‘मदन भण्डारी र दरबार हत्याकाण्ड जस्तै अर्को रक्तपात'
काठमाडौँः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा फेरि रक्तपात गराउने कोशिश भइरहेको बताएका छन् ।
रामराज रेग्मीद्वारा लिखित ‘नेपालको इतिहास( एक मार्क्सवादी दुष्टिकोण’ पुस्तक विमोचन कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै प्रचण्डले नेपालमा वाम गठबन्धनले बहुमत ल्याएसँगै ठुला हत्याकाण्डको षड्यन्त्र भइरहेको बताएका हुन् ।
‘जनताको तागतले पराजित भए पनि देशका प्रतिक्रियावादीहरुले अन्तिम लडाइँ लड्न कोशिश गरिरहेका छन् । राणाकालको उदय या राजनीतिक परिवर्तनका क्रममा यस्ता घटना भएका छन्’, दाहालले भने, ‘वाम गठबन्धनले नेपालमा ६० प्रतिशत भन्दा धेरै मत ल्याएपछि प्रतिक्रियावादीबाट अन्तिम लडाइँका लागि दरबार हत्याकाण्ड र मदन भण्डारीको हत्या जस्तै हत्यासम्म हुन सक्छन् ।’
वाम गठबन्धन र पार्टी एकताको कुराले देशमा ठुलो तरङ्ग पैदा गरेको बताउँदै दाहालले यो देशका लागि सबैभन्दा भन्दा सकारात्मक र ठुलो कुरा भएको पनि जिकिर गरे । ‘यस्तो बेलामा अनौठा समीकरण देखिन सक्छन् । संघर्षमा जनताको श्रमजीवीको जीत हुने अवस्था, समृद्धि र विकासतर्फ देश गयो भने अर्को कित्तालाई असह्य हुन सक्छ’, दाहालले थप खुलाए, ‘नेपालको इतिहास हेर्दा त्यस्ता बिन्दु आउँछन् र आएका छन् । माक्र्सवादी आन्दोलनका विचलन कहाँ छन् भनेर अर्को पक्षले लडाइँ लड्न खोज्छ । यो विषयमा गम्भीर र सकारमात्मक तथा रचानात्मकरुपमा सोच्न आग्रह गर्दछु ।’
वाम गठबन्धनले ६० प्रतिशत मत ल्याएपछि यसलाई रोक्ने र भत्काउने विकल्प राजा महाराजाहरुले खोजिरहेको पनि उनको जिकिर थियो । ‘राजा महाराजा तथा अलौकिक देवत्व प्राप्त गरेका व्यक्तिहरु यो गठबन्धन भत्काउन लागेका छन्’, दाहालले भने, ‘यसतर्फ हामी चनाखो हुनु जरुरी भइसकेको छ ।’