स्लिम हुने चाहनाले निम्त्याउँछ जटिल राेग
भाइबहिनीहरू, दुब्लो शरीर हुँदाहुँदै पनि तौल घटाउने निहुँमा थोरै खाना खाने त गरिरहेका छैनौ ? त्यसो गरिरहेका छौ भने तिमीहरूलाई खाना खान मन नलाग्ने (एनोरेक्सिया नर्भोसा)को समस्याले सताउन सक्छ है ।
इटहरीकी १४ वर्षीया एक बालिका यस्तै समस्याले पीडित छिन्।टेलिभिजन हेर्दा मोडलहरू दुब्लो देखेपछि उनलाई पनि दुब्लो व्यक्तिलाई राम्रो मानिँदो रहेछ भन्ने भ्रम भयो।बुवाआमालाई थाहै नदिई उनले खानपान कम गर्न थालिन्।उनको तौल २३ केजीमा झरेपछि अभिभावक आत्तिए।विभिन्न अस्पताल हुँदै कान्ति बाल अस्पतालमा ल्याएर उपचार गराउँदा उनलाई खाना खान मन नलाग्ने एनोरेक्सिया नर्भोसा रोग लागेको पत्ता लाग्यो ।
आफ्नो शरीर र त्यसको बनावटप्रति सन्तुष्ट नभई दुब्लो (स्लिम) हुने चाहना राखी खानपिनसमेत छोड्दा जटिल किसिमको रोग लाग्न सक्छ।खानै छोडेर दुब्लाउन मन लाग्ने यस किसिमको समस्यालाई चिकित्सकहरू एनोरेक्सिया नर्भोसा भन्छन्।कान्ति बाल अस्पतालका वरिष्ठ बाल मनोचिकित्सक डा. अरुणराज कुँवरका अनुसार दुब्लाउन मन लाग्ने एक खालको मानसिक रोग नै एनोरेक्सिया नर्भोसा हो।
यो सोचाइसम्बन्धी रोग हो।यस्तो खालको समस्या भएको बालबालिकाले आफू कम तौलको भए पनि मोटो छु भन्ने सोच राखेको हुन्छ।तर, दुब्लो देखिन मन पराउने र यसका लागि खानपानसमेत छोडिदिने हुन्छ।जति दुब्लो देखियो त्यति सुन्दर देखिन्छ भन्ने होडमा धेरैले खाना खानै छोड्ने गर्छन्।सहरी क्षेत्रमा हुर्केका किशोरकिशोरीमा यो प्रवृत्ति बढी देखिएको छ।
डा. कुँवर भन्छन्, ‘कतिपय किशोरकिशोरी अभिभावकको डरले खाना खाने गर्छन् तर पछि कसैले नदेख्ने गरी खाइसकेको भोजन फ्याँक्न बान्ता गर्ने गरेको पनि पाइएको छ ।’ आधुनिकता र सहरीकरणले निम्त्याएको समस्याका रूपमा यस रोगलाई लिइन्छ ।
तौल बढ्ने पो हो कि ? वा मोटाउने पो हुँ कि भन्ने डर बोकेर जीवन बिताइरहेका हुन्छन्।यो एक किसिमको इमोसनल समस्या हो।शरीरको उचाइ र उमेर अनुसारको भोजन नगर्दा देखा पर्ने समस्या नै एनोरेक्सिया नर्भोसा हो।
यसको सुरुको लक्षण नै आवश्यकताभन्दा कम (थोरै) तौल हुनु हो।तौल कम हुँदै जाँदा भोक पनि विस्तारै लाग्न छोड्छ।दुब्लाउने सोचले गर्दा कतिपयले खाना खानै कम गर्छन्।यस्तो बेला रिँगटा लाग्ने समस्या पनि देखिनसक्ने डा. कुवँर बताउँछन्।कब्जियतको समस्या पनि देखा पर्न सक्छ।छाला सुक्खा र पहेँलो हुन सक्छ ।
त्यस्तै कतिपय किशोरकिशोरी पहिलो दिन खाना खाने तर दुब्लाउने इच्छा पूरा गर्न दुईचार दिन नखाने पनि हुन्छन्।यसरी तौल घटाउन चाहना राख्ने समस्यालाई बुलिमिया भनिन्छ।बाल मनोचिकित्सक डा. जास्मिन मा टेलिभिजनमा देखाइने दृश्यमा किशोरी छिट्टै आकर्षित हुने गरेको बताइन्।उनी भन्छिन्, ‘टेलिभिजनमा विशेषगरी विदेशी च्यानलमा दुब्ला मोडल र कलाकारहरू देख्नेबित्तिकै आफू पनि त्यस्तै हुन खोज्ने प्रवृत्ति छ ।’
एनोरेक्सिया र बुलेमियाको समस्याले दीर्घकालमा जटिल स्वास्थ्य समस्या निम्त्याउने भएकाले अभिभावक बेलैमा सचेत हुनुपर्ने खाँचो रहेको बालरोग विशेषज्ञहरूको सुझाव छ।शरीरको तौल कति छ ? यसबारेमा जानकारी लिई अभिभावकले हेरविचार गर्नुपर्ने वरिष्ठ बाल मनोचिकित्सक डा. कुँवर बताउँछन्।खाना खान मन नगर्ने र दुब्लाउन खोज्ने छोराछोरीलाई बेलैमा परामर्श गराएर वा सम्बन्धित बाल मनोचिकित्सकलाई भेटेर उपचार गराउँदा निको हुन्छ।बाबुआमाले आफ्ना छोराछोरी धेरै दुब्लाए वा चाहिने तौलभन्दा कम भए समयमै चनाखो हुनुपर्ने चिकित्सकको सुझाव छ।