राजन राईले किन गरे शेरधनको नाममा हस्ताक्षर ?
बिराटनगरः नेकपा एमाले प्रदेश नम्बर १ को संसदीय दलको नेता चयनका क्रममा हारजितको जति चर्चा भयो, त्यति नै चर्चा बदर भएको एक मतले पनि पाएको छ ।
पहिलो मुख्यमन्त्रीका लागि भएको संसदीय दलको निर्वाचनमा भोजपुर ख बाट विजयी शेरधन राईले २६ मत ल्याउँदै विजयी हुँदा सुनसरीबाट विजयी भीम आचार्य २४ मतसहित पराजि भए ।
जम्मा ५१ भोट रहेको अवस्थामा शेरधन बहुमतसहित विजयी भए भने आचार्य २ भोटले पछि परे । तर, यहीँनेर एक मत बदर हुन पुग्यो । मत बदर भएपछि प्रदेश १ मा निरक्षर सांसदको खोजी सुरु भयो ।
तर मत बदरको यथार्थ अर्कै थियो । यदि बदर भएको मत भीम आचार्यको पक्षमा गएको भए उनको २५ मत हुन्थ्यो भने शेरधनको २६ हुन्थ्यो । तर खोटाङ प्रदेश क बाट विजयी बनेका राजनले संसदीय दलका लागि तोकिएका नाम भन्दा मुनिको बक्समा टिक लाउन छोडेर शेरधनको नाममा हस्ताक्षर गरिदिए ।
चर्चित एमाले युवा नेतासमेत रहेका राईले टिकमार्क लाउने ठाउँमा हस्ताक्षर गरिदिएपछि मत स्वतः बदर भयो । उनले हस्ताक्षर गरेर मतपत्र बाकसमा खसालेका थिए । गणनाका क्रममा बदर भएको मतपत्रमा उनको हस्ताक्षर भएको देखिएपछि यो तथ्य खुलेको हो ।
यसअघि एमाले सचिव भीम आचार्यले प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा गुटका आधारमा टिकट वितरण गरेको भन्दै उनको गृहजिल्लामै चर्को असन्तुष्टि देखिएको थियो । उनीविरुद्ध एमाले कार्यकर्ताले नै सडकमा नाराबाजी गरेका थिए ।
यस्तोमा उनीनिकट तथा माधव नेपाल गुटबाटै ओलीनिकट शेरधनलाई भोट क्रस भएको बताइएको छ । शेरधनले माधव नेपाल समूहको कम्तिमा पनि ५ भोट तान्न सफल भएको अनुमान गरिएको छ । यसो हुनुमा आचार्यप्रति सुनसरी तथा प्रदेश १ मा देखिएको असन्तुष्टिले काम गरेको एमाले नेताहरु बताउँछन् ।