क्यान्सरविरुद्ध जागरण

क्यान्सरविरुद्ध जागरण

अव्यवस्थित जीवनशैली र तनाव आदिका कारण विभिन्नखाले स्वास्थ्य समस्या यतिबेला आम बन्दै गएको छ। त्यसमा पनि विभिन्न किसिमका नसर्ने रोगका कारण मानिसले अनाहकमा ज्यान गुमाउने प्रवृत्ति बढ्दै गएको छ। त्यसमध्ये एउटा घातक रोग हो, क्यान्सर। विश्वमै वर्षेनी ३० हजार क्यान्सर रोगी थपिँदै गएका छन् र यो प्राणघातक रोग ठूलो चुनौती बनेको छ। आइतबार विश्व क्यान्सर दिवसका दिन पारेर यस रोगविरुद्धको जागरणमा विभिन्न कार्यक्रम आयोजना भए। अन्नपूर्ण मिडिया नेटवर्कले पनि नेपाल क्यान्सर केयर फाउन्डेसनसँगको सहकार्यमा क्यान्सरविरुद्धको जनचेतना अभियान सञ्चालन गर्‍यो। शुक्रबार विज्ञहरूसँग अन्तरसंवाद र शनिबार साइकल र्‍यालीमार्फत आम जनतालाई क्यान्सरविरुद्ध सचेत बनाउने उद्देश्यअनुरूप ती कार्यक्रम सफलतापूर्वक भए, तर यसखाले कार्यक्रमलाई दिवसमै सीमित गरिनु हुन्न। यसखाले चेतनामूलक कार्यक्रम र सूचनामार्फत जनतालाई सधैं सुसूचित गराइनुपर्छ। जसप्रति हामी प्रतिवद्ध छौं।

नसर्ने रोगहरूमध्ये क्यान्सर विश्वभर र नेपालमा पनि दोस्रो ठूलो र भयावह रोगको रूपमा देखापरेको छ। सुरुकै अवस्थामा पत्ता लगाउन र उचित उपचार गर्न सके धेरै हदसम्म क्यान्सर निको हुने सम्भावना हुन्छ। जनचेतना कमजोर भएकाले क्यान्सर जटिल अवस्थामा पुगेपछि र यसका शारीरिक असर देखिइसकेपछि मात्र मानिस उपचारको खोजीमा लाग्ने गरिएको पाइन्छ। नेपालमा क्यान्सर लागेकाका बारेमा जनसंख्यामा आधारित तथ्यांक नभए पनि अस्पतालमा उपचार गराउन आएका बिरामीको संख्यालाई आधार मान्दा एकलाख जनसंख्यामा एक सयदेखि १२० जनालाई क्यान्सर भएको अनुमान गरिएको छ। कुनै पनि समयमा करिब ९० हजार मानिसलाई क्यान्सर भएको अवस्था हुन सक्ने अनुमान गरिएको छ। नेपालमा वर्षेनी ३० देखि ३५ हजार क्यान्सरका नयाँ रोगी थपिने गरेका तथ्यांक छन्। चिन्ता मान्नुपर्ने विषय के छ भने पहिला उमेर घर्किएकालाई बढी लाग्ने यो रोग अहिले कम उमेरका युवामा पनि लाग्न थालेको छ।

क्यान्सर विभिन्न कारणले लाग्छ। धूमपान, सूर्र्तीसेवन र मद्यपान क्यान्सरका सबैभन्दा ठूला कारक मानिएका छन्। त्यसैगरी, असन्तुलित खाना, जंक फुड, शरीरलाई चाहिने भन्दा बढी क्यालोरीको उपभोग, शारीरिक निस्क्रियता र मोटोपनाको पनि कम भूमिका छैन। हेपाटाइटिस जस्ता विभिन्न शारीरिक संक्रमण, प्रदूषण र तनाव पनि क्यान्सरका कारण मानिएका छन्। नेपालीको बदलिँदो जीवनशैलीसँगै यी कारक तत्वको उपस्थिति र प्रभाव बढ्दो भएकाले क्यान्सरपीडितको संख्या थपिँदै गइरहेको छ। जीवनशैली सुधार्न सकियो भने क्यान्सर लाग्ने सम्भावना न्यून हुन्छ। निरन्तर शारीरिक व्यायाम गरेर, शरीरलाई सक्रिय र स्वस्थ राख्न सक्ने हो भने पनि क्यान्सर लाग्ने सम्भावना निकै कम हुन्छ।

क्यान्सर रोगको स्तरीय उपचार गर्ने सुविधा नेपालका सबै क्षेत्रमा छैन। राजधानीकै अस्पतालमा पनि जनशक्ति र प्रविधिको अभाव छ। त्यसै पनि स्वास्थ्य शिक्षा र उपचारमा भइरहेको अनियन्त्रित निजीकरणका कारण हुँदाखानेले मात्र होइन हुनेखानेले पनि राम्रो स्वास्थ्योपचार पाउन गाह्रो हुँदै गइरहेको छ। क्यान्सर उपचारको क्रममा औषधि र उपचारपद्धतिका कारण बिरामीमा विभिन्न किसिमका साइडइफेक्ट देखिने हुनाले बृहत उपचारपद्धति अवलम्बन गरिनुपर्छ। स्वास्थ्य बिमा र गम्भीर रोग लागेकालाई मासिक भत्ता दिने सरकारी नीति सकारात्मक छ। तर यसले स्तरीय स्वास्थ्योपचारको सुनिश्चितता गर्दैन। क्यान्सरमात्र नभई अन्य रोगका सन्दर्भमा पनि राज्यको तर्फबाट स्तरीय स्वास्थ्योपचारको ग्यारेन्टी हुनुपर्छ। साथै क्यान्सरको बारेमा सर्वसाधारण जनताले पनि बुझ्ने तरिकाले व्यापकरूपमा जनचेतना फैलाउनु जरुरी छ। यसमा सरकार मात्र होइन राज्यका सामाजिक जीवनका अन्य जिम्मेवार पक्ष र सर्वसाधारण पनि ‘हामी सक्छौं, म सक्छु’ भन्ने सोचका साथ सक्रिय रूपमा लाग्नुपर्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.