भारतीय नागरिकलाई माओवादीले सांसद बनाएको भन्दै शपथ नगराउन कांग्रेस नेताको माग
काठमाडौं : नेपाली कांग्रेसका युवा नेता रामहरि खतिवडाले सिरहा क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद सुरेशचन्द्र दासलाई संघीय सांसदमा शपथ नगराउन माग गरेका छन् । उनले संसद सचिवालयका महासचिवलाई पत्र लेख्दै सांसद दास भारतीय नागरिक भएको उल्लेख गर्दै शपथ नगराउन माग गरेका हुन् ।
युवा नेता खतिवडाले संसद सचिवालयलाई लेखेको पत्रमा संविधानको धारा ८६ को उपधारा (१ं) मा प्रतिनिधि सभा वा राष्ट्रिय सभाको सांसद हुन नेपाली नागरिक हुनु पर्ने संवैधानिक व्यवस्थाको जानकारी गराउँदै विदेशी नागरिकलाई शपथ नगराउन माग गरेका छन् ।
उनले लेखेको पत्रमा सिराहा क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद दास भारतको बिहार प्रदेशको दरभंगाको ११५ मैथिली साहित्य परिषद, मिश्राटोल साउथ पार्टका बासिन्दा रहेको उल्लेख गरिएको छ । सांसद दासको भारतको दरभंगाको घर नम्बर ३७, सि नम्बर १७५ तथा मतदाता परिचय पत्र नम्बर आइएजी ३७३१८३ उल्लेख छ ।
कांग्रेसबाट राजनीति सुरु गरेका दास सिरहा –२ बाट माओवादी केन्द्रको तर्फबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन । कांग्रेसले टिकट नदिएपछि दास माओवादी प्रवेश गरे थिए ।
२०४८ सालमा कांग्रेसबाट सिरहा निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका हुन् । २०५१ सालमा पनि सोही क्षेत्रबाट निर्वाचित कांग्रेसकातर्फबाट प्रतिनिधिसभामा निर्वाचित भएका दास २०५२ मा स्वास्थ्य राज्यमन्त्री बनेका थिए ।