एक महिनामा तीन चेलीको उद्धार
चितवन : एक महिनाको अवधीमा भारतबाट तीन चेलीको उद्धार गरिएको छ । बेचबिखन र हिंसा प्रभावितलाई उद्धार पुनःस्थापना तथा सीप सिकाएर आत्मनिर्भर बनाउने काममा सक्रिय रहेको केआइ नेपालको पहलमा भारतबाट एक महिनामै तीन चेलीको उद्धार भएको हो ।
उद्धार गरिएका तीनैजनालाई चितवनको भरतपुरस्थित केआइ नेपालको पुनःस्थापना गृहमा राखिएको छ । पछिल्लोपटक मंगलबार एक चेलीको उद्धार गरी चितवनमा ल्याइएको हो । चालू आर्थिक वर्षमा पाँच चेलीको उद्धार गरिएको केआइ नेपाल चितवनका संयोजक केमिका घिमिरेले जानकारी दिइन् ।
एकजनाको आफ्नै श्रीमानले नै भारत पु¥याएको अवस्थामा उद्धार गरिएको छ भने अर्की एक जनाको दलालमार्फत बेचिन लागेका बेलामा उद्धार भएको घिमिरेले बताइन् ।
अर्की एक किशोरीलाई भारत हुँदै दुबई लगेको र दुबईमा मेडिकल परीक्षणमा दाग देखिएपछि फिर्ता गरेर भारतको होटलमा राखेको अवस्थामासम्पर्कमा आउन सफल भएपछि उनको उद्धार गरिएको बताइएको छ ।
अहिले उद्धार गरिएका तीनै जनालाई भरतपुरमा मनोविमर्श सेवासँगै सीप सिकाउन थालिएको छ । अर्की एक जनालाई आफन्तमार्फत भारत पुगेका बेला उद्धार गरिएको छ । मंगलबार मात्रै चितवन आइपुगेकी उनको विषयमा आवश्यक अनुसन्धान भइरहेको केआइ नेपालले जनाएको छ ।
उनीहरुलाई भारतमा रहेको दूतावास र भारतको महिला आयोगको सहयोगमा केआइ नेपालका प्रतिनिधिमार्फत उद्धार गरेर नेपाल ल्याइएको हो ।
विभिन्न समयमा उद्धार गरिएका २१ जना भरतपुरको पुनःस्थापना गृहमा राखिएको र १९ जनाले सीप सिकिरहेको लेखा सहायक पूर्णिमा श्रेष्ठले बताइन् । दुईजना भने अध्ययनरत छन् । गएको एक वर्षमा केआइ नेपालले हिंसा र बेचबिखन प्रभावित ४७ जनालाई उद्धार गरी परिवारमा पुनर्मिलन समेत गराएको छ । जसमध्ये ३५ जनाले सीप सिकेर व्यवसाय गर्न थालेका छन् । रासस