रोकिने भए एमालेका अधिवेशन र सम्मेलन
काठमाडौँः नेकपा एमाले स्थायी समिति बैठकले नेकपा माओवादी केन्द्रसँगको एकता प्रक्रिया अघि बढेको अवस्थामा पार्टी तथा जनवर्गीय संगठनका सम्मेलन तथा अधिवेशनहरु तत्कालका लागि रोक्ने निर्णय गरेको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार बसेको स्थायी समिति बैठकले पार्टी, भातृ तथा जनवर्गीय संगठनका अधिवेशन र सम्मेलनहरु तत्कालका लागि रोक्ने निर्णय गरेको एमालेका सचिव तथा पार्टी प्रवक्ता योगेश भट्टराईले जानकारी दिए ।
‘ पार्टी, भातृ तथा जनवर्गीय संगठनका तोकिएका र हुनेवाला अधिवेशन र सम्मेलन तत्कालका लागि रोक्ने निर्णय भएको छ’, भट्टराईले भने, ‘पार्टी एकतापछि मर्ज गर्नुपर्ने भएकाले ती सबै सम्मेलन र अधिवेशनहरु स्थगित गरेर अघि बढ्ने निर्णय भएको छ ।’
सचिव भट्टराईले पार्टीका प्रशिक्षण, भेला र आन्तरिक गतिविधि भने सुचारु राखिने पनि जानकारी दिए ।
एकता अनुमोदन
एमालेको बैठकले माओवादी केन्द्रसँग फागुन ७ गते भएको सात बुँदे सहमतिलाई सकारात्मकरुपमा लिँदै अनुमोदन पनि गरेको छ ।
साथै, बैठकले माओवादीसँगको एकता प्रक्रियालाई अघि बढाउन दुई पार्टीबीचका कार्यदललाई पनि निरन्तर सक्रिय गराएर निकट भविष्यमै टुंगोमा पुर्याउने पनि निर्णय गरेको छ ।