'हामी खुसीले ग्राउन्डमै रोयौं'

'हामी खुसीले ग्राउन्डमै रोयौं'

नामिबियामा गत हप्ता सम्पन्न आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन दुई प्रतियोगितामा उपविजेता बन्दै नेपाली टोली एकदिवसीय विश्वकपको छनोट खेल्न जिम्बावे जाने तयारीमा छ । डिभिजन दुईमा नेपालले लिग चरणको अन्तिम खेल क्यानडासँग खेल्नुपर्ने थियो । उक्त खेल जिते नेपालले विश्वकप छनोटमा प्रवेश पाउँथ्यो भने हारले डिभिजन दुईमै रहनुपर्ने चुनौतीपूर्ण अवस्था थियो ।

महत्वपूर्ण उक्त खेलमा एक सय ९५ रनको लक्ष्य पछ्याएको नेपालले एक सय ४४ रनमै नौ विकेट गुमाउन पुग्यो । तर, करन केसी र सन्दीप लामिछानेले अन्तिम विकेटका लागि ४७ बलमा ५१ रनको साझेदारी गर्दै नेपाललाई एक विकेटको सानदार जित दिलाए । आफ्नो मुख्य भूमिका बलिङ भए पनि करनले ३२ बलमा ४२ रनको उत्कृष्ट पारी खेले । उनै करनलाई गृह जिल्ला बागलुङ, पोखरा र म्याग्दीमा विभिन्न संघसंस्थाले भव्य सम्मान गरेका छन् । म्याग्दी सदरमुकाम बेनीमा आयोजित एक कार्यक्रमपछि डिभिजन दुईकै सेरोफेरोमा अन्नपूर्णकर्मी गोपाल छन्त्यालले करनसँग गरेको संक्षिप्त कुराकानीको सम्पादित अंश :

क्यानडासँगको खेलमा आठौं विकेट पतनपछि पनि खेल जिताउँछु जस्तो लागेको थियो ?

म क्रिजमा जाँदा हाम्रो आठ विकेट गुमिसकेको थियो । क्रिजमा आरिफ राम्रोसँग खेलिरहेका थिए । मैले सोचेको थिएँ, मैले जस्ट उसलाई साथमात्र दिने हो । उसैले खेल जिताउँछ । तर, दुर्भाग्यपूर्ण तरिकाले आरिफ पनि आउट हुन पुगे । त्यसपछि सन्दीप लामिछाने क्रिजमा आए । सन्दीप र मैले सल्लाह गर्‍यौं, विकेट नगुमाउने र बान्ड्री लगाउने । सन्दीपलाई मैले भनेँ, तिमी आफ्नो विकेट नगुमाऊ, म बाउन्ड्री हान्छु । त्यसपछि बाउन्ड्री पनि लाग्दै गयो र मेरो कन्फिडेन्स लेभल पनि बढ्दै गयो ।

आरिफ आउटपछि कत्तिको दबाब महसुस भयो ?

आरिफ क्रिजमा जमिसकेका थिए । तर, उनी आउट भएपछि मैले निकै दबाब महसुस गरेँ । गेम जिताउँछु भन्ने लागे पनि सुरुमा अलि नर्भस नै भएँ । त्यसपछि सुरुमै दुईवटा बान्ड्री लगाएपछि मैले सोचेँ, अब गेम जसरी पनि जिताउँछु । त्यतिबेला सन्दीप पनि निकै प्रेसरमा देखिन्थे । खेल्दै गयौं, सन्दीपले पनि राम्रो साथ दिए । त्यसको परिणाम हो, मैले आफ्नो खेल देखाउन पाएँ र नेपाललाई जित पनि दिलायौं ।

अन्तिम ओभरमा जितका लागि आठ रन चाहिएको थियो । तर, सुरुकै चार बल डट भएपछि बान्ड्री हान्छु जस्तो लागेको थियो?

