मन्त्रिपरिषदद्वारा राष्ट्रियसभामा तीनजनाको नाम सिफारिस
काठमाडौं : सरकारले राष्ट्रियसभा सदस्यमा तीनजनाको नाम सिफारिस गरेको छ। मन्त्रिपरिषद्को मंगलबार बिहान बसेको बैठकले राष्ट्रियसभामा तीन सदस्य मनोनयनका लागि शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेको निर्णय फिर्ता लिई नयाँ नाम राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।
'तीनजनाको नाम सिफारिस गरिएको छ', जनसंख्या तथा वातावारण मन्त्री लालबाबु पण्डितले भने। मन्त्रिपरिषदले अर्थशास्त्री डा. युवराज खतिवडा, कानुनविद् रामनारायण बिडारी र अर्थविद् डा. विमला पौडेल राईलाई राष्ट्रियसभा सदस्यमा मनोनयन गरेको हो। मंगलबार बिहान बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रियसभामा मन्त्रिपरिषद्ले सिफारिस गर्ने तीनजनाको नाम टुंगो लगाएको हो।
राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. खतिवडा नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर हुन्। विडारी माओवादी केन्द्रका तर्फबाट पूर्व सभासद् हुन्। डा. पौडेल योजना आयोगकी पूर्व सदस्य हुन्।
५९ सदस्यीय राष्ट्रियसभामा मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपतिबाट तीन जना मनोनयन गर्ने संवैधानिक व्यवस्था छ। संविधानको धारा ८६ उपधारा २ (ख) मा 'नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत कम्तीमा एक जना महिला सहित तीन जना' राष्ट्रियसभामा रहने व्यवस्था छ।
राष्ट्रियसभामा प्रत्येक प्रदेशबाट आठ जनाका दरले ५६ जना सदस्य यसअघि नै निर्वाचित भइसकेका छन्।
यसअघि शेरबहादुर देउवा नेतृत्वको सरकारले राष्ट्रियसभामा तीनजनाको नाम सिफारिस गरे पनि राष्ट्रपति विद्यादेवी भण्डारीले मनोनित गरेकी थिइनन्।