हत्या अभियुक्त पुर्पक्षका लागि थुनामा
दमौली : व्यास नगरपालिका –२ बुल्दी किनारमा गत पुष १० गते भएको ओम सुनार हत्याको घटनामा संलग्न दुई अभियुक्तलाई पुर्पक्षका लागि थुनामा राख्न तनहुँ जिल्ला अदालतले आदेश दिएको छ । घटनामा संदिग्धको आरोपमा पक्राउ परेका अरु तीनजना भने धरौटीमा रिहा भएका छन् ।
मुख्य जिल्ला न्यायाधिश अर्जुनप्रसाद कोइरालाको इजलासले घटनामा सुनारलाई ढुंगा प्रहार गरी हत्या गरेको आरोप लागेका व्यास –१० का महेन्द्र गुरुङ र रुक्सिङ गुरुङलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।
घटनामा संलग्नताको आरोपमा पक्राउ परेका सोही ठाउँका देवान गुरुङ तथा अभियुक्तका बहिनीहरु निर्मला र विमला गुरुङ भने १० हजार धरौटीमा छुटेका छन् । आफ्ना बहिनीहरुलाई जिस्क्याएको निहुँमा अभियुक्तले सुनारको हत्या गरेको प्रारम्भिक निष्कर्षपछि प्रहरीले संदिग्धलाई पक्रेको थियो । गोरखाका सुनार व्यास –४ मा भाडामा बस्दै आएका थिए ।
उनी निर्माण कार्यमा संलग्न रहेको प्रहरीको भनाइ छ ।