सन्दीप र मेरोबीचमा राम्रो पार्टनरसिप भइरहेको थियो । मेरो मनोबल लेभल पनि उच्च भइसकेको थियो । त्यसैले चार बल डट भए पनि नर्भस भएको थिइन् । मेरो जोनमा बल आउनेबित्तिकै बाउन्ड्री हान्छु भनेर सन्दीपलाई पनि भनेको थिएँ ।

क्यानडाका बलरले उक्त ओभरको सुरुका चार बल निकै राम्रो लाइनमा फालेका थिए । पाँचौं बल मेरै जोनमा आयो र मैले छक्का हाने, त्यसपछि भने गेम जित्यौं जस्तो लागिसकेको थियो ।

 खेल जितेपछि कोच, कप्तान र सहकर्मीबाट कस्तो प्रतिक्रिया पाउनुभयो ?

क्यानडासँग त्यो महत्वपूर्ण गेम जितेपछि कोच, कप्तान र अन्य साथीहरू आएर म र सन्दीपलाई उचाल्नुभयो । हामी सबै ग्राउन्डमै रोयौं, किनकि त्यो जितले हामी एकदिवसीय विश्वकप छनोट खेल्न पाउने अवस्थामा पुगेका थियौं । हारेको भए हामीले धेरै कुरा गुमाउने थियौं ।

नेपाली क्रिकेटको सपना भनेकै विश्वकप हो । त्यहाँसम्म पुग्न डिभिजन दुईमा हामी जसरी पनि शीर्ष दुईमा अटाउनुपर्ने थियो । त्यो जितले हामीलाई सम्पूर्ण खुसी दिएको थियो । हामी सबैको आँखाबाट खुसीको आँसु आएको थियो । त्यो खुसीको आँसुको एउटा पक्ष आफूलाई बनाउँदा पाउँदा निकै आनन्दको अनुभव भयो । त्यो क्षण म जीवनभर भूल्न सक्दिनँ ।

आफ्नो क्रिकेट करिअरलाई कसरी लिनुभएको छ ?

नेपालमा क्रिकेटको क्रेज निकै बढेको छ । क्रिकेट खेल अझै माथि जाने सम्भावना छ । त्यसका लागि सबैको साथ अपरिहार्य छ । म आफ्नो करिअरबाट निकै सन्तुष्ट छु । देशका लागि क्रिकेटबाट धेरै योगदान दिने योजना छ । क्यानडासँगको त्यो खेल मेरो करिअरकै उत्कृष्ट प्रर्दशन हो जस्तो लाग्छ । आगामी दिनमा पनि नेपाली क्रिकेटमा यस्तै योगदान गर्न आतुर छु ।

नेपालको विश्वपक छनोट सम्भावना कत्तिको देख्नुहुन्छ ?

हामीले डिभिजन दुईमा उत्कृष्ट खेल पस्कियौं । यसलाई निरन्तरता दिनसके हामीले धेरै टिमलाई टक्कर दिन सक्छौं । यो लेभलको टुर्नामेन्टमा कुनै पनि टिम हार्नका लागि आएका हुँदैनन् । अरू टिमले पनि उच्च लेभलको क्रिकेट खेलिरहेका छन् । जिम्बावे र अफगानिस्तानले भर्खर एकदिवसीय सिरिज खेलका छन् । त्यसैले हामीले पनि छोटो अवधिमा राम्रो तयार गर्नुपर्ने हुन्छ ।

खेलमा हारजित स्वाभाविक हो । तथापि हामी यो लेभलमा जितकै लागि खेल्नेछौं, आफ्नो सम्पूर्ण क्षमता लगाएर । टिमका सम्पूर्ण सदस्यको एकअर्काप्रति बलियो विश्वास पनि छ, यो सबैभन्दा सकारात्मक पक्ष हो । त्यसैले जिम्बावेमा पनि हामीले राम्रो क्रिकेट खेल्नेछौं र विश्वकपमा छनोट हुनेछौं ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.