भारतबाट अपहरण गरेर नेपालमा बन्धक, पाँचजना पक्राउ

भारतबाट अपहरण गरेर नेपालमा बन्धक, पाँचजना पक्राउ

विराटनगर : अपहरण गरेर नेपाल ल्याइएका तीन भारतीय नागरिकलाई सकुशल उद्धार गर्न नेपाल प्रहरी सफल भएको छ । मोरङको सुन्दहरैंचा नगरपालिका–९ का नारायण साहको घरमा बन्धक बनाएर राखिएको अवस्थामा उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय बेलबारीको संयुक्त टोलीले तीन दिनपछि उद्धार गरेको हो ।

भारतीय नागरिकलाई अपहरण गरेर नेपालतर्फ ल्याइएको छ भन्ने सूचना प्राप्त भएपछि बेलबारीका प्रहरी नीरिक्षक रामजी कट्वाल उद्धारमा आफै खटेका थिए । उनीहरुलाई शनिबार राति ११३० बजे उद्धार गरिए पनि प्रहरीले घटनाका बारेमा सोमबार मात्र जानकारी दिएको छ ।

मोरङ प्रहरी प्रमुख एसपी अरुणकुमार बिसीका अनुसार अपहरणमा परेका मध्ये भारतको खगडिया जिल्ला बेन्दोर पञ्चायतका अजयकुमार साह, अखिलेश साह र दिनबन्धु तिवारीलाई सकुशल रुपमा अपहरण मुक्त गरिएको हो ।

प्रहरीका अनुसार अपहरणमा परेका मध्ये तिवारी स्थानीय पण्डित पनि हुन् । भारतको फारवेशगन्जबाट उनीहरु सहित छ जना यही माघ २४ गते अपहरणमा परेका थिए । बिसीका अनुसार अजयकुमार, अखिलेश र दिनबन्धु सहित राजकिशोर साह, बालेश्वर रजक र रञ्जित कुमारलाई एकै पटक अपहरण गरेपछि जोगवनीबाट गाडी रिजर्व गरेर नेपालतर्फ ल्याइएको प्रहरीले जानकारी दिएको छ ।

जोगवनीबाट उनीहरुलाई राति ९ बजे सुन्दरहरैंचा–१० स्थित मोनालीसा होटेलमा पुर्याइएपछि १०१ र १०२ नम्बरको कोठा बुक गरेर राखिएको थियो । अपहरणमा परेका मध्ये राजकिशोर माघ २५ गते साँझ होटेलबाट भाग्न सफल भएका थिए । होटेलबाट उम्किएर भारत पुगेका उनी साथीहरु लिएर जिल्ला प्रहरी कार्यालय मोरङमा आएपछि प्रहरीले घटनाका बारेमा थाहा पाएको हो ।

अपहरण गरिएका मध्ये बालेश्वर र रञ्जित फिरौती बापत एक लाख भारतीय रुपैयाँ अपहरणकारीलाई बुझाएर छुटिसकेको प्रहरीको भनाइ छ । एसपी बिसीका अनुसार बेलबारी नगरपालिका–६ का ढोडियालाल चौधरी थारुलाई को १४ प ५२४४ नम्बरको मोटरसाइकलमा साथमै लिएर जोगवनी पुगेका सुन्दरहरैंचा १२ का नवराज गौतमले फिरौती बापतको एक लाख भारतीय रुपैयाँ बुझेपछि अपहरणकारीले बालेश्वर र रञ्जितलाई माघ २६ गते शुक्रबार छाडिदिएका हुन् ।

प्रहरीले घटनाका बारेमा जानकारी पाइसकेको बुझेपछि अपहरणकारीले उनीहरुलाई स्थानान्तरण गर्दै सुन्दरहरैंचा ९ का नारायण साहको घरमा लगेर बन्धक बनाएर राखेको थियो । प्रहरीबाट जोगिन अपहरणमा परेकालाई तीन ठाउँ सारिसकेपछि उद्धार गर्न प्रहरी सफल भएको हो । घटनाको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने, ‘बन्धक बनाएर राखेको ठाउँ सम्म पुग्न प्रहरी केही ढिलो भएको भए उनीहरुलाई अन्यत्र लगिसक्ने रहेछन् ।’

अपहरणमा भारतीय र नेपाली गरेर दुईवटा अलगअलग गिरोह संलग्न रहेको जानकारी बिसीले दिए । ‘सुरुमा भारतीय भूमिबाट उठाएर नेपालतर्फ ल्याउन भारतीय गिरोहको संलग्नता रहेको पाइयो,’ उनले भने, ‘त्यसपछि नेपालतर्फ बन्धक बनाएर राख्ने जिम्मा नेपाली गिरोहले लियो ।’

एसपी बिसीका अनुसार भारत फारवेशगन्जका बोलेश्वर साह, सुरेशकुमार, भारत पूर्णियाका सन्तोश कुमार र सुसन यादव समेत चार जनाले अपहरण गरेर नेपाल ल्याउने काम गरेका हुन् । होटेलमा बसिरहेका नेपाली गिरोहका पाँच जनालाई जिम्मा लगाएपछि भने भारतीय अपहरणकारी उतै फर्किएर गएको र अपहरणमा परेकाको परिवारका सदस्यसँग रकमको ‘बोर्गेनिङ’ गर्न थालेको प्रहरीले जनाएको छ ।

बिसीका अनुसार नेपालतर्फ बन्धक बनाएर राख्ने जिम्मा सुनसरी इनरुवा नगरपालिका –३ का ५७ वर्षीय नारायण साह, २५ वर्षीय मधुकर साह, सुन्दरहरैंचा –१ का ३८ वर्षीय टिकाराम चौधरी, सुन्दरहरैंचा–१० का ३७ वर्षीय कान्छा भनिने ठाकुर गुरुङ र सुन्दरहरैंचा –१२ का २४ वर्षीय नवराज गौतमले लिएका थिए ।

उनीहरु पाँचै जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । पक्राउ परेका विरुद्ध अपहरण तथा शरीर बन्धक मुद्धा दर्ता गर्नका लागि म्याद थप गरेर अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

उनीहरुका साथबाट ५० हजार भारतीय रुपैयाँ, पाँचवटा मोवाइल र को १४ प ५२४४ नम्बरको मोटरसाइकल प्रहरीले बरामद गरेको छ । प्रहरीका अनुसार नगद गुरुङको साथबाट बरामद भएको हो । अपहरण गर्ने मुख्य भारतीय गिरोह भने भारततर्फ गइसकेका कारण पक्राउ गर्न नसकिएको प्रहरीले बताएको छ ।

यस विषयमा भारतीय प्रहरीलाई जानकारी गराइसकिएका कारण उनीहरु केही समयमै पक्राउ पर्ने विश्वास नेपाल प्रहरीले लिएको छ । भारतीय अपहरणकारीले भारतबाट अपहरण गरिसकेको जानकारी पाएपछि बन्धक बनाउने समूह सुरक्षित स्थानको खोजी गर्दै सुन्दरहरैंचा पुगेको बिसीले बताए ।

उनका अनुसार एउटा भारतीय समूह अपहरण गरेर परिवारका सदस्यसँग रकमको ‘बार्गेनिङ’ गर्ने र अर्को समूह अपहरण गरिएकालाई नेपाली भूमिमा सुरक्षित स्थानको खोजी गर्दै बन्धक बनाएर राख्ने भूमिकामा देखिएका छन् ।

अपहरणकारीले घटनापछि अपहरणमा परेका र उनीहरुका परिवारका सदस्यसँग छ लाख भारतीय रुपैयाँ फिरौती मागेको बिसीले बताए । भने, ‘बालेश्वर र रञ्जितले एक लाख रुपैयाँ बुझाएपछि अपहरणकारी पाँच लाख रुपैयाँमा झरेका रहेछन् ।’

अपहरणमा परेका मध्ये अखिलेशले पाँच लाख रुपैयाँको चेक काटेर दिँदा अपहरणकारीले लिन इन्कार गरेको बताए । उनले भने, ‘हामीलाई बन्धक बनाएर राखेपछि धेरै शारीरिक तथा मानसिक यातना दिए । निर्ममतापूर्वक कुटपिट गरिरहे ।’ कुटपिटबाट उनको दायाँ आँखामा चोट लागेको छ ।

‘बालेश्वर साहले नेपालमा रहेको आफ्नो घरमा पूजा छ र नेपाल पनि घुमौं भनेर विश्वासमा पारेपछि हामी नेपाल आउन तयार भयौं,’ साहले भने, ‘होटेलमा ल्याएर बन्धक बनाएपछि धम्क्याउँदै र कुट्दै फिरौती रकम माग्न थालेपछि अपहरणमा परेको थाहा भयो ।’

तिवारी बेन्दोर पञ्चायतमा पण्डितको काम गर्ने पुरोहित भएका कारण बालेश्वरले आफ्नो घरमा पूजा गरिदिन गरेको आग्रहलाई स्वीकार गरेपछि तिवारी सहित छ जनालाई अपहरणमा पर्न सफल भएको प्रहरीको निश्कर्ष छ । नेपाल प्रहरीका अनुसार बालेश्वरको ससुराली सुनसरीको झुम्का हो । उनी लामो समयदेखि मानिस अपहरण गर्ने र फिरौती रकम लिने धन्दामा संलग्न गिरोहको नाइके रहेको प्रहरीको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.