‘अहिले पनि त ह्यान्डसमै छु’

‘अहिले पनि त ह्यान्डसमै छु’

बलिउडबाट अभिनय सुरु गरेका सुनील थापा नेपाली फिल्मका चर्चित अभिनेता हुन्। पछिल्लो समय हिन्दी फिल्म ‘मेरी कोम’को सफलतासँगै उनको व्यस्तता ह्वात्तै बढेको छ। आइतबार थापा अध्यक्ष रहेको एभरेस्ट फिल्म एकेडेमी पुग्दा उनी एकपछि अर्को भेटघाटमा व्यस्त थिए। सुनील थापासँग गोपाल दाहालले गरेको खुलस्त संवादः

निकै व्यस्त हुनुहुन्छ नि ?
लगातारको फिल्म सुटिङ, मिटिङ त्यसमाथि पारिवारिक काम थियो। हिजो मात्र हेटौँडाबाट फर्किएको हुँ। त्यसैले अलि व्यस्त छु।

परिवारलाई कत्तिको समय दिनुहुन्छ ?
समय मिलेसम्म त परिवारलाई दिन्छु, फिल्ममा व्यस्त हुँदा अलि कमै दिन्छु। अस्ति छोराको बिहेमा गएको तर अन्तिम समयमा मात्र पुगेँ। श्रीमतीले मेरो नाम प्रमुख अतिथिमा राखेकी रहेछिन्।

छोरो जन्मिँदा त घरमा हुनुहुन्थेन रे, हो ?
त्यो बेला ‘चिनो’ फिल्मको सुटिङ हुँदै थियो। श्रीमती रजनी बम्बईमा थिइन्। सुटिङ बीचैमा छाडेर हिँड्न सकिनँ।

तपाईंको मागी विवाह कि प्र्रेम विवाह ?
रजनीलाई साथीको पसलमा देखेको थिएँ। दुवैले मन परायौँ, त्यसपछि परिवारसँग कुरा गरेर विवाह गरेका हौँ।

लगातार फिल्म गरिरहनुभएको छ। कुन–कुन फिल्म छन् लाइनमा ?
मेरो टाइटल रोल भएको ‘शेरबहादुर’ माघ १९ मा रिलिज हुँदैछ। आफैँ निर्माता पनि भएको ‘साढे ७’ फागुन ११ मा र भर्खर सुटिङ सकिएको प्रवेश पौडेल निर्देशित डार्क कमेडी फिल्म ‘अमेरिका बोइज’ माघ ४ मा रिलिज हुँदैछन्। अरू फिल्मको पनि सुटिङ र मिटिङ चलिरहेकै छ।

‘शेरबहादुर’ को खुब चर्चा छ, यसमा तपाईंको क्यारेक्टर के हो ?
यसमा भूपू आर्मी ‘शेरबहादुर’ क्यारेक्टर हो मेरो। एयर इन्डियाका पाइलट राजु राजवंशीले निर्देशन गरेको यो सस्पेन्स थ्रिलर फिल्ममा सेट नै २५ लाखको बनाइएको थियो। सेटकै लागि यत्रो खर्च गरिएको नेपाली फिल्ममा यो पहिलो हो। यसबाट मैले पनि धेरै आशा गरेको छु।

तपाईंलाई दर्शकले क्यारेक्टरले पनि चिन्छन्। कस्तो लाग्छ ?
पहिला चिनोबाट ‘राते काइँला’ भनेर चिने। पछि टेलिसिरियल ‘मेरी बास्सै’मा ‘शेरसिंह’ भनेर चिने। यसरी क्यारेक्टरबाट चिन्दा सम्मान गरे जस्तो लाग्छ। ज्यादै खुशी हुन्छु। अब ‘शेरबहादुर’ आएपछि राते काइँला होइन, शेरबहादुर भनेर चिन्नेछन्।

फिल्मको भिलेनका रूपमा दर्शकको प्रतिक्रिया कस्तो पाउनुभएको छ?
फिल्ममा भिलेनका रूपमा हेर्नेहरू कति त प्रत्यक्ष भेट्दा डराएका पनि छन्। मेरै श्रीमतीले विवाह हुनुअघि ‘एक दुजे के लिए’ हेरेकी रहेछिन्। सात कक्षामा पढ्दा पत्रिकामा मेरो फोटो देखेर गुण्डा, बदमास भन्दै चम्चा र काँटाले घोचेर च्यातेकी रहेछिन्। कति जना डराएर भाग्छन्, कति जना संगत गरेपछि असल रहेछ भन्छन्।

आफैँ निर्माता रहेको ‘साढे सात’ चाहिँ कस्तो फिल्म हो ?
म मात्र होइन, नरेशदेव पन्त, सत्यराज–स्वरूपराज आचार्य, सान्तेन भुटिया र डीजे सन्तोष सुवेदीको लगानी रहेको ‘साढे सात’ मा मेरो रोल चाहिँ सानो छ। यसमा सत्यराज हिरो र मेनुका प्रधान हिरोइन हुन्। यो फिल्मलाई राम्रो बनाउन हामीले ब्याकग्राउन्ड म्युजिक बलिउडबाट मगाएका छौँ। कलर करेक्सन पनि लन्डनमा फिल्ममा काम गरिरहेको नेपालीले गरेका छन्। यसले धर्म, ग्रहदशामा विश्वास गर्नेहरूलाई साढे सात कति बेला कसलाई लाग्छ भन्ने थाहा हुँदैन भन्ने सकारात्मक रूपमा प्रस्तुत गरिएको छ।

अभिनयमा व्यस्त भएको मान्छे किन फिल्म एकेडेमीतिर लाग्नुभयो ?
धेरै ठाउँमा सुटिडमा जाँदा ‘हामीलाई पनि चान्स दिनुस् न’ भन्छन्, तर कसरी दिने ? भनेर सोच्दा इन्टे«स्ट भएकालाई सिकाउन पाए उनीहरू आफैँले गर्न सक्छन् भन्ने लाग्यो। हाम्रो समयमा यस्तो अवसर थिएन। नयाँ पुस्तालाई अवसरका लागि सवा सालदेखि एभरेस्ट फिल्म एकेडेमी सञ्चालन गरिरहेका छौँ।

यहाँ सिक्नेले कस्तो अवसर पाइरहेका छन् त ?
यहाँ एक्टिङ, डाइरेक्सन, एडिटिङ र फोटोग्राफी पढ्ने पहिलो ब्याचका २० जना पासआउट हुन्छन्। उनीहरूले क्षमताअनुसार अवसर पनि पाउँछन्। कतिले सर्ट फिल्म बनाएर फेस्टिभलहरूमा पठाइरहेका छन्। कतिलाई पढ्दापढ्दै अफर आइरहेको छ। अहिले तेस्रो ब्याच चलिरहेको छ। बलिउडको बालाजी फिल्म्ससँग टाइअप गरेर काम गर्ने योजना अघि बढाएका छौँ। अहिले हरिहर शर्मालगायत अभिनेताहरूले क्लास दिनुहुन्छ।

‘मेरी कोम’ पछि बलिउडमै व्यस्त हुनुहुन्छ भन्ने चर्चा थियो तर नेपालतिरै फर्किनुभयो। उताबाट अफर आएन ?
‘मेरी कोम’पछि अहिले पनि बलिउडमा काम गरिरहेको छु। मेरो वेब सिरिज ‘चाइनिज भसाड’ रिलिज भयो। हिन्दी फिल्म ‘जीएसटी’ रिलिज भयो। चिनेका साथीहरूले फिल्म बनाएका हुन्छन्, आग्रह गर्दा खेलिन्छ। नेपाली, बलिउड दुवैतिर गरिरहेकै छु। मेरो त नेपालबाटै अस्करमा जाने सपना छ। बलिउडबाट धेरै अफर आइरहेका हुन्छन् तर मैले ‘मेरी कोम’पछि त्योभन्दा राम्रो रोल गर्नुपर्छ। मेरो मेन भिलेनको रोल भएको ‘खामियाजा’ रिलिज हुन बाँकी छ।

नेपालबाट हलिउड जाने सपना कहिले पूरा होला त ?
यहाँ पनि टेक्निकल्ली राम्रो भइरहेको छ। हलिउडकै लागि पनि फिल्मको कुरा भएको छ। तर जबसम्म साइन हुँदैन, त्यसलाई आधिकारिक मान्न मिल्दैन। नेपालीहरूले पनि बाहिरबाट फिल्म बनाइरहेका छन्। त्यताबाट पनि अफर आइरहेका छन्। 

थापा भनिए पनि वास्तवमा तपाईं गुरुङ हो भनिन्छ। सत्य के हो ?
बुवा इन्डियन आर्मीमा भर्ना हुने बेलामा गल्लाले ‘नाम क्या हे’ भन्यो। बुवाले ‘गणेश’ भन्नुभयो। गल्लावालले ‘गणेश थापा’ भनेर लेखिदियो। बुवाले ‘साब थापा नही, गुरुङ’ भन्नुभएछ तर ‘थापा भी नेपाली है’ भनेर थापा नै लेखिदिएछ। त्यसपछि हामी थापा भयौँ।

घरको रीतिरिवाज त गुरुङ संस्कृतिअनुसार नै हुन्छ होला नि ?
गुरुङअनुसार भन्दा पनि हामी हिन्दू कल्चर मान्छौँ। आमा एकदम मान्नुहुन्छ।

तपाईं खेलाडी र फोटोग्राफर हुनुहुन्थ्यो। फिल्ममा कसरी आइपुग्नुभयो ?
पहिला बम्बईमा फुटबल खेल्थेँ। कोलकताको जेएस (जुनियर स्टेट्समेन) पत्रिकाका लागि फोटो खिच्थेँ। त्यसपछि मोडलिङ गरेँ। यही क्रममा देव साब (देव आनन्द) ले १९७४ मा ‘साहेब बहादुर’मा ब्रेक दिनुभयो। त्यसपछि निरन्तर फिल्ममा लागेँ।

तपाईंलाई विकिपेडियादेखि विभिन्न मिडियाले ‘एक दुजे के लिए’ फिल्मबाट करियर सुरु गरेको उल्लेख गरेका छन् नि ?
‘एक दुजे के लिए’बाट धेरैले चिने पनि मेरो फिल्मी यात्रा ‘साहेब बहादुर’बाट सुरु भएको हो। देव साबका दाइ चेतन आनन्दको निर्देशनमा ‘साहेब बहादुर’ बन्दै थियो। उहाँले अनुहार राम्रो छ, ह्यान्डसम छ, इन्ट्रेस्टेड छ भनेर अवसर दिनुभएको हो। यो सन् १९७४ को कुरा हो।

देव आनन्दसँग चाहिँ कसरी भेट भयो ?
फोटोग्राफीका क्रममा देव साबसँग चिनजान भयो। फोटो खिच्ने क्रममा मिडियाकै माध्यमबाट भेट भएको हो। उहाँले मेरो हुलिया, फिटनेस देखेर अफर गर्नुभयो। म ह्यान्डसमै थिएँ नि।

अहिले चाहिँ ह्यान्डसम छु जस्तो लाग्दैन ?
मान्छे त अहिले पनि ह्यान्डसमै छु। त्यसैले त म आज पनि सुटिङमा मेकअप युज गर्दिनँ।

आफूले गरेकामध्ये एकदमै राम्रो लागेका फिल्म कुन कुन हुन्?
आफूले गरेका सबै ‘वाउ’ लाग्छ, तर जुन हिट हुन्छ, त्यसलाई ‘वाउ’ भन्नुपर्छ।

आफूलाई ठीकै लागेको तर हिट भएको र कुनै आफूलाई राम्रो लागेको तर ठीकै चलेका पनि होलान् नि ?
छन् नि त्यो त। त्यो ब्याडलक हो। भाग्य पनि बलियो हुनुपर्छ फिल्ममा। चल्यो भने सबैले ‘वाउ’ भन्छन्, चलेन भने एकै चोटि गाली गर्छन्। कहिलेकाहीँ चाहि नचलेको फिल्ममा पनि सुनिलले चाहिँ राम्रै गरेको छ भन्छन्। कहिले–कहिले दुःख पनि लाग्छ। मेहनत गरेको यो चाहिँ पक्कै पनि हिट हुन्छ भन्ने सोच्छु तर अहँ हुँदैन।

त्यस्ता कुन कुन फिल्म हुन् त ?
नभनौँ। धेरै छन्।

अबको योजना के छ ?
‘साढे सात’को टिमले फेरि भदौदेखि अर्को फिल्म गर्दैछौँ। त्यसको प्रि–प्रडक्सनमा बसेका छौँ। 

तपाईं चाहिँ निर्देशन नगर्ने ?
मैले अहिले आँटेको छैन। टाइम नभएर पनि हो।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.