डीपीएल अक्सन : महँगोमा बिके वसन्त, करण, आरिफ र सागर

डीपीएल अक्सन : महँगोमा बिके वसन्त, करण, आरिफ र सागर

काठमाडौं : आगामी चैत १७ गतेदेखि धनगढीमा आयोजना हुने दोस्रो धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटका लागि बुधबार राजधानीमा भएको अक्सन (बोल/कबोल) मा चारजना खेलाडी सर्वाधिक महँगोमा बिकेका छन्। आयोजक धनगढी क्रिकेट एकेडेमीले गरेको अक्सनमा राष्ट्रिय टोलीका स्पिनर वसन्त रेग्मी, करण केसी, अलराउन्डर सागर पुन र आरिफ शेखलाई अधिकतम एक लाख ५० हजार रुपैयाँको बोली लागेको हो।

वसन्तलाई विराटनगर किङ्सले किन्यो भने करण र आरिफलाई महेन्द्रनगर युनाइटेड तथा सागरलाई रूपन्देहीले भित्रायो। देशका ६ सहरका ६ वटै फ्रेन्चाइज टोलीले अक्सनमा राखिएका ए, बी, सी, र डी श्रेणीमा रहेका कुल एक सय ८५ जना खेलाडीबाट टोलीमा १२/१२ जना भित्र्याएका हुन्। प्रत्येक टोलीले ‘ए’ श्रेणीबाट दुईदेखि तीनजना, ‘बी’ बाट तीनदेखि पाँचजना, ‘सी’ बाट तीनजना र ‘डी’ (स्थानीय खेलाडी) बाट एकजना अनिवार्य लिनुपर्ने सर्त थियो। टोलीका १५ खेलाडीमा अक्सनबाट १२, रणनीतिक खेलाडी एक, दुई विदेशी र एकजना ट्यालेन्ट हन्टमार्फत राख्नुपर्ने प्रावधान छ।

अघिल्लो संस्करणमा महँगो बोली लागेका मेहबुब आलमलाई यसपटक भने कुनै पनि टोलीले लिएनन्। प्रत्येक टोलीको रणनीतिक (मार्की) खेलाडी यसअघि नै घोषणा गरिसकिएको छ। राष्ट्रिय टोलीका कप्तान पारस खड्का विराटनगरका मार्की खेलाडी हुन्। यसैगरी काठमाडौं गोल्डेन्सका ज्ञानेन्द्र मल्ल, महेन्द्रनगरको विनोद भण्डारी, चौराहाका सोमपाल कामी, अत्तरियाका दीपेन्द्रसिंह ऐरी र रूपन्देहीका शक्ति गौचन मार्की खेलाडी हुन्। मार्की खेलाडीको रकम दुई लाख रुपैयाँ रहेको छ। प्रत्येक टोलीले अब विदेशी खेलाडी अनुबन्ध गर्न बाँकी छ।

अक्सनको आकर्षणको रूपमा रहेको ‘ए’ श्रेणीका १६ मध्ये १२ जना खेलाडी बिक्री भए। चारजना खेलाडीलाई कुनै पनि टोलीले किनेनन्। वैशाख १ गतेसम्म हुने डीपीएल क्रिकेटमा आयोजकले अक्सनमा एउटा टोलीलाई खेलाडी किन्न अघिकतम ११ लाख रुपैयाँसम्म खर्च गर्न पाउने नियम राखेको थियो। जसअनुसार विराटनगरले सर्वाधिक नौ लाख ९५ हजार रुपैयाँ अक्सनमा खर्च गरेको छ। त्यसपछि महेन्द्रनगरले नौ लाख १५ हजार, रूपन्देहीले आठ लाख ७० हजार, काठमाडौं गोल्डेन्सले आठ लाख ३५ हजार, धनगढीले सात लाख ५५ हजार तथा अत्तरियाले सात लाख २० हजार रुपैयाँ खर्चिए।

पृथु बाँस्कोटालाई विराटनगर र नरेश बुढाऐरलाई काठमाडौं गोल्डेन्सले जनही एक लाख २० हजार रुपैयाँमा अनुबन्ध गरे। यसैगरी २० जना खेलाडी एक लाख रुपैयाँमा बिक्री भए। अक्सनसँगै लिगको आधा काम सम्पन्न भएको जानकारी डीपीएलका संयोजक सुवास शाहीले दिए। प्रतियोगिताको विजेताले २५ लाख र उपविजेताले १० लाख रुपैयाँ पुरस्कार पाउनेछन्। तेस्रो हुने टोलीलाई तीन लाख र चौथो हुनेलाई दुई लाख रुपैयाँ प्रदान गरिनेछ। प्रत्येक खेलको म्यान अफ दी म्याचलाई १० हजार र म्यान अफ दी सिरिजलाई अपाचे मोटरसाइकल पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.