आफूभन्दा ठूलालाई 'हजुर' भन्ने कि 'हँ' ?

आफूभन्दा ठूलालाई 'हजुर' भन्ने कि 'हँ' ?

नैतिक केसी सात वर्षका भए। उनी बनेपाको रामभक्त मेमोरियल स्कुलमा पढ्छन्। उनले एक दिन आफ्नी आमासँग प्रश्न गरे, ‘मैले हजुरहरूसँग कुरा गर्दा हजुर भन्नुपर्ने तर हजुरहरूले चाहिँ मसँग कुरा गर्दा किन हँ भन्नुहुन्छ ? ’

बालबालिकाले आफूभन्दा ठुलासँग कुरा गर्दा ‘हँ’ भने के हुन्छ ? यस्तो प्रश्न पनि गर्न सक्छौं। धेरैले यसलाई अशिष्ट मान्नुहुन्छ। अपमान र अनादरको सूचक ठान्नुहुन्छ। ‘हँ’ भनेर कुरा गर्ने बालबालिकालाई ‘हजुर’ भनेर बोल्न सुझाउनुहुन्छ।

नानीदेखि ‘हँ’ भन्ने बानी लागेको नानीबाबुलाई कति ठाउँमा लज्जित हुनुपरेको होला। आदर गर्न नजान्ने भनेर गालीको सिकार भएको होलान्। यो लेख पढ्दै गरेको पाठकको पनि यस्तै भोगाइ हुन सक्छ। बल गरेर ‘हजुर’ भन्नुपर्दा वा अरूले अपेक्षा गरे जसरी बोल्नुपर्दा असजिलो परेको हुन सक्छ।

कसैलाई चाहिँ ‘हजुर’ भन्न नै मन नलागेको पनि हुन सक्ला। ‘हजुर’ भन्नु चिल्लो हुनु हो। ‘कुरा चिल्ला मिठा’ भन्ने उखान म मान्दिनँ भन्नु होला। ‘हजुर’ भन्नु जी हजुरी गर्नु हो जस्तो पनि लाग्न सक्ला।

अब के भन्ने त ? ‘हँ’ भन्ने कि ‘हजुर’ भन्ने ?

७२ वर्षीय कृष्णप्रसाद ढकाल भन्छन्, ‘आफूभन्दा ठुलालाई आदर गर्नुपर्छ। सम्मान गरेर व्यवहार गर्नुपर्छ।’ पूर्वप्रहरी हबलदार ढकाल थप्छन्, ‘साथीसंगातीसँग बोलेजस्तो भाषा प्रयोग गरेर ठुलासँग बोल्दा त्यति मिठो सुनिँदैन।’ अभिभावकले घरपरिवारमा प्रयोग गर्ने बोलीवचनले नै बालबालिकाको व्यवहार तय गर्छ भन्ने उनको तर्क छ।

नेपाली भाषामा आदर जनाउने तहगत शब्दहरू छन्। तँ, तिमी, तपाईं, हजुर यस्तै। यस्तो तहगत सम्मानसूचक शब्दले गर्दा नै बोलीचालीमा आदरको नापजाँच हुने गरेको छ। मनबाटै आदर गरेको अग्रजलाई ‘तिमी’ भनेर सम्बोधन गर्‍यो भने मान घटेको सम्झिने हाम्रो परिपाटी नै बनिसक्यो।

इन्द्रेणी विद्या मन्दिर पाँचखालका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विदुरपसाद सापकोटा ठुलालाई आदर र सानालाई माया गर्ने हाम्रो संस्कारसँग जोडेर बोलीचालीलाई हेरिएको बताउछन्। उनी भन्छन्, ‘हामीमा सिंगो समाजको प्रतिबिम्ब देखिन्छ। अश्लील शब्द बोल्नेको प्रभावमा हामी प¥यौं भने हामीले बोल्ने भाषामा पनि त्यसको प्रतिबिम्ब देखा पर्छ।’ फराकिलो भाषिक संरचनाले गर्दा आदरसूचक शब्द छनोट गर्नुपर्ने अप्ठेरो हाम्रोमा भएको उनको भनाइ छ। ‘तपाईं, हजुर भन्ने र आदरपूर्वक नम्र व्यवहार गर्ने नेताले जनमनको समर्थन बढी पाएका उदाहरण छन्।’ सापकोटाले सुनाए।

