राष्ट्रपति निर्वाचन फागुन २९ मा
काठमाडौं: निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचन फागुन २९ गतेका लागि तोकेको छ । बिहीबार बसेको आयोगको बैठकले राष्ट्रपतिको निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको हो ।
आयोगले प्रधानमन्त्री केपी शर्मा ओलीसंगको परामर्शमा निर्वाचन मिति तय गरिएको जनाएको छ । कार्यतालिका अनुसार फागुन २१ गते मतदाता नामावली प्रकाशित हुनेछ भने सोही दिन छुटेको नाम समावेश गर्न र विवरण सच्याउने समय छुट्याइएको छ ।
२२ गते अन्तिम मतदाता नामावली सार्वजनिक गरिने आयोगद्वारा जारी कार्यतालिकामा उल्लेख छ । यस्तै २३ गते विहान १० बजेदेखि साँझ ६ बजेसम्म उम्मेदवारी मनोनयन दर्ता हुनेछ भने २४ गते उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित हुनेछ ।
फागुन २९ गते विहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने र सोही दिन अपरान्ह ४ बजेबाट मतगणना सुरु हुने आयोगले जनाएको छ । कुनै उम्मेदवारले निर्वाचक मण्डलको कुल सदस्यको बहुमत प्राप्त नगरे फेरि मतदान गराउने प्रावधान छ । निर्वाचनमा प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका सदस्यहरुले मतदान गर्नेछन् ।