पहिलो मुसीकोट नगर कप भलिबल: चौरजहारी र पुथा उत्तरगंगालार्इ उपाधि (फोटोफिचर)
रुकुम पश्चिमः हजारौँ दर्शको उत्साहजनक र उल्लेख्य उपस्थितिबीच रुकुम पश्चिमको सदरमुकाम मुसीकोटस्थित बराहटाकुरा खेल मैदानमा पहिलो नगर कप आइतबार सम्पन्न भएको छ । मुसीकोट नगरपालिकाको आयोजनामा अन्तर स्थानीय तहस्तरीय भलिबल प्रतियोगिताको विजेता बन्दै पुरुषतर्फको भलिबल प्रतियोगितामा चौरजहारी नगरपालिकाले उपाधि राखेको छ । महिलातर्फको भलिबल प्रतियोगितामा छिमेकी जिल्ला रुकुम पुर्वको पुथा उत्तरगंगा गाउँपालिकाले उपाधि उचाल्यो ।
फागुन १ गते उद्घाटन गरिएको नगर कपको भलिबल खेलमा पुरुषतर्फ जम्मा नौ टिमले भाग लिएका थिए भने महिला तर्फको भलिबल प्रतियोगितामा सात टिमले भाग लिएका थिए । पुरुषतर्फको भलिबल प्रतियोगितामा चौरजहारी नगरपालिकाको टिम प्रथम हुँदा रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाको टिम दोस्रो तथा त्रिवेणी गाउँपालिकाको टिमले तेस्रो स्थान हासिल गरेका थिए ।
त्यस्तै महिलातर्फको भलिबल प्रतियोगितामा रुकुम पुर्वको पुथा उत्तरगंगा गाउँपालिका प्रथम, सिस्ने गाउँपालिकाको टिम दोस्रो र रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाको टिमले तेस्रो स्थान हासिल गरेका थिए । जिल्लामा पहिलोपल्ट आयोजना गरिएको यस नगर कप अन्तरगत भलिबल प्रतियोगितामा महिला तथा पुरुष तर्फको प्रथम हुने टिमलाई ५१ हजार, दोस्रो हुने टिमलाई ३१ हजार र तेस्रो हुने टिमलाई २१ हजार नगद प्रदान गरिएको थियो ।
नगद पुरुस्कारका साथै विजयी टिम तथा खेलाडीलाई जिल्ला समन्वय समिति रुकुम पश्चिमका प्रमुख राजकुमार शर्माले मेडल र प्रमाण–पत्र प्रदान गरेका थिए । पहिलो नगर कपमा भलिबल प्रतियोगिताका साथै अन्तर माध्यामिक विद्यालयस्तरीय हाजिरी जवाफ प्रतियोगिता, खुला लोकदाहोरी प्रतियोगिता र खुला भाले तान्ने प्रतियोगिताको पनि आयोजना गरिएको थियो । नगर कपलाई अगामी वजर्षहरुमा पनि नियमितता दिने र थप व्यवस्थित गर्दै समेत लैजाने मुसीकोट नगरपालिकाले बताएको छ ।