‘छोराछोरीले ठुलालाई नमस्ते गर्नै छाडे। हँ र के भनेर बोल्न थाले।’ आजका बालबालिकाको आनीबानी र बोलीचालीमा समस्या बढेको बताउँदै चिन्ता व्यक्त गर्ने अभिभावकको संख्या बढ्दो छ। यसरी समस्या राख्न आउने अभिभावकलाई ‘आफूले पनि छोराछोरीको अगाडि असल व्यवहार देखाउनुपर्छ। उनीहरूसँग बोल्दा आदरपूर्वक कुरा गर्नुपर्छ।’ भनेर सुझाव दिने गरेको बताउँछन् सुनकन्या आधारभूत विद्यालय, तिमालका शिक्षक लक्कुराम तामाङ। ‘बालबालिकाले हजुर भन्नुपर्छ भने हामीले पनि उनीहरूसँग बोल्दा त्यसरी नै बोल्नुपर्छ,’ शिक्षक तामाङ भन्छन्।

ठुलासँग बोल्दा हजुर भन्नुपर्ने तर्क गर्नेहरूभन्दा फरक कुरा छ बालसाहित्य लेखन र सम्पादनमा उल्लेख्य योगदान पुर्‍याएका शाश्वत पराजुलीको। भन्छन्, ‘मलाई कुनै बालकले ए ! शाश्वत भनेर बोलाउँदा पनि आपत्ति छैन। के भन्नुहुन्छ हँ ? भनेर सोधे पनि अनादर गरेको लाग्दैन।’ ठुलाप्रति गर्ने आदरको लागि हजुर भन्ने गरिए पनि यो शब्दलाई जी हजुरीसँग गाँस्नुहुन्न भन्ने उनको भनाइ छ। हामीहरूले, के भन्छौ हँ ? भनेर बोल्दा मिठो सुनिने तर बालबालिकाले बोल्दा अपमानबोधक हुने भन्ने तर्कसँग पराजुली सहमत छैनन्। बालबालिका एउटै संस्कारमा हुर्केका हुँदैनन्। नेपाली भाषाको सीमित शब्द जानेका कारण हँ भन्नु वा ‘ए सर लु आइज’ भन्नु व्यवहारजनित समस्या होइन। सिकाइमा समस्या भएको वा आदर गर्न नजानेको भन्न पटक्कै नमिल्ने पराजुलीको तर्क छ।

बालसाहित्य लेखन र सम्पादनमै उल्लेख्य योगदान दिएका कवि अनन्त वाग्लेको विचार पनि पराजुलीसँग नजिक छ। उनी भन्छन्, ‘झट्ट सुन्दा हँ अलिक फ्र्यांकजस्तो लाग्छ। समाजले के पचाउँछ भन्ने कुरा एउटा पक्ष हो भने सञ्चारका लागि सहज र मिठो के सुनिन्छ अर्को पाटो हो।’ वाग्लेको भनाइअनुसार नेपालीभन्दा फरक मातृभाषीले बोलीचालीमा हजुर शब्द कम प्रयोग गर्छन्। आफ्नै घरमा पनि हजुर भन्न र स्योस् जोडिएका आदरार्थी शब्द प्रयोग गर्न सिकाइएको हुन्न। ‘त्यस्तो मन पनि पर्दैन। हँ भनेर बोले पनि अन्यथा हुन्न। अपमानजनक र अशिष्ट हुन्छ भन्ने मलाई लाग्दैन।’ वाग्ले भन्छन्।

भाषा सञ्चारका लागि हो। विचार विनिमय गर्दाको व्यवहारले भाषालाई साथ दिएको हुन्छ। कुन सन्दर्भमा कुन शब्दको प्रयोग भयो भन्ने कुराले पनि अर्थमा भिन्नता ल्याउँछ। हँ भन्ने कि हजुर भन्ने सवालमा पनि पूर्ण वाक्य सुनिसकेपछिको अर्थले भूमिका खेल्छ। हँ वा हजुर के भनियो भन्दा पनि हाउभाउ र अनुहारको भाव प्रमुख हुन्छ। त्यसैले सोच, विचार र व्यवहार नै असल हुनुपर्छ। हजुर भन्दैमा शिष्ट र हँ भन्दैमा अनादर हुन्छ भनेर स्वीकार्न नमिल्ने तर्कसँग पराजुली र वाग्ले सहमत छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.