विकासमा केन्द्रित हुने प्रण

विकासमा केन्द्रित हुने प्रण

विराटनगर : प्रदेश १ का प्रदेशसभा सदस्यले भव्य समारोहबीच आइतबार शपथ लिएका छन् । आइतबार बिहान प्रदेशसभाका ९३ सदस्य, तिनका परिवार तथा आफन्त, सुरक्षा निकायका अधिकारी, सरकारी कर्मचारी, सञ्चारकर्मी र समाजका विभिन्न क्षेत्रका प्रतिनिधिको सहभागितामा शथपग्रहण समारोह सम्पन्न भएको हो ।

सुरुमा प्रदेश प्रमुख प्रा. डा. गोविन्दबहादुर तुम्बासँग प्रदेशसभाका ज्येष्ठ सदस्य ओमप्रकाश सरागवीले शपथ लिएका थिए । त्यसपछि सरागवीले अन्य सदस्यलाई शपथ गराएका थिए । शपथग्रहण समारोहमा प्रदेश मुख्यसचिव राजेश्वरमान सिंह, मुख्य न्यायाधीश शेरबहादुर कार्की, विराटनगर महानगरपालिकाका मेयर भीम घिमिरे, उपमेयर इन्दिरा कार्की, प्रदेश प्रहरी प्रमुख एआईजी पशुपति उपाध्यायको पनि उपस्थिति थियो ।

महानगरपालिकाले शपथग्रहण समारोहको व्यवस्थापन वीरेन्द्र सभागृहमा गरेको थियो । शपथ समारोह बिहान ९ः३० बजे तोकिए पनि व्यवस्थापन तथा सजवाटको काम पूरा नहुँदा मध्याह्न १२ बजे मात्र सुरु भएको थियो । विराटनगरका मेयर पराजुली र उपमेयर कार्कीले प्रदेश प्रमुख तुम्बालाई मायाको चिनो प्रदान गरेपछि शपथ समारोह सम्पन्न भएको थियो । सभागृह दक्षिणको फाउन्टेन पार्कमा सामूहिक फोटो सेसन चलेको थियो ।

प्रदेश प्रमुख तुम्बाले यो अवसर ऐतिहासिक भएको उल्लेख गर्दै मुलुक अब संघीय गणतन्त्र कार्यान्वयन उन्मुख भएको बताए । ‘अब प्रदेशसभा, प्रदेश सरकार गठन, सभामुख र उपसभामुख चयन प्रक्रियाले गति लिनेछ’, उनले भने, ‘यसका लागि हामीले तयारी सुरु गरिसकेका छौं ।’ उनले प्रदेश कार्यालय व्यवस्थापनलाई पहिलो प्राथमिकता दिइएको पनि बताए ।

‘अब प्रदेशसभा, प्रदेश सरकार गठन, सभामुख र उपसभामुख चयन प्रक्रियाले गति लिनेछ । प्रा. डा. गोविन्दबहादुर तुम्बा, प्रदेश प्रमुख

प्रफुल्लित मुद्रामा भेटिएका प्रदेशसभा सदस्यले आफ्नै ठाउँमा शपथग्रहण समारोहमा सहभागी हुन पाउनु ‘सुखद अवसर’ भएको बताए । ‘अब संघीयताको व्यावहारिक कार्यान्वयन सुरु भएको छ । प्रदेशसभा, प्रदेश सरकार गठन तथा बैठकजस्ता धेरै काम अझै बाँकी छन्’, धनकुटाबाट निर्वाचित कुसुम श्रेष्ठले भनिन्, ‘यो ऐतिहासिक अवसरले अब आफ्नो प्रदेशको विकासमा हामी केन्द्रित हुन बल पुग्नेछ ।’

सुनसरीबाट निर्वाचित सरस्वती पोखरेलले वास्तविक रूपमा जिम्मेवारी आफूहरूको काँधमा आएको महसुस भएको बताइन् । राजधानीको विषयलाई लिएर अहिले विभिन्न क्षेत्रबाट आन्दोलन भए पनि केन्द्र भागमा पर्ने गरी प्रदेशसभाले टुंगो लगाउन सक्ने उनको भनाइ थियो ।

विराटनगरका सांसद केदार कार्कीले अब आफ्नो ठाउँको विकासमा प्रत्यक्ष सहभागी हुन र संघीयताको अनुभव लिँदै राजनीतिक तथा आर्थिक रूपमा अघि बढ्ने अवसर आएको बताए । भने, ‘अब आफ्नो ठाउँको हरेक विषयमा आफ्नै नीतिनियम बनाउने र त्यसलाई कार्यान्वयन गर्ने चरणमा हामी प्रवेश गरेका छौं।’

प्रदेश १ मा समानुपातिकसमेत गरी एमालेका ५१, कांग्रेसका २१, माओवादीका १६, संघीय समाजवादी फोरमका दुई, राप्रपाका एक र स्वतन्त्र एक गरी ९३ सांसद छन् ।

२०२१ को वडाध्यक्षदेखि प्रदेशको शपथसम्म

विराटनगरमा आइतबार प्रदेशसभा सदस्यको शपथ समारोहमा प्रदेश प्रमुख, प्रदेश मुख्यसचिवसँगै ज्येष्ठ नागरिक ओमप्रकाश सरागवीले पनि मञ्चमा आसनग्रहण गरेका थिए । ज्येष्ठ सदस्यका रूपमा उनको नाम शपथ समारोहका सञ्चालक क्षेत्रीय निर्वाचन प्रमुख प्रेमप्रसाद सञ्जेलले लिँदा धेरैले नयाँ पुस्ताका धेरैले मुखामुख गरे । तर, सरागवी पञ्चायकालदेखि नै स्थानीय तह हुँदै हाल प्रदेश सदस्यमा निरन्तर निर्वाचित हुने ‘भाग्यशाली’ नाम हो ।

‘हामी इतिहासमा नाम लेखाउन सफल भएका छौं’, सरागवीले भने, ‘पहिलो प्रदेशको पहिलो शपथ गराउन पाउनु अहोभाग्य पनि हो ।’ उनले आफू राजनीतिमा लागेपछि पछि फर्केर हेर्नुनपरेको सुनाए । झापाको रैथाने मारवाडी समुदायका सरागवी २०२१ सालको निर्वाचनमा २००८ मै नगरपालिका घोषित भद्रपुरको वडाध्यक्ष निर्वाचित भएका थिए । २०२९ सालमा नगर पञ्चायतको निर्वाचनमा प्रधानपञ्चमा उनी निर्विरोध भएका थिए । २०३८ र २०४२ मा पनि प्रधानपञ्चमा निर्वाचित बने । २०४६ सालदेखि कांग्रेसमा सक्रिय उनी अहिले समानुपातिकबाट प्रदेशसभा सदस्य बनेका हुन् । पञ्चायत, प्रजातन्त्र र अहिले संघीय गणतन्त्रसम्मको राजनीतिक यात्रा गर्न पाउँदा आफूलाई भाग्यमानी मान्ने गरेको उनले बताए ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.