन्दा बढी गाडीलाई रोकेर राखेका थिए। गाडी रोकिएपछि सयौं यात्रु सडकमा अलपत्र परेका थिए।

राजधानी प्राप्ति आन्दोलन संघर्ष समितिले ५ बजेपछि राति १२ बजेसम्म यातायात खोल्ने निर्णय गरेको छ। जिरोप्वाइन्टमा कोणसभा गरेर बन्द खुलेको जानकारी गराउँदै बिहीबारदेखि निरन्तर बन्द जारी रहने संघर्ष समितिका संयोजक सांसद निरन राईले जानकारी दिए।

धनकुटा बजार बुधबार बिहानैदेखि बन्द भयो। कोसी राजमार्गमा सवारीसाधन चलेनन्। सवारीसाधन नचल्दा कोसी पहाडका धनकुटासहित तेह्रथुम, संखुवासभा र भोजपुरको जनजीवन प्रभावित बनेको छ।

बन्दकर्ताले एम्बुलेन्स, प्रेस, विद्यालयका र दूध तथा तरकारी बोकेको सवारी साधनलाई भने चल्न दिएका छन्। राजधानी माग राख्दै धनकुटावासी २० दिनदेखि आन्दोलित छन्।

पर्याप्त सरकारी भौतिक पूर्वाधार र जग्गा धनकुटामा रहेकाले साविकको पूर्वाञ्चल विकास क्षेत्रको सदरमुकामसमेत रहेकाले धनकुटालाई राजधानी बनाउनुपर्ने राजधानी आन्दोलन संघर्ष समितिका सदस्य सुन्दरबाबु श्रेष्ठले बताए।

धनकुटा २ सय ४० वर्ष अघिदेखिको प्रशासनिक केन्द्र हो। १८४० सालदेखि पूर्व क्षेत्रको प्रशासनिक केन्द्रका रूपमा स्थापित धनकुटा राणाकालीन समयमा बडाहाकिम कार्यालय हँुदै पूर्वाञ्चल विकास क्षेत्रको सदरमुकाम रहिरहेको अवस्था छ।

सामथ्र्यका आधारमा हेर्ने हो भने करिब ४८ हजार रोपनी सरकारी र ३ सय ९४ वटा सरकारी कार्यालयका भवन छन्। हरेक भवन प्रदेश मन्त्रालय बस्न उपयुक्त रहेको स्थानीयको दाबी छ।

तराईका तीन जिल्ला र उदयपुर जिल्लाको धनकुटा आउने मुख्य नाका पूर्व-पश्चिम राजमार्ग हो। बाँकी पहाडी, हिमाली र तराईका जिल्ला समेटिने आधार तयार भइसकेका छन्। ताप्लेजुङ र पाँचथर जिल्ला तमोर करिडोर, मध्यपहाडी लोकमार्गबाट जोडिएका छन्। इलाम राँके, रवि, भेडेटार सडक सञ्जालबाट जोडिएको छ।

देउवालाई सात लाख हस्ताक्षर

प्रदेश १ को अस्थायी राजधानी धनकुटा तोकिनुपर्ने माग राख्दै धनकुटावासीको एक टोलीले बुधबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेको छ। भेटमा धनकुटालाई राजधानी बनाउन प्रधानमन्त्री देउवा सकारात्मक देखिएका नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठले जानकारी दिए। देउवाले निर्णय मैले मात्र गर्ने होइन, सर्वदलीय बैठकबाट राजधानी तोकिने हुनाले आफूले सक्दो पहल गर्ने बताएको अध्यक्ष श्रेष्ठले बताए। टोलीले प्रधानमन्त्री देउवालाई निवासमै ज्ञापनपत्रसहित सात लाख जनाले हस्ताक्षर गरेको ब्यानरसमेत बुझाएका छन्। त्यस्तै, सोही टोलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई समेत भेटेको छ।

प्रदेश सांसद इन्द्रमणि पराजुलीसहित धनकुटा उद्योग वाणिज्य संघका अध्यक्ष उमेश घिमिरे, कांग्रेस धनकुटाका सचिव विजयसन्तोषी राईसहित ३० सदस्यभन्दा बढीको टोली दुई सातायता काठमाडौंमा राजनीतिक दलका प्रमुखलाई भेटिरहेका छन्।

डोटी पनि अनिश्चितकालीन बन्द

प्रादेशिक राजधानीको माग राख्दै डोटी बुधबारबाट अनिश्चितकालीन बन्द गरिएको छ। पुस १२ गतेदेखि १८ गतेसम्म शान्तिपूर्ण आन्दोलन गरेको संघर्ष समितिले बुधबारबाट सडक आन्दोलन गरेको हो।

डोटी उद्योग वाणिज्य संघका अध्यक्ष नरेन्द्रबहादुर खड्काको संयोजकत्वमा बनेको संघर्ष समितिले बुधबार डोटीका सबैजसो बजार क्षेत्रमा यातायात तथा बजार बन्द गराई प्रदर्शन गरेको छ। बन्दका कारण रोकिएका गाडीलाई गन्तव्यमा पुर्‍याउन साँझ ५ बजेदेखि बिहीबार बिहान ५ बजेसम्म सडक तथा बजार खुल्ने निर्णय गरिएको संघर्ष समितिका संयोजक नरेन्द्रबहादुर खड्काले जानकारी दिए।

सरकारले प्रदेशको राजधानी डोटी कायम नगरेसम्म आन्दोलन जारी रहने खड्काले बताए। बिहीबारदेखि डोटीको बुडर क्षेत्रसमेत बन्द गरिने संघर्ष समितिले जानकारी दिएको छ। बुडर क्षेत्र बन्द गर्दा प्रदेश नम्बर ७ का सात वटै पहाडी जिल्लामा जाने नाका बन्द हुनेछ।

डोटी राजधानी कायम गराउन सरकारलाई सबैले दबाब दिनुपर्ने निवर्तमान सभासद् कल्पना सोपले बताइन्।आन्दोलनमा नागरिक समाज तथा डोटीमा क्रियाशील राजनीतिक दलले समेत साथ दिइरहेका छन्।

आन्दोलनकारीद्वारा तोडफोड

आन्दोलनकारीले सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय भवनका झ्यालका सिसा तोडफोड गर्नुका साथै क्षेत्रीय प्रशासन कार्यालयमा ढुंगामुढा प्रहार गरेका छन्।

साविकको क्षेत्रीय सदरमुकाम दिपायल तथा जिल्ला सदरमुकाम सिलगढीका चोक-चोकमा टायर बालेर दिनभर आन्दोलनकारीले प्रदर्शन गरेका थिए।बन्दका कारण छोटो तथा लामो दूरीका सवारीसाधन चल्न सकेका थिएनन्।

बन्दले डोटी भएर अछाम, बाजुरा जाने यात्रुवाहक सवारीसाधनसमेत बाटैमा अलपत्र रहेका कारण यात्रु मर्कामा परेका थिए। आन्दोलनकारीले बुधबार बिहानै मोटरसाइकल जलाएको छ। डोटी जिल्ला सदरमुकाम सिलगढीमा एक मोटरसाइकलमा आगजनी गरिएको हो।

 

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.