थ्रीस्टार सेमिफाइनलमा

थ्रीस्टार सेमिफाइनलमा

सिमरा : थ्रीस्टार क्लब रुस्लान नवौं सिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। सिमरा रंगशालामा सोमबार भएको खेलमा थ्रीस्टारले सुदूरपश्चिम-११ लाई टाइब्रेकरमा ४-२ गोलले हरायो। सुदूरपश्चिममाथि यो सिजनमा थ्रीस्टारको दोस्रो जित हो। यसअघि धरानमा सम्पन्न २०औं बूढासुब्बा गोल्डकप थ्रीस्टारले सुदूरपश्चिमलाई ४-० गोलले पराजित गरेको थियो। टाइब्रेकरमा सुदूरपश्चिममाथि जित निकाल्ने क्रममा थ्रीस्टारका कप्तान नीराजन खड्का, रजिन धिमाल, बुद्ध चेम्जोङ र सुनिल बलले गोल गरे।

नरेन्द्र चौधरी र राकेश हमालबाहेक अन्य दुई खेलाडी पेनाल्टीमा चुक्दा सुदूरपश्चिम हार खेप्दै घर फर्कन बाध्य भयो। सुदूरपश्चिमका जीवन चौधरीको प्रहार थ्रीस्टारका गोलरक्षक एलन न्यौपानेले बचाउ गरे। चेतन थारूको प्रहार क्रस बारमा ठोक्किन पुग्यो। यसअघि निर्धारित समयमा दुवै टिमले १-१ को बराबरी खेलेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो। रोमाञ्चक खेलको सुरुआतमा थ्रीस्टार सुदूरपश्चिममाथि हावी देखियो। थ्रीस्टारले ४३औं मिनेटमा खाता खोलेको थियो। कप्तान नीराजनको पासमा विश्वास श्रेष्ठले उत्कृष्ट गोल गर्दै टोलीलाई अग्रता दिलाए।

पहिलो हाफमा तालमेल गुमाएको सुदूरपश्चिमले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्‍यो। खेलमा १-० ले पछि परेको अवस्थामा दोस्रो हाफ सुरु गरेको सुदूरपश्चिमले थ्रीस्टारलाई दबाबमा राखेको थियो। लगातार एकपछि अर्को अवसर बनाए पनि सुदूरपश्चिमको फिनिसिङ पक्ष कमजोर देखियो। खेलको ५२औं मिनेटमा मनिराम चौधरीले बराबरी गोल गर्ने अवसर खेल फाले।

थ्रीस्टारमाथि एकपछि अर्को अवसर बनाएको सुदूरपश्चिमले ८७औं मिनेटमा बराबरी गोल फर्काएको थियो। सुदूरपश्चिमका लागि मनिराम चौधरीले कप्तान चेतन थारूको पासमा गोल गरेपछि खेलले रोमाञ्चक मोड लिएको थियो। अन्तिम समयमा थ्रीस्टारलाई बराबरीमा रोकेको सुदूरपश्चिम टाइब्रेकरमा पुगेर स्तब्ध बन्यो। खेलको म्यान अफ दी म्याच थ्रीस्टारका गोलरक्षक एलन न्यौपाने घोषित भए। प्रतियोगिताअन्तर्गत मंगलबार साविक विजेता संकटा र वीरगन्ज युनाइटेड क्लबबीच खेल हुनेछ।

यसैगरी थ्रीस्टार क्लबका स्ट्राइकर अजाई मार्टिनलाई दुई खेलको प्रतिबन्ध लगाइएको छ। निर्धारित ९० मिनेटको खेल सकिएर टाइब्रेकरको तयारी हँुदै गर्दा टोलीका खेलाडी विश्वास श्रेष्ठलाई मुक्का प्रहार गरेपछि प्रतियोगिता अनुशासन समितिले मार्टिनलाई दुई खेलमा प्रतिबन्ध लगाइएको समितिका संयोजक शम्भुसिंह ठकुरीले जानकारी दिए। कारबाहीपछि सेमिफाइनल प्रवेश गरेको थ्रीस्टारका मार्टिनले फाइनलसम्मको खेल गुमाउने भएका